अप्रिल क्रान्ति र अबको बाटो

प्रेमलकुमार खनाल

सोभियत संघमा भएको फेब्रुअरी क्रान्ति र नेपालको अप्रिल क्रान्ति समान खालको क्रान्ति हुन् । नेपालमा २०६२/६३ तदनुसार इस्वी सन् २००६ अप्रिलमा सम्पन्न भएको अप्रिल क्रान्तिले राजनीतिक हिसाबले राज्यसत्ताको नेतृत्व गरिरहेको सामन्ती राजतन्त्रलाई अन्त्य गरिदियो । जनता सार्वभौम हुने गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भयो । सन् २०१५ मा बनेको संविधानले अप्रिल क्रान्तिबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यका साथ संवैधानिक सुनिश्चितता भयो । यस सन्दर्भमा नेपालको सन २००६ को अप्रिल क्रान्तिबाट सामन्तवादलाई ढालेर पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ ।
सोभियत संघमा पनि सन १९०५ बाट सुरुवात भएको क्रान्ति सन् १९१७ को फेब्रुअरी २७ मा आइपुग्दा क्रान्तिले निर्णायक रूप लियो । जारशाहीको सत्तालाई पल्टाएर अस्थायी सरकार गठन भयो । तर, सरकारमा पुँजीवादी नेतृत्व गर्न सफल भए । यसरी फेब्रुअरीमा भएको क्रान्तिले जारशाहीलाई अन्त्य गरेर पुँजीवादीको हातमा सत्ता हस्तान्तरण गरेको थियो, फेब्रुअरीमा भएको क्रान्ति, जसलाई पुँजीवादी क्रान्ति भनेर चिनिन्छ ।


तर, लेनिनले राज्यसत्ता मजदुर किसानको हातमा ल्याउनुपर्छ र यसका लागि अर्को क्रान्ति आवश्यक हुन्छ भनेर फेब्रुअरीको क्रान्तिलाई अपुरो भएको निष्कर्ष निकाले । फेब्रुअरीको क्रान्ति पुँजीवादी क्रान्ति भएकाले अब समाजवादी क्रान्ति गर्नुपर्दछ भनेर लेनिनले क्रान्तिको दोस्रो चरण अर्थात् समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने दृष्टिकोणलाई अगाडि सारे । ‘सम्पूर्ण सत्ता सोभियतलाई हस्तान्तरण गर’ भन्ने मूल नारा तयार गरेर बोल्सेभिक पार्र्टीको नेतृत्वमा समाजवादी क्रान्तिको सुरुवात भयो । सन १९१९ को अक्टोबर २५ मा पुग्दा क्रान्तिले निर्णायक मोड लियो र क्रान्तिले सफलता प्राप्त ग¥यो । जसलाई अक्टोबर क्रान्ति भनिन्छ ।


नेपाल कम्युनिस्ट पार्टी पुष्पलालको अगुवाइमा सन् १९४९ स्थापना भएपछि सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको सुरुवात भयो । विस २००७, २०१७, २०४६ मा भएका परिवर्तनले क्रान्तिको स्वरूप लिए पनि ती क्रान्ति सफल भएनन् र ७० वर्षपछि मात्र अप्रिल २००६ मा भएको क्रान्ति भने सफलतामा टुंगियो । यसरी हेर्दा नेपालको अप्रिल क्रान्ति र सोभियत संघकोे सन् १९१७ मा भएको फेब्रुअरी क्रान्ति समान खालको रहेको छ । अर्थात् पुँजीवादी जनवादी क्रान्ति नेपालमा भएको अप्रिल क्रान्तिमा श्रमजीवीवर्ग र बुर्जुवा पुँजीवादीको संयुक्त नेतृत्व रहेको थियो । यस्तै, सोभियत संघको
फेब्रुअरी क्रान्तिमा पनि पुँजीवादी, मजदुर, किसानको संयुक्त नेतृत्वमा क्रान्ति भएको थियो । सोभियत संघमा फेब्रुअरी क्रान्तिपछि बनेको सरकारमा भने पुँजीवादीले कब्जा जमाए । तर, नेपालमा भने अप्रिल क्रान्तिपछि बनेको संविधानअनुसार भएको निर्वाचनमा झन्डै दुईतिहाइको जनमतका साथ बामपन्थी निर्वाचित भएर सरकारको नेतृत्व गरिरहेको अवस्था छ ।


निर्वाचनबाट श्रमजीवीवर्गको अग्रदूत पार्टी कम्युनिस्ट पार्टी राज्यसत्ताको नेतृत्वमा पुगेपछि अहिले एउटा कोणबाट के कुरा उठ्ने गरेको छ भने, अब आन्दोलन, संघर्ष क्रान्ति सकियो । राजनीतिक क्रान्ति भई सक्यो, अब त विकास र समृद्धिमा जानुपर्दछ भन्ने गरिएको छ । विकास र समृद्धिको कुरा गर्दा त्यहाँ समाजवादको चर्चा नै हुन्न । पुँजीवादी क्रान्तिले समाज पुँजीवादी चरणमा प्रवेश गरेको छ । तर, विगतदेखि अवलम्बन गरिएको नवउदारवादी पुजीवादी अर्थनीतिले दलाल पुँजीवादलाई प्रश्रय दियो । खासगरी राजनीति र कर्मचारीतन्त्रको संरक्षणमा हुर्किएको यो दलाल पुँजीवादले राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पकड जमाउँदै छ ।
क्रान्तिका पुँजीवादी र समाजवादी क्रान्ति गरी दुई चरण हुन्छन् । नेपालको सन्दर्भमा पुँजीवादी क्रान्तिपछि समाजवादी क्रान्तिको सुरुवात गरिनुपर्दछ । अबको समाजवादी क्रान्तिले सबै खाले शोषण, भेदभाव र असमानतालाई अन्त्य गर्ने नीतिका साथ तदनुरूप नयाँ समाजको निर्माण गर्नुपर्ने हुन्छ । विगतको अप्रिल क्रान्तिबाट राजनीतिक स्वतन्त्रता, लोकतन्त्र प्राप्त गरे पनि यो अझै पूर्ण छैन । श्रमजीवी वर्गले राज्यसत्तमा पुग्न नसक्ने खालको खर्चिलो र भड्किलो निर्वाचन पद्धति छ । खर्चिलो निर्वाचनका कारण राज्यसत्तामा श्रमजीवीवर्ग होइन, पैसावाल पुग्ने स्थिति हुँदै छ । जब निवचनबाट पैसावाल, दलाल पुँजीवादीले विजय हासिल गर्न थाल्दछन् भने, क्रान्तिका उपलब्धि समाप्त हुन्छन्, र प्रतिक्रान्तिको सुरुवात हुन्छ ।


लोकतन्त्रलाई सुदृढ र सवल बनाउन लोकतान्त्रीक विधि पद्धतिलाई गहिरोसँग आत्मसात् गरी लोकतन्त्रलाई जीवन शैलीका रूपमा रूपान्तरण गर्न जरुरी छ । यसका लागि नेतृत्व छनोटलाई कार्य सम्पादनमा आधारित, अर्थात् उत्कृष्ठ काम गर्नेमध्येबाट योग्य व्यक्तिलाई पार्टीभित्र तथा राजकीय निकायमा नेतृत्व, वा जनप्रतिनिधिमा छनोट गर्ने विधि र पद्धति अवलम्बन गरेर अगाडि बढ्दा मात्र विद्यमान पुँजीवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा रूपान्तरित गर्न सकिन्छ ।
अबको समाजवादी क्रान्तिले विल्कुलै नयाँ ढंगको अर्थतन्त्र निर्माण गर्ने दिशालाई पक्रनुपर्दछ । स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको जगमा मात्रै सामाजीक न्याय र समृद्धिसहितको समाजवादी अर्थतन्त्र निर्माणको आधार तयार हुन्छ । यसका लागि विद्यमान पुँजीवादी उत्पादन पद्धतिलाई परिवर्तन गरेर नयाँ ढंगको उत्पादन पद्धतिको विकास गरेर, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, र व्यापक रोजगारीका अवसर सिर्जना गरी, आर्थिक विकास र समृद्धि हासिल गरेर मात्र समाजवादी अर्थतन्त्रको आधार निर्माण हुनेछ ।

समाजवादको आधार निर्माण गर्न समाजवादी क्रान्तिको कार्यदिशा तय गरेर तदनुरुपको नीति, कार्यक्रम, संगठन निर्माण र परिचालनलाई अगाडि बढाउनुपर्छ


समाजवादी क्रान्ति समाजका मानिसको सचेत प्रयास र पहलकदमीबाट मात्र सम्भव हुन्छ । समाजलाई माक्र्सवादीकरण गर्दै समाजवादी चेतना फैलाइ सघन र निरन्तर रूपमा वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म र प्रशासनभित्र नैतिकता, राष्ट्रियता र समाजवादी शिक्षा प्राप्त गर्ने हिसाबले पाठ्यक्रममा आमूल सुधार गरेर, सिंगो समाजमा समाजवादी चेतना फैलाउने कामलाई अगाडि बढाउनुपर्छ ।
समाजवादी क्रान्तिबाट समाजवादको आधार निर्माण गरिरहँदा, लोकतन्त्र, गणतन्त्रको सुदृढीकरणसँगै राष्ट्रियतालाई बलियो बनाउने कार्य अन्यन्तै महŒवपूर्ण र केन्द्रीय अभिभारा रहेको छ । लोकतन्त्र, विकास र समृद्धिको कुरा गर्ने तर देशको राष्ट्रियतालाई कमजोर बनाउने गरी काम गरिनुहुँदैन । विगतका अपमानजनक र असमान सन्धिसम्झौता, सीमा अतिक्रमण, गैरनेपालीले जथाभाबी तवरले धमाधम नागरिकता लिने कानुन र परिपाटी, सर्तसहितको विदेशी ऋण र अनुदान आदिले मुलुकको राष्ट्रियता, राष्ट्रिय सुरक्षा, सार्वभौमिकतामा गम्भीर खालका चुनौती खडा भएका छन् । यी चुनौतीलाई नजरन्दाज गरेर केवल लोकतन्त्र, विकास र समृद्धिको मात्र कुराले राष्ट्रियता सुदृढ हुँदैन । सुदृढ राष्ट्रियताबिनाको लोकतन्त्र र गणतन्त्रले मात्र मुलुकको अस्तिŒव रक्षा गर्न सत्तैmन । अतः राष्ट्रियतालाई बलियो बनाएर मात्र समाजवादको आधारलाई बलियो बनाउन सकिन्छ ।


एउटा क्रान्तिबाट अर्को क्रान्तिका बीचमा भ्याकुम हुँदैन । अर्को क्रान्तिचाँहि विस्तारै गर्ने भन्ने पनि हुँदैन । तर, फेरि क्रान्ति चाहेर हुने पनि होइन । यसको लागि त वस्तुगत अर्थात् क्रान्तिकारी अवस्थाको परिपक्वता आवश्यक हुन्छ । सम्भाव्यतालाई वास्तविकतामा परिवर्तन गर्न क्रान्तिकारीवर्गको तत्परता र क्षमता आवश्यक हुन्छ । देशभित्र व्यापक मात्रामा बढिरहेको गरीबी, बेरोजगारीमा रहेका युवाशक्ति र कामको खोजीमा भौतारिएर विदेश गएका जनशक्तिलाई संगठित र परिचालित गरेर मात्र, क्रान्तिकारी शक्ति निर्माण हुन्छ अनि मात्र समाजवादी क्रान्तिको तागत निर्माण गर्न सकिन्छ । पुँजीवादी व्यवस्थालाई कसैले नढाले सम्म उसले ढलीमली गरी नै रहन्छ, अझ यसले त क्रान्तिकारीको स्प्रिटलाई खिया लगाइदिन्छ । सुख, शयल, सुविधा र भ्रष्टाचारको आहालतिर डुबाइदिन्छ, तसर्थ पनि समाजवादको आधार निर्माणका लागि क्रान्तिको दोस्रो चरणअन्तर्गतको समाजवादी क्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेर तदनुरूपको नीति, कार्यक्रम, संगठन निर्माण र परिचालन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,941 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान