काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य नियुक्त भइसकेका थिए । मंगलबार अरू ६ जनालाई मनोनयन गरिएको सो प्रतिष्ठानले जनाएको छ ।
गीतकार तथा साहित्यकार बाबा बस्नेत, गायिका भूमिका सुब्बा, संगीतकार सुनिल मास्के, गायक शिशिर योगी, गायक तथा संगीतकार प्रदीप बमजन र कवि गीतकार लक्ष्मण गाम्नामे (लक्ष्मीप्रसाद भट्टराई)लाई प्राज्ञसभा सदस्यका रूपमा चयन गरिएको हो ।
उनीहरूलाई मंगलबार प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा सो प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले शपथग्रहण गराए । शपथग्रहणपश्चात् कुलपति रायनले सभा सदस्यलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रतीक चिह्न र परिचयपत्र प्रदान गराए । प्रतिष्ठानको प्राज्ञ सदस्यमा अझै चार जना सदस्य रिक्त रहेको पनि कार्यक्रममा कुलपति रायनले बताए । यसअघि २०७५ माघमा पाँच जना सभा सदस्यले शपथग्रहण गरेको पनि कुलपति रायनले जानकारी गराए ।
कार्यक्रममा नवनियुक्त सभा सदस्यलाई स्वागत गर्ने क्रममा कुलपति रायनले विभिन्न कारणले केही सभा सदस्यको शपथग्रहण कार्यक्रम ढिला हुन पुगेको बताए । बाँकी रिक्त रहेका सदस्य पनि चाँडै नियुक्त गर्ने पनि उनले बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका हालको पदाधिकारी गैर कानुनी रूपमा नियुक्त भएको भन्दै उनीहरूको नियुक्त खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । तीन वर्षअघि परेको मुद्दाको अझै सुनुवाइ नभएको अवस्थामा थप प्राज्ञ सदस्य नियुक्त गरिएको हो ।






