चिकित्सकको मनोबल बढाऔं

यतिबेला मुलुक कोरोना कहरबाट नराम्रोसँग थलापरेको छ । तेस्रो भेरियन्टसहित कोभिडको प्रवेशले जनजीवन थप त्रासमय बनेको छ । कतिपय गाउँ, टोल र बस्ती यस्ता छन् । जहाँ एक घर एक कोभिडको अवस्था छ । कतै परिवार नै प्रभावित छन् । कति होम आइसोलेसनमा बस्नेहरूलाई स्याहार सम्भार गर्ने आफन्त छैनन् । खानपानको अभाव छ । गत २०७७ साल चैतबाट कोरोना संक्रमणका कारण सुरु भएको लकडाउन, सटडाउन हुँदै निषेधाज्ञासमेत बेहोर्नुपर्दा मुलुक गतिरोध अवस्थामा त थियो नै, यो वर्ष झनै कडा कोभिडको प्रवेशले थप चिन्ता र जनजीवन कष्टप्रद बन्दै छ । लकडाउन जारी छ । अझै निरन्तरता नदिने हो भने डडेलो नै सल्कने सम्भावनातर्फ विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।

यातायात, उद्योग व्यवसाय र शिक्षाक्षेत्र ठप्पप्रायः नै देखिन्छ । नेपाल मात्र नभएर विश्वका २ सय बढी देश अहिले कोरोना महामारीको चपेटामा परेका छन् । धनी, गरिब, ठूलो, सानो, पदासीन, पदविहीन केही पनि नभनी सबैलाई समान देख्दै कोरोना क्रमशः सबैतर्फ प्रवेश गर्दै छ । एक किसिमले समाजवादी शैलीमा कोरोनाले यात्रा गर्दै छ ।

अप्रत्यासित रूपमा विश्वभर फैलिएर यसले आतंक मात्र सिर्जना गरेन, आममानिसको दैनिकीमा समेत उल्टो प्रभाव पा¥यो । विशेषज्ञहरू यो स्थिति क्रमशः बढ्दै जाने सम्भावना औंल्याएका छन् । यसैकारण उनीहरू सर्वसाधारणलाई सामाजिक दूरी कायम राख्न, मास्क अनिवार्य लगाउन र साबुन पानीले हात धोइरहन सुझाएका छन् । विशेषज्ञले सुझाएका नियमहरू पनि कतिपय अवस्थामा पालना गरिएको पाइँदैन । यसले गर्दा थप जोखिम र सन्त्रास बढ्दै गएको पाइन्छ । लकडाउनको अवस्थामा पनि संक्रमितहरूको संख्या ह्वात्तै बढ्नु यसैको उदाहरण हो । अब लकडाउन थप कडाइ गर्नुपर्ने देखिन्छ ।

चिकित्सकलाई हातपात
अघिल्लो सोमबार मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य सहायक कर्मचारीमाथि बिरामीको उपचार गर्दै गरेको अवस्थामा एउटा समूहले हातपात गरेको घटना सार्वजनिक भएको छ । चिकित्सकमाथि हातपात भएको यो नै पहिलो समाचार भने होइन । यो त एउटा उदाहरण मात्र हो । उपचारका क्रममा बिरामी तलमाथि परेमा वा अन्य कारणले आफूले भनेजस्तो भएन भने हुलइज्जत गर्ने, धम्क्याउने, गाली बेइजती गर्ने र हातपात गर्ने घटना धेरै देखिन्छन् । यी घटनाले चिकित्सकको तेजोबध गराउँछ । कुनै पनि चिकित्सकको पहिलो धर्म आफूकहाँ आएको बिरामी निको होस, बाँचोस् भन्ने नै हुन्छ । तर, प्राविधिक कारणले यताउता परेमा चिकित्सकमाथि झम्टिने प्रवृत्ति देखिन्छ । यो प्रवृत्ति कुनै पनि हालतमा राम्रो मान्न सकिँदैन ।

कोभिडविरुद्ध अग्रपंक्तिमा खटेका चिकित्सकप्रति सम्मानजनक व्यवहार आजको आवश्यकता हो

यतिबेला कोभिडविरुद्ध मुलुकका चिकित्सक अग्रपक्तिमा जुधेका छन् । नाइँनास्ती नभनी खटेका छन् । आफू स्वयं कोभिड प्रभावित भएर पनि अर्को प्रभावित व्यक्तिलाई उपचार गरिरहेको दृश्यले चिकित्सकहरु यो युुगका साक्षात देवता नै सिद्ध भएका छन् । तर, तिनै चिकित्सकमाथि हातपात गर्ने, धाकधम्की दिने र अपमान गरिएका घटना पनि सार्वजनिक भएका छन् । यो व्यवहारले हाम्रा चिकित्सकको मनोबल बढ्दैन, उल्टो खस्कन्छ । मनोबल खस्केको चिकित्सकबाट गतिलो उपचार सम्भव हुँदैन । यसर्थ, चिकित्सकप्रति सम्मानजनक व्यवहार आजको आवश्यकता हो ।

कोभिडविरुद्ध शीर्षस्थानमा त चिकित्सक नै जुधिरहेका छन् । आरम्भमा त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)बिना पनि चिकित्सक उपचारमा खटी नै रहे । साँझ, बिहान भनेनन् । आफ्नो पराइ चिनेनन् । फलस्वरूप आज चिकित्सकलगायत धेरै स्वास्थकर्मीहरूमा कोरोना सक्रमण देखिएको छ । कतिको त ज्यान नै जोखिममा पनि छ । नागरिकको सेवा गर्दा र राज्यबाट सुम्पिएको दायित्व निर्वाह गर्दा उनीहरू संक्रमित भएका हुन् । अग्रपक्तिमा खटिएर काम गर्ने निजी अस्पतालतर्फका चिकित्सकको सूची अझ अलगै छ । कतिपय निजी अस्पतालहरूले त आजसम्म पनि गुणस्तरीय पीपीई पनि नदिइकन चिकित्सकलाई बिरामीको उपचारमा खटाइरहेका छन् । चिकित्सकहरू आफ्नो धर्म सम्झी नाइँनास्ती गर्न सकेका छैनन् । चिकित्सकको पनि घरपरिवार छ, उनीहरू पनि बाँच्नुपर्छ । यसकारण सुरक्षा साधनबिना कोभिड उपचारमा उनीहरूलाई पठाइनुहुँदैन ।

मृत्युपछिको त्रासदी
अहिले कोभिडबाट मृत्यु हुनेको संख्या अधिक देखिएको छ । दिनमा सयौंको संख्यामा हुने गरेको मृत्यु हाम्रा लागि सुखद खबर होइन । रोगले आक्रमण गरेमा डाक्टरले बचाउँछन् भन्ने आमजनमानसमा आशा थियो÷छ तर तिनै डाक्टरहरूमा पनि कोरोना सल्किएपछि अब भरपर्ने आशाको त्यान्द्रो नै चुडिँएजस्तो अनुभूति आममानिसले गर्दै छन् । अरुणा लामाले ‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ भनेर गाएकी थिइन् । आज बिरामीहरूका लागि डाक्टर छन् भन्ने भरोसा थियो, अब उनीहरू नै बिरामी भएपछि कसलाई भरोसा गर्ने ? कहाँ जाने ? आममानिस प्रश्न गर्छन् । निरासाका स्वर व्यक्त गर्छन् । यी घटनाले अग्लो बाँसको टुप्पोमा बसालेको कसौंडीको खिचडी पनि फेदमा बलेको मसिनो आगोले पाक्ला नि, भन्दै वीरबल आशावादी थिए भन्ने दन्त्यकथामा पढिएजस्तै कम्तीमा पनि डाक्टर छन्, बचाउँछन् भन्ने आशा भए पनि त्यो आशा क्रमशः हराउँदै छ ।

जोखिम भत्ताको गुनासो
सरकारले कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई गत २०७६ को चैत ११ गतेदेखि नै जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, आजपर्यन्त पनि अग्रपंक्तिमा खटिएर कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न कतिपय चिकित्सकसहित अन्यले त्यस्तो भत्ता पाएका छैनन् । कर्मचारीलाई मौद्रिक र गैरमौद्रिक गरी दुवै तरिकाले प्रोत्साहन गर्न सकिन्छ । यहाँनेर सरकारले मौद्रिक तरिकाले प्रोत्साहनका नीति घोषणा गरिसकेको हो । गत वर्ष नै अर्थमन्त्रीले बजेट वक्तव्यमा समेत यही कुरा उल्लेख गरेका हुन् । गत २०७७ को जेठ १५ गते जारी सार्वजनिक बजेट वक्तव्यको बुँदा नम्बर ३१ मा भनिएको छ, ‘चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थासहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । कोरोनालगायत अन्य संक्रामक रोगविरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको छ ।’ आज चिकित्सकलगायत जोखिम मोलेर काम गर्नेहरूका हकमा सो नीति कार्यान्वयन हुन जरुरी छ । यही यथार्थलाई ख्याल गर्दै सरकारले घोषणा गरिसकेको जोखिम भत्ता नपाएकाका हकमा उपलब्ध गराउन अब ढिलाइ गर्नुहुँदैन । घोषित भत्तासमेत नपाउँदा अग्रपंक्तिमा खटिएकाहरूको मनोबल गिर्न जान्छ । योबेला चिकित्सकको मनोबल गिराएर होइन उठाएर मात्र कोभिडको नयाँ भेरियन्टसहितको संक्रमणविरुद्ध लड्न सकिन्छ ।

चिकित्सकको मनोबल बढाएर मात्र कोभिडको नयाँ भेरियन्टसहितको संक्रमणविरुद्ध लडन सकिन्छ

विगत २०७६ चैत ११ गतेदेखिकै भत्ता पाउनेगरी गरिएको व्यवस्था कार्यान्वयनमा ढिलाइ हुँदा सो काममा आफ्नो शरीरसमेत जोखिममा राख्दै खटेका जनशक्तिमा भने प्रेरणा र हौसला मिल्न सकेको छैन । बोकेको कुकुरले मृग मार्दैन भनेमmैं आत्मैदेखि उत्प्रेरित नभएसम्म कसैले पनि गुणस्तरीय रूपमा कार्य सम्पादन गर्न सक्दैन भन्ने कुरा पनि बुझ्न आवश्यक छ । कर्मचारीलाई दिउँला भनेर होइन दिएर नै उत्प्रेरित गर्नुपर्छ भन्ने आममान्यता नै हो । यसको कार्यान्वयन हुन जरुरी छ ।

गलत मनोविज्ञान
आज चिकित्सकहरूप्रति व्यक्ति मनोविज्ञान पनि नकारात्मक देखिन्छ । यो कुनै पनि हालतमा उपयुक्त होइन । जसले आमनागरिकको उपचारमा अहोरात्र खट्छ, महामारीसँग रातोदिन भिड्छ, उही वर्ग नागरिकबाट उपेक्षित हुनु अचम्मलाग्दो कुरा हो । नागरिकहरूले चिकित्सकीय महत्व बुझ्नैपर्छ । उपचारका सन्दर्भमा एउटा चिकित्सकसँग न घर हुन्छ न परिवार । न आफन्त हुन्छ, न पराइ । सबै बिर्सेर ऊ बिरामीको उपचारमा लाग्छ । बिरामीलाई कसरी निको हुन्छ भन्ने एक मात्र अभिष्ट नै उसको रहन्छ । तर, त्यही चिकित्सकउपर जाइलाग्ने आमप्रवृत्ति भने प्रत्युपादक नै देखिन्छ र आत्मघाती पनि ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कैलाली सुदूरपश्चिममै पहिलो, बझाङ दोस्रो