इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको ‘मकुना’ हात्तीले फेरि अर्का एक स्थानीयको ज्यान लिएको छ । सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल कामतको मुकुनाको आक्रमणबाट मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्यु भएको भएपनि शव भने मंगलबार विहान कोशीकटान क्षेत्रमा फेला परेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए ।
गत मंसिर २९ गते मात्रै स्थानीय २८ वर्षीय प्रमोद यादवको सोही हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यादवको मृत्यु भएसँगै चितवनको सौराहाबाट प्राविधिक ल्याएर उपचार गरिएको थियो । ‘मकुनाले आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा चारवर्षको अवधिमा २० जनाको ज्यान लिइसकेको छ,’ अन्सारीले भने, ‘यो सबै आरक्षको लापरबाहीले गर्दा भएको हो, अस्ति आएका विज्ञ टिमले के गरेर गयो हामीलाई थाहा छैन ।’ उनका अनुसार पटक–पटक आरक्षको लापरबाहीका कारण चारवर्षमा २० जना स्थानीयले ज्यान गुमाउनुपरेको छ । मुकुना हिंस्रक बन्दै गएको र स्थानीयबासिन्दा आजित भएसँगै राष्ट्रिय प्राकृतिक संरक्षण कोषबाट वन्यजन्तु चिकित्सक र वन्यजन्तु प्राविधिक आएर व्यवहार अध्ययन गर्दै उपचार गरिरहेको भएपनि के उपचार गरेको भन्ने सन्र्दभमा आँफूहरुलाई जानकारी नभएको अन्सारीले बताए ।
पटक–पटक सोही हात्तीले स्थानीयको ज्यान लिएसँगै मंगलबार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले पुनः प्राविधिक झिकाएर आवश्यक व्यवस्थापनका लागि काम अगाडि बढाईएको अन्सारीले जानकारी दिए । उनले भने, ‘विज्ञ टिम फेरि चितवनबाट हिँडेको छ, उनीहरु आएपछि सल्लाह लिने र व्यवस्थापनको काम अगाडि बढ्नेछ ।’ उनका अनुसार हात्ती नियन्त्रण लिनका लागि आरक्षलाई दबाब दिन स्थानीयबासीले संघर्ष समिति पनि बनाएका छन् । ‘संघर्ष समितिले पनि छलफल गरेर निक्र्यौल निकाल्नेछ,’ उनले राजधानीसँग भने, ‘जंगली जनावरको निगरानीका लागि रात्री गस्ती गर्ने निर्णय पनि भएको छ, स्थानीयबासी दैनिक त्रासमा बस्न बाध्य छन् ।’ उनले आरक्षले स्थानीयबासीको हितका निम्ति काम नगरेका कारण दैनिकजसो सर्वसाधारणले जंगली जनावरबाट ज्यान गुमाउनुपरेको तर्क गरे ।
मृतक परिवारले कानून बमोजिम पाउने राहत तत्काल उपलब्ध गराउन पनि स्थानीयले माग गरेका छन् । स्थानीय जनप्रतिनिधि, पीडित परिवार र सरोकारवालाहरुले मकुना लगायत जंगली हात्तीको आतंकबाट दीर्घकालिन मुक्ति पाउनुपर्ने माग राख्दै आएका छन् ।






