पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस बोर्डिङ स्कूल, माछापुच्छ«ेका विवेक परियार र छात्रातर्फ भानु मावि तनहुँकी नर्मता गुरुङले उपाधि जिते । परिरयाले निर्धातिर दूरी २१ मिनेट ५२.३० सेकेण्डमा पूरा गर्दा गुरुङले २८ मिनेट १०.१ सेकेण्ड लगाइन् । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
यस्तै, पदमोदय मोडल सेकेन्डरी स्कुल दाङका गृष रानामगर र ज्योति मावी नवलपरासीका आशीष पोखरेल क्रमशः दोस्रो र तेस्रो भए ।
छात्रातर्फ पदमोदय मोडलकी बन्दना चौधरी र उदय मावि धम्पुसकी वीनु बिक क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो र तेस्रो हुने छात्रछात्रा दुवैले क्रमशः ७ र ४ हजार पाए ।
विजयीलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्च संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, गैर आवासीय नेपाली संघ युके प्रमुख संरक्षक मेजर डम्वर घले, मञ्च अध्यक्ष तेज गुरुङ लगायतले पुरस्कार वितरण गरे । सफल दुधको मुख्य प्रायोजनमा कोभिड–१९ का कारण चरणबद्धरुपमा पोखरा म्याराथन भएको हो ।






