सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

 

धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध जित्नुजस्तै भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ ।

अक्सिजनका लागि कहिले कता ? कहिले कता कुद्ने गरेका छन् । अब त अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्त अक्सिजन आयो भने त्यतै कुद्छन् । अस्पतालका कर्मचारी सबैलाई यसैगरी आशा बाँडिरहेका हुन्छन् । अलिकति भए पनि खुसी बाँडिरहेका छन् । जो रात–दिन नभनी अक्सिजनका लागि अक्सिजन उद्योगमा खटिरहेका छन् । र, अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्, । जीवनको आशा बाँडिरहेका छन् ।

अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफैँ अक्सिजन जोहो गरिरहेका छन् ।

उत्पादनभन्दा खपत कैयौँ गुणा बढी हुँदा धनगढी भन्सार रोडमा रहेको मालिका ग्यास उद्योगमा पनि मध्यरातसम्म बिरामीका आफन्तको घुइँचो हुने गरेको छ । सरकारले पर्याप्त मात्रामा अक्सिजन दिन नसक्दा बिरामीका आफन्तलाई नै अक्सिजनको व्यवस्था गर्न भन्नुपर्ने बाध्यता रहेको निजी अस्पताल संघका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए । उनले भने, ‘हामीसँग पनि पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तले आफैँ अक्सिजन ल्याइरहनुभएको छ । अहिले अक्सिजन खोज्ने जिम्मा बिरामीकै आफन्तको जस्तो भएको छ ।’

संक्रमितको दर दिनप्रतिदिन उकालो

यो प्रदेशमा कोरोना संक्रमण दर दिन–प्रतिदिन उकालो लागिरहेको छ । प्रदेशमा पछिल्लो दुई सातामा मात्रै १० हजार संक्रमित थपिएका छन् भने दुई सय २७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा अहिले पनि आठ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । तर, दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा संक्रमित बढ्दै गए पनि उपचारको व्यवस्थापन हुन सकेको छैन । प्रदेशमा २० भेन्टिलेटर र ५३ आइसियू शय्या मात्रै रहेको निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसियू बेड मात्रै उपलब्ध रहेको देखाउँछ । झण्डै ३० लाख जनसंख्या भएको प्रदेशमा संक्रमितको उपचारका लागि कुनै तहको सरकारले चासो दिएको छैन । बिरामीका आफन्त अक्सिजन नपाएर तड्पिरहेका छन् ।

निर्देशनालयको तथ्यांकअनुसार डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आइसियू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६–६ र सेती प्रादेशिक अस्पतालमा ५ भेन्टिलेटर छन् ।

पछिल्लो दुई महिनामा प्रदेशभर आइसियू बेड दोब्बरले बढाइए पनि ती बढाएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकाले आइसियू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसियू र भेन्टिलेटर चल्दैन,’ उनले भने, ‘त्यसैले अहिले आइसियू र भेन्टिलेटर थप्नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ ।’

प्रदेशभर दैनिक झण्डै एक हजार सिलिन्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ति गर्न सकेका छैनौँ । तीन सयदेखि चार सय सिलिन्डर मात्रै व्यवस्थापन गर्न सकेका छौँ,’ उनले भने ।

निषेधाज्ञाले पनि घटेन संक्रमण दर

प्रदेशका सबैजसो प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेका छन् । तर, संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुखसमेत रहेका फ्यामिली फिजिसियन डा. जगदीश जोशी सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिनुको प्रमुख कारण अव्यवस्थित सीमा नाका नै भएको बताउँछन् ।

‘पहिलो चरणको बेला पनि हामीले भारतसँग जोडिएका सीमा नाकाको राम्रोसँग व्यवस्थापन गर्न सकेनौँ,’ जोशीले भने, ‘अहिले दोस्रो चरणमा पनि पुरानै गल्ती दोहोरिएपछि संक्रमण नियन्त्रणबाहिर जान पुग्यो ।’ उनले भारतबाट फर्किनेहरुलाई होल्डिङ सेन्टरमा राख्दै अनिवार्य स्वास्थ्य परीक्षण गरी संक्रमितलाई छुट्याएर सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर आइसोलेसन र क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्ने दायित्वबाट सम्बन्धित निकाय चुक्दा यस्तो अवस्था सिर्जना भएको सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न