धनगढी । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला स्वास्थ्य कार्यालयमध्ये आर्थिक वर्ष ०८२/८३ को कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कैलाली पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्यांकनमा स्वास्थ्य कार्यालय बझाङ दोस्रो र दार्चुला तेस्रो भएका छन् ।
बाल स्वास्थ्य, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, खोप कार्यक्रम, सरुवा र नसर्ने रोगलगायत जनस्वास्थ्यका सूचकको प्रगतिसँगै वित्तीय पारदर्शिता, सुशासन, स्थानीय तहसँगको समन्वय, बजेट खर्च र बेरुजु व्यवस्थापनलगायतका आधारमा मूल्यांकन गरिएको हो ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक योगेश भट्टका अनुसार निर्धारित स्वास्थ्य सूचकको उपलब्धि र समग्र कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्यालय छनोट गरिएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले कर्मचारीको लगनशीलता र सरोकारवालाको सहकार्यबाट स्वास्थ्य सूचकमा सुधार ल्याउन सकिएको बताए । अघिल्लो वर्षको कार्य सम्पादन मूल्यांकनमा कैलाली तेस्रो स्थानमा रहेको उनले जानकारी दिए ।
अस्पतालमा डोटी र आयुर्वेदमा बझाङ उत्कृष्ट
प्रदेश मातहतका अस्पतालतर्फको मूल्यांकनमा जिल्ला अस्पताल डोटी पहिलो, बझाङ दोस्रो र जिल्ला अस्पताल बैतडी तेस्रो भएका छन् ।
यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूमध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ पहिलो, डोटी दोस्रो र दार्चुला तेस्रो स्थानमा रहेका छन् ।
जनस्वास्थ्य प्रशासक भट्टका अनुसार अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन बिरामी भर्ना दर, सेवा प्रवाह, उपचार दर, वित्तीय प्रगति, पारदर्शिता र सुशासनका सूचकका आधारमा गरिएको हो ।
डोटीको राजपुरमा सम्पन्न प्रदेशस्तरीय स्वास्थ्य समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रलाई सम्मान गरिएको छ । सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापा शर्मा, मन्त्रालयका सचिव संगीता ओझा र प्रदेश स्वास्थ्य निर्देशक डा. खगेन्द्र बमलगायतले सम्मान प्रदान गरेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा. बमले स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहको अवस्था र स्वास्थ्य सूचकांकमा हासिल प्रगतिका आधारमा हरेक वर्ष मूल्यांकन गरी उत्कृष्ट संस्थाहरूलाई सम्मान गरिँदै आएको बताए ।
सम्बन्धित समाचार
जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा
आगलागी नियन्त्रणमा धनगढीको सक्रियता : साढे तीन वर्षमा ५३३ ठाउँमा आगलागी नियन्त्रण
सुदूरपश्चिममा बजेट विवाद कायमै
सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु
धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुने, उपमहानगरले १० लाख अनुदान दिने
नखाई नलाई जम्मा गरेको बचत डुब्यो, प्रहरी कार्यालय धाउँदै पीडित
रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनमा जोड दिँदै सुदूरपश्चिमको वार्षिक स्वास्थ्य समीक्षा सुरु
धनगढीमा जुट्दै देशभरका स्रष्टा, साहित्य महोत्सवको तयारी तीव्र





