मजबुद सहकारी अभियान

नेपालको सहकारी अभियानले ६४ वर्षको अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ । त्यति मात्र होइन, देशको सबैभन्दा ठूलो व्यावसायिक नेटवर्कको रूपमा समेत यो अभियानलाई देखाएको छ । सहकारी विभागले जारी गरेको पछिल्लो तथ्यांकले ७३ लाख ७ हजार ४ सय ६२ जना नागरिक आबद्ध भएको पनि देखाएको छ । यस अभियानमा कुल सदस्यमा ५६ प्रतिशत महिला रहेका छन् । यसले के देखाउँछ भने नेपालमा मध्यम तथा न्यून आय भएका नागरिकका लागि सहकारी अभियान अभिन्न अंगका रूपमा विकास भइरहेको पाइन्छ । प्रत्येक चार नेपाली नागरिकमध्ये एक जना सहकारीमा आबद्ध भएको समेत तथ्यांकले देखाएको छ । यसबाट पनि नेपालको सहकारी अभियानले छोटो समयमा नै ठूलो छलाङ मार्न सफल भएको स्पष्ट हुन्छ । नेपालमा २०१३ साल चैत २० गतेबाट आधुनिक सहकारी अभियान प्रारम्भ भएको हो ।

नेपालको ग्रामीण क्षेत्रमा रहेका महिलाको जनसंख्या ४२.६ प्रतिशत छ । ती महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानबिना देशमा महिला सबलीकरणको समावेशिताको विषय पूर्ण कार्यन्वयन गर्न सम्भव हुँदैन । तर, नेपालको सहकारी अभियानले ती महिलालाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सबल बनाउँदै नेतृत्व तहमा पु¥याउन सफल भएको छ । नेपाली महिलालाई चुल्ही–चौकी र घरको चार दिवारबाट बाहिर निकाल्ने भरपर्दाे माध्यमका रूपमा पनि सहकारी अभियान नै रहेको छ र सहकारी अभियानको योगदानकै कारण नै महिला सशक्तीकरणमा उल्लेखीय उपलब्धि हासिल भएको स्पष्ट हुन्छ । उद्यमशीलताको विकासका लागि सहकारी संस्थाका सेवा महिलामैत्री, घरेलु हिंसा न्यूनीकरणमा सहजीकरण गर्ने र महिलाको क्षमता अभिवृद्धि गरी नेतृत्व विकास गर्नमा सहकारी अभियनले ठूलो योगदान गरेको कुरालाई सबैले आत्मसात गर्नैपर्छ ।

उद्यमशीलताको विकासका लागि सहकारी संस्था सेवाको महिलामैत्री, घरेलु हिंसा न्यूनीकरण, सहजीकरण तथा महिला क्षमता अभिवृद्धिमा ठूलो योगदान रहेको छ

स्थानीय तहमा ४०.९६ प्रतिशत महिला जनप्रतिनिधिका रूपमा चुनिएका छन् । स्थानीय तहको नेतृत्वमा पुग्ने अधिकांश महिला सहकारी अभियानमा आबद्ध भएर त्यही जगबाट उठेका हुन् । नेपालको सहकारी अभियानको सांगठनिक सञ्जाल ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय ४९ स्थानीय तहमा विस्तार भइसकेको छ । मनाङका ३ र मुगुको १ स्थानीय तहबाहेक सबै स्थानीय तहमा सहकारी पुगेको छ र कतिपय ग्रामीण क्षेत्रमा वित्तीय कारोबारका लागि सहकारीले नै सेवा दिएको समेत पाइन्छ । सबै स्थानीय तहमा बैंकको शाखा पु¥याउने उद्देश्य अनुरूप कार्य भएको भए पनि स्थानीय तहका सहरी क्षेत्रमा ती बैंकका शाखा सीमित रहेकाले कतिपय बैंकिङ कारोबार गर्न अभैm पनि एक दिन हिँडेर पुग्नुपर्ने अवस्था विद्यमान छ । यद्यपि, जुनसुकै विकट स्थानमा समेत सहकारीले सहज सेवा प्रदान गर्दै आइरहेको सन्दर्भमा सहकारी संस्थाको स्तर वृद्धि गर्नेदेखि स्रोत साधानले सम्पन्न गर्नका लागि समेत राज्य तहबाट सहकार्य र सहयोग गर्नुपर्ने देखिन्छ ।

देशभरि रहेका २९ हजार ८ सय ८६ सहकारी संघ÷संस्थामध्ये संघीय सरकारको नियमनभित्र १ सय २५, प्रदेशअन्तर्गत ६ हजार २ र स्थानीय तहअन्तर्गत २३ हजार ७ सय ५९ सहकारी संस्था रहेका छन् । ती सहकारी संस्थाको समिति तहमा ३० प्रतिशत महिला सदस्य रहेका छन् ।

नेपालको सहकारी अभियानले करिब १० खर्ब पुँजीको कारोबार गर्न सफल भएको पाइन्छ । सहकारीले ८८ हजारलाई प्रत्यक्ष दिँदै आइरहेको र १० लाख बढीलाई स्वरोजगार सिर्जना गरेको छ । सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीको कुल संख्यामध्ये ४८ प्रतिशत महिला रहेका छन् ।

लगानीको सुरक्षा, स्थायित्व र विकासका लागि सरोकारवाला निकायसँगको सहयात्रा र सहकार्यको दायरालाई फराकिलो बनाउँदै बजारको विश्वास जित्नुको विकल्प छैन

त्यस्तै, पुँजी निर्माण र नेतृत्व तथा जनशक्ति विकासमा सहकारीको योगदान उल्लेखनीय रहेको पाइन्छ । महिला, युवा तथा पिछडिएको वर्ग वा समुदायको संलग्नतामा वृद्धि, दिगो विकास लक्ष्य हासिल कार्यन्वयन र स्थानीय स्रोत परिचालनमा समेत सहकारीको भूमिका प्रशंसनीय रहेको पाइन्छ ।

सामाजिक सद्भाव कायम गर्नु त सहकारीको विशेषता नै हो । गृह कलह र लैंगिक हिंसा न्यूनीकरणमा समेत सहकारीको योगदान रहेको छ । आर्थिक कारोबारलाई लिएर हुने गृह कलह वा लैंगिक हिंसा मात्र नभए सामाजिक विभेदलाई पनि सहकारीले घटाइदिएको छ । समाजमा विद्यमान सामाजिक विभेदको अन्त्य गर्नमा सहकारी संस्थाले सहजकर्ताको भूमिका खेल्ने गरेको वास्तविकतालाई बिर्सन मिल्दैन । त्यति मात्र नभएर सहकार्य, सहयात्रा, सहभोज, सहभागिता, समुदाय परिचालनमा नेपाली सहकारी अभियानले बितेका ६४ वर्षमा छुट्टै इतिहास निर्माण गर्न सफल भएको छ । अझ घर खर्च व्यवस्थापनमा सहकारीको योगदानको अध्ययन हुन बाँकी नै छ । कृषि तथा पशु व्यवसाय सञ्चालन, बालबालिकाको शिक्षाका लागि र सामाजिक गल्जो टार्नका लागि सहकारीले पु¥याएको मद्दतको त हिसाब किताब नै छैन । अर्को शब्दमा भन्नुपर्दा सहकारी अभियान पारिवारिक, बित्तीय कारोबार र सामाजिक न्यायको भरपर्दो विकल्पको रूपमा स्थापित हुन सफल भइसकेको छ ।

पारिवारिक हकअधिकार स्थापित गर्ने र अंशोधन, भोगाधिकारलगायतका धेरै मुद्दालाई सहकारीले स्थानीयस्तरमा नै सम्पादन गरेर अदालत धाउनुपर्ने लम्बेतान झन्झटिलो कानुनी प्रक्रियामा पुग्नै नपर्ने अनौचारिक रूपमा न्यायिक निरूपणमा समेत सहकारी संघ÷संस्थाले जिम्मेवार भूमिका निर्वाह गर्दै आइरहेका छन् । यसबाट समाज र अदालत दुवैलाई न्याय निरूपणमा सहजता भएको छ र कार्य बोझलाई समेत घटाइदिएको छ । यति हुँदा पनि नेपाली सहकारी अभियानले विश्व सहकारी अभियानजस्तो व्यावसायिक र उद्योगी यात्रामा गुणात्मक फड्को मार्न सकिरहेको छैन । यो वास्तविकतालाई सम्पूर्ण नेपाली सहकारी अभियानकर्मीले आत्मसात गर्नुपर्छ र लगानीको जोखिम र उपलब्धिको अध्ययन र विश्लेषण गरेर अगाडिको बाटो निर्धारण गर्न जरुरी छ । लगानीको सुरक्षा, स्थायित्व र वृद्धि तथा विकासका लागि सरोकारवाला निकायसँगको सहयात्रा र सहकार्यको दायरालाई फराकिलो बनाउँदै बजारको विश्वास जित्नुको विकल्प छैन ।
(लेखक अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 482 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा