नेपालगञ्जमा संक्रमितको संख्या १८ सय नाघ्यो

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्याले १८ सयको आँकडा पार गरेको छ । यस तथ्यांकमा शुक्रबार संकलन गरिएको स्वाबको नतिजा समावेश गरिएको छैन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले दिएको जानकारीअनुसार बाँकेमा शनिबार साँझ ६ बजेसम्म सक्रिय संक्रमित १ हजार ८ सय २४ जना रहेका छन् । शनिबार साँझसम्म विभिन्न प्रयोगशालाबाट आउने नतिजाको आँकडाले २ हजार नाघ्ने आंकलन गरिएको छ ।

फोकल पर्सन ओलीले दिएको जानकारीअनुसार भेरी अस्पतालको कोरोना वार्डमा १ सय ८१ जना भर्ना भएका छन् । कोरोना संक्रमितको लागि छुट्याइएको बेड १ सय ४२ भए पनि कोचाकोच अवस्थामा रहेका छन् । यीमध्ये ५७ गम्भीर र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।

यसैगरी उनले दिएको जानकारीअनुसार शिक्षण अस्पतालमा ५५ जना बिरामी भर्ना भएकामध्ये २६ गम्भीर २९ मध्यम अवस्थाका रहेका छन् । कोहलपुर नगरपालिकाद्वारा सञ्चालनमा ल्याएको कोभिड अस्पताल कोहलपुरमा ९ जना भर्ना भएकामध्ये ३ गम्भीर रहेका छन् । नेपालगन्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याएको ब्हाइटहाउस आइसोलेसनमा ३९ जना रहेका र तीमध्ये ६ जना महिला संक्रमित रहेका छन् । अस्वाभाविक रूपमा कोरोना संक्रमण फैलिएपछि नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको हो ।

भेरी अस्पतालमा कोभिडको बिरामीका लागि तयार पारेको बेड एउटा पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । भेरी अस्पतालले कोरोना संक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वाडका सबै १ सय ४२ बेड भरिए तापनि थप बिरामी राख्न बाध्य भएको बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको डा. थापाको भनाइ छ ।

‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने क्रम रोकिएको छैन । छुट्याइएका बेडहरू जम्मै भरिभराउ छन्,’ उनले भने, ‘हामी निरीह भएर टुुलुटुलु हेर्न मात्रै सकेका छांै ।’ उनले संक्रमितको संख्या बढेसँगै विकल्प र जनशक्ति थप गर्न लामो समयदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत भर्ना लिन नसक्ने अवस्था रहेको बताए । उनले संक्रमण रोकथाम र संक्रमण गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्ना स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने, ‘संक्रमितको संख्या बढेको बढेइछ । बेड र जनशक्ति थोरै छ । तर, पनि हामी बिरामीको ज्यान जोगाउन लागिपरेका छौं । सबै क्षेत्रबाट सहयोग हुनु आवश्यक छ ।’

कोरोना संक्रमणका बिरामीको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाइले अस्पतालमा बेड अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने अवस्थामा पुगेको बताए । कोभिडका बिरामी राख्ने वाड समयमै नबनाउँदा अहिलेकोे स्थिति नियन्त्रण बाहिर गएको उनकोे दाबी छ । कोरोना संक्रमितका बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी हेर्दाहेर्दै स्थिति नियन्त्रणबाहिर जाँदा चिन्तित छन् ।

भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए पनि अहिले प्रायः सबैमा संक्रमण देखिएको पाइएको जानकारी दिए । बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले निरन्तर संक्रमितको संख्या बढिरहेकाले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

हिरासतमा मृत्यु प्रकरण: न्यायिक छानविनको माग गर्दै प्रशासनमा धर्ना