गणतन्त्रको सुदृढीकरण

अस्ति जेठ १५ गते शनिबार हामीले १४औं गणतन्त्र दिवस मनायौं । गणतन्त्र जनतालाई सर्वोपरि ठान्ने उत्तम व्यवस्था हो । यसकारण नेपाल, चीनलगायत भारत, अमेरिकासमेत विश्वका १ सय ५९ देशमा गणतान्त्रिक व्यवस्था छ । हाम्रो गणतन्त्रले १३ वर्ष पार गरिसकेको छ । विगतमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि पटकपटकका पुस्ताले आन्दोलन गरेकाले ती आन्दोलन, आन्दोलनका मिति र उपलब्धिको ऐतिहासिक महत्व छ । ती उपलब्धिलाई सुरक्षित राख्न र तिनका भावना आत्मसात् गरी सोहीअनुरूप चल्न सकेमा मात्र गणतन्त्र दिवसको सार्थकता सिद्ध हुन्छ । गणतन्त्रको उद्देश्य प्राप्तिका लागि अग्रसर हुन सकेमा मात्र सो आन्दोलनमा योगदान दिएका सबैकोे सम्मान हुन सक्छ । अन्यथा उही परम्परावादी शैलीमा यस्ता दिवस आउनु र जानुले खासै महत्व राख्दैन ।

विगत नियाल्दा
संंविधान सभा गणतन्त्रको प्रारूप हो । सिधै गणतन्त्र भन्न नसकेरै होला, हामीकहाँ संविधानसभाबाट संविधान बनाउने चर्चा २००७ सालदेखि सुरु भयो । राजा त्रिभुवन र महेन्द्र दुवैले जनताको यो सपना पूरा हुन दिएनन् । वीरेन्द्र आफंै वंशनाशको सिकार भए । २०४६ को आन्दोलनमा पनि गणतन्त्रले प्रवेश पाएन । निर्दलीयता हटाउनुमा नै राजनीतिक शक्तिले उतिबेला आफ्नो ठूलो उपलब्धि माने । पछि तत्कालीन संयुक्त जनआन्दोलनका तर्फबाट डा. बाबुराम भट्टराईले १० बुँदे मागसहित पुनः संविधान सभाको कुरा उठाए । डा. भट्टराईको संविधानसभाको अन्तर्य गणतन्त्रको पूर्वाभ्यास थियो । तर पूरा हुन पाएन । अन्ततः राजाद्वारा बनाइएको आयोगले तयार गरेको नेपाल अधिराज्यको संविधान २०४७ जारी गरियोे । कतिपय राजनीतिक दलहरूले यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनी प्रशंसा गर्न थाले भने संयुक्त जनमोर्चा नेपालका नामबाट डा. बाबुराम भट्टराई समेतले २०५२ माघ २१ गते ४० बुँदे माग पेस गरे । संविधान सभाको एजेन्डा पनि यसमा प-यो ।

संघीय गणतन्त्रका पक्षधरहरू व्यवस्था जोगाउन लागि पर्नुपर्र्नेे देखिएको छ

फागुन १ गतेबाट जनयुद्घ सुरु भयो । राजा ज्ञानेन्द्रले २०५९ असोज १८ हुँदै २०६१ माघ १९ गते प्रत्यक्ष शासन सुरु गरे । अलिअलि भएको प्रजातन्त्रमा पनि ‘कु’ भयो । माओवादी र तत्कालीन सात दलका लागि ज्ञानेन्द्रको यो कदम एकताका लागि प्रेरक बन्यो । यी दुई शक्तिबीच यो घटनाले कार्यगत एकताको ढोका खोल्यो । २०६२ मंसिर ७ गते सात दल र माओवादीबीच १२ बुँदे सम्झौता भयो । यो सम्झौताले संविधानसभाबाट संविधान निर्माण गर्ने माओवादीको यात्रालाई अनुमोदन ग¥यो । ७ दल र माओवादीबीच २०६२ साल चैत २४ गतेबाट संयुक्त रूपमा दोस्रो जनआन्दोलनको सुरु गरियो । २०६३ सालको वैशाख ११ मा आइपुग्दा राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरी विघठित प्रतिनिधि सभा ब्युँताए । पुनस्र्थापित प्रतिनिधि सभाको पहिलो बैठकले संविधान सभामार्फत् संविधान बनाउने संकल्प प्रस्ताव पास ग¥यो ।

२०६३ मंसिर ५ गते माओवादीका तर्फबाट प्रचण्ड र सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच विस्तृत शान्ति सम्झौता भयो । माओवादीको आन्दोलनले औपचारिक विश्राम लियो । २०६३ साल माघ १ गते अन्तरिम संविधान बनाई जारी गरियो । २०६४ पुस १३ गते संसद् बैठकले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जाने संकल्प प्रस्ताव पास ग¥यो । यसअघि यही माग राखेर संविधान सभाको निर्वाचन पूर्व नै गणतन्त्रको सुनिश्चितता गर्नुपर्ने मागसहित सरकारमा सहभागी माओवादी सरकारबाट बाहिरिइसकेको थियो । यहाँ पनि संविधान सभाले संविधान जारी गर्नुअगावै माओवादीको गणतान्त्रिक यात्राको थालनी अरू दलले अनुमोदन नै गरी अघि बढे ।

मधेस आन्दोलन समेतलाई मध्यनजर गर्दै २०६४ साल फागुन १६ गते संघीयतामा जान दलहरू सहमत भए । सबै दलहरू २०६४ चैत २८ गतेलाई तोकिएको संविधान सभा निर्वाचन सफल पार्न लागे । चुनाव भयो । १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदातामध्ये ६१.७० प्रतिशत मतदाताले मतदान गरे । माओवादी पहिलो दल बन्यो । २०६५ जेठ १५ गते बसेको पहिलो संविधान सभाको बैठकद्वारा २ सय ४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र पmालियो । गणतन्त्रले संस्थागत स्वरूप लियो । २०६५ जेठ २९ गते ज्ञानेन्द्र शाह राजदरबारबाट बाहिरिए । बिना हिच्किचाहट २ सय ४० वर्षे राजतन्त्रले आफ्नो विरासत गुमायो ।

२०६५ साउन ३१ गते प्रचण्ड प्रधानमन्त्री बने । २०६६ वैशाख २० गते सरकारले सेनापति हटाउने निर्णय ग¥यो । राष्ट्रपति रामवरणद्वारा निर्णय उल्टाइयो । सरकारले वैशाख २१ गते राजीनामा दियो । २०६६ जेठ ९ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने । तर, संविधान बनेन । राजनीतिक दलहरूबीच पाँचबुँदे सहमति भई संविधान सभाको कार्यकाल १ वर्ष बढाइयो । २०६८ माघ २० गते पुनः झलनाथ खनाल प्रधानमन्त्री बने । उनी पनि टिक्न सकेनन् । २०६८ भदौ ११ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । प्रधानमन्त्री धेरै बने, संविधान बन्न सकेन । २०६८ मंसिर ९ गतको सर्वोच्च अदालतबाट २०६९ जेठ १४ गतेभन्दा पछि संविधान सभाको म्याद बढाउन नमिल्ने गरी आदेश भयो । संविधान सभाले मृत्युवरण गर्न पुग्यो । प्रधानमन्त्री डा. भट्टराईले मंसिरमा अर्को संविधान सभाको चुनाव प्रस्ताव गरे तर विरोध भयो । चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीमण्डल बन्यो । मोहन वैद्य समूह चुनावको विपक्षमा गयो । २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको चुनाव भयो । १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदातामध्ये ७८.७४ प्रतिशत मतदाताले मतदान गरे । माघ २७ गते सुशील कोइराला प्रधानमन्त्री बने । २०७० चैत १४ गते बसेको दोस्रो संविधान सभाको पहिलो बैठकबाट पहिलो संविधान सभाले यसअघि गरेका कामको स्वामित्व लिने निर्णय ग¥यो । संविधान निर्माण हेतु यो निर्णय निकै उपयोगी साबित भयो ।

दलहरूबीच द्वन्द्व बढ्यो । २०७२ वैशाख १२ मा भूकम्प गयो । फेरि दलहरूलाई एक जुट भई संविधान निर्माण गरी जारी गर्न यो भूकम्प वरदान साबित नै भयो । जेठ २५ मा प्रमुख दलबीच १६ बुँदे सहमति बन्यो । संविधान निर्माणको आधार तयार भयो ।

वर्तमानमा देखिएका राजनीतिक परिदृश्यले गणतन्त्र र संघीयतामाथि नै प्रश्न खडा गरेको छ

दोस्रो संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी ग¥यो । नेपालको इतिहासमा सार्वभौम जनताले बनाएको पहिलो संविधान थियो । ३५ भाग ३०८ धारा ९ अनुसूची रहेको यस संविधानको पक्षमा संविधान सभामा रहेका ६ सय १ सदस्यमध्ये ५ सय ७ को मतदान, २५ जना सभासदको विपक्षमा मतदान, संविधानको मूलप्रतिमा हस्ताक्षर गर्ने सभासद ५ सय ३७ जना र संविधानको प्रक्रियामा बहिष्कार गर्ने सभासद ५७ जना रहेका थिए । यो संविधानले गणतन्त्रलाई थप बलियो र संस्थागत ग-यो ।

संवैधानिक स्वीकार्यता
लगभग ९० प्रतिशत सांसदहरूको हस्ताक्षरबाट जारी सो संविधानलाई पनि आरम्भमा मधेस केन्द्रित दलबाट विरोध गरिए पनि संविधान क्रमशः संशोधन गर्दै यसमा देखिएका कमीकमजोरी सुधार्दै जाने सर्तमा संविधान कार्यान्वयनका लागि यसअघि सम्पन्न सबै खालका चुनाव र तत््सम्बन्धी गतिविधिमा उनीहरूको पनि उल्लेख्य सहभागिता रहेकाले अब संविधान कार्यान्वयनमा खासै उल्झन नरहेको प्रस्ट हुन्छ । २०७४ वैशाख ३१, असार १४ र असोज २ गते सम्पन्न ७ सय ५३ स्थानीय तहको निर्वाचनबाट छानिएका जनप्रतिनिधिहरूको एक कार्यकाल सकिनै थालेको छ । अर्को आवमा पुनः दोस्रोपटक चुनाव हुनेछ । १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये लगभग ८० प्रतिशत मतदाताले अघिल्लो मतदानमा भाग लिएका थिए । आगामी दिनमा यो दर बढ्दै जाने निश्चित प्रायः छ ।

खटपट नगर
हाम्रा लागि समावेशीसहितको संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यास नयाँ हो । संविधानमा व्यवस्था गरिएअनुरूप नयाँ कानुनहरूको निर्माण, प्रशासनिक पुनर्संरचना तथा संघीयताको अभ्यासमा धेरै समय लाग्नु स्वाभाविक नै थियो । यसबीचमा नेपाली जनताका अपेक्षा धेरै नै थिए तर राजनीतिक एवं सत्ता नेतृत्वको कार्यशैली परम्परित नै देखिँदा जनतामा निराशा छाएको देखिन्छ । जनताका नाममा गरिने राजनीति र शपथ खाने पात्रहरूकोे चरित्र विगतभन्दा फरक देखिँदैन ।

खासगरी, २०७४ सालको निर्वाचनले नेपाल कम्युनिस्ट पार्टीको नाममा झन्डै दुई तिहाइको बहुमत दिएको थियो । तर सो पार्टीभित्र आन्तरिक कलहकै कारण २०७४ मंसिर १० र २१ गते २ चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपश्चात् बनेका सरकामा तीन वर्षपछि खटपट सुरु भएको छ । खासगरी सत्तारूढ दलभित्रको आन्तरिक कलह राष्ट्रिय राजनीतिमा छताछुल्ल पोखिएको छ । विगत ६ महिनामा दुईपटक प्रतिनिधि सभा विघठन भइसकेको छ । पहिलोपटकको विघठनलाई सर्वोच्च अदालतले अवैध ठहर गरिसकेको छ । अदालतको आदेशले पुनस्र्थापित प्रतिनिधि सभाले सरकार दिन नसक्दा पुनः विघठन भई अहिले सर्वोच्चमा कानुनी वैधताको बहस चलिरहेको छ । प्रदेश सभाहरू पनि जनताको आकांक्षा अनुरूप चल्न सकेका छैनन् । सरकार बनाउने, बदल्ने र यसका लागि सांसदले राजनीतिक अनुशासन तोडेका अनेकानेक दृष्टान्त देखिएका छन् ।

यी परिघटनाले अन्ततः गणतन्त्रका विपक्षीको मनोबल बढाइरहेको छ । १४ वर्षे कलिलो वयमा गणतन्त्र अफाबसिद्ध बनाउन खोज्नेहरूका लागि थप बल मिलेको छ । याद रहोस् जतिसुकै राम्रो व्यवस्था पनि दक्ष सञ्चालकको हातमा प¥यो भने खराब परिणति दिन्छ र जतिसुकै नराम्रो भनिएको व्यवस्था पनि कुशाग्र सञ्चालक परेको खण्डमा राम्रो परिणाम दिन्छ । उही कैंची मूर्खका हातमा पर्दा मान्छे मार्छ भने चिकित्सकका हातमा पर्दा मान्छे बचाउँछ । व्यवस्था आफैंमा केही होइन । यसका सञ्चालक महत्वपूर्ण हुन् । यसर्थ वर्तमानमा देखिएका राजनीतिक परिदृश्यले गणतन्त्रमाथि नै खतरा आउन सक्छ । संघीयतामाथि नै प्रश्न खडा हुन सक्छ । व्यवस्थाका सारथीहरू र खासगरी संघीय गणतन्त्रका पक्षधर व्यवस्था जोगाउन लाग्नुपर्ने देखिन्छ । व्यवस्था रह्यो भने मात्र सबैको राजनीतिक भविष्य सुनिश्चित हुने हो । नभुलांै, ग्राउन्ड रहे मात्र फुटबल खेल्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 621 times, 1 visits today)

epaper

ताजा समाचार

कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कैलाली सुदूरपश्चिममै पहिलो, बझाङ दोस्रो