हिउँदको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

काठमाडौं । हिउँदको सुक्खा याममा मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थालाई थप सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर प्रसारण बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । जसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो जानकारी गराएका हुन् ।

प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाट बढी ल्याउन पाइरहेका थिएनौं । भारतीय अधिकारीसँगको निरन्तरको छलफलपछि जनवरी–मार्च र जुलाई–डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएको जानकारी गराउँदै शाक्यले भने, ‘प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन सकिरहेका थिएनौं, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।’ यसैगरी, विहारबाट महँगोमा आयात भइरहेको विद्युत् कम गर्न सकिने उनको भनाइ छ ।

प्राधिकरणले ढल्केबर–मुजप्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । शाक्यले टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत् काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि सहज रूपमा पठाउन सकिने बताए । उनले यसबाट मुलुककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने दाबी गरे । केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुनेछ ।

प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभिभीएन)बीच ढल्केबर–मुजप्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेपाली रुपैयाँ) छ ।

यसैबीच, प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीलाई निर्देशन दिए । जसका लागि शाक्यले गत बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।

भैरहवा क्षेत्रका उद्योगीले विद्युत्को गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको भन्दै उनले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुनेगरी नयाँ संरचना बनाउन र भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्नसमेत निर्देशन दिए । सोही निर्देशनसँगै अहिले प्राधिकरणका सम्बन्धित कर्मचारी एवं प्राविधिक सो कार्यमा जुटेको प्राधिकरणले जनाएको छ ।

गत कात्तिकमा मात्र प्राधिकरणले ढल्केबर–मुजप्फरपुर प्रसारण लाइन निर्माण गरी ४०० केभीमा चार्ज गराएको थियो । ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर जडान र भारततर्फ तार तान्ने कामसँगै लाइन चार्ज गरिएको थियो । हाल भारततर्फ ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन २२० केभीबाट ४०० केभीमा स्तरोन्नति गरिएको हो । सोही कामपछि सञ्चालनमा आएको सबस्टेसन नेपाल र भारतबीच १२०० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने सम्झौताअनुसार अहिले प्राधिकरणले भारतको टनकपुर प्रसारण बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ