काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले पार्टीका विभाजित दुवै पक्षलाई लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन आग्रह गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै नेकपाका उपाध्यक्ष समेत रहेका गौतमले कार्यकर्तालाई पार्टी पुनःएकीकरणका लागि शीर्ष नेतालाई दवाब दिन आग्रह गरेका हुन् ।
नेकपाका नेताहरुले कम्युनिष्ट आन्दोलन र कार्यकर्ताको भावनाविपरीत पार्टी विभाजन गर्न लागेकोप्रति गौतमले चिन्ता समेत प्रकट गरेका छन् । अन्तरविरोधहरुको समाधान गर्न नसक्दा नेकपा विभाजन नजिक पुग्न शीर्ष नेताहरुको अयोग्यता भएको उनले उल्लेख गरेका छन् ।
अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुबै गलत भन्दै उनले पुनःएकीकरणमा जोड दिएका हुन् । लडाइँ बन्द गरेर पुनर्मिलन गर्न र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गर्न उनको आग्रह छ ।






