काठमाडौं । नेपाली कांग्रेसले सरकारले जनअनुमोदनको आधार गुमाइसकेको दाबी गरेको छ । अनेक छलछाम र प्रपञ्च रचेर प्रतिनिधि सभा विघटन गरेको सरकारले वैधनिकता गुमाइसकेको कांग्रेसको आरोप छ ।
सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेट’bout सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले ‘सरकारले जनअनुमोदनको आधार गुमाएको’ निष्कर्ष निकालेको हो ।
प्रत्येक नागरिकको टाउकोमा ५५ हजार ऋण
कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका नेता डा. मीनेन्द्र रिजालले संसदीय दल कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै जनअनुमोदन गुमाइसकेको सरकारले बजेटमार्फत ‘जनताको आँखामा छारो हाल्न खोजेको’ आरोप लगाए । ‘यो सरकारले निर्वाचनमार्फत साढे तीन वर्षअघि आफूले प्राप्त गरेको जनअनुमोदनको आधार छिन्नभिन्न पारिसकेको छ,’ उनले भने, ‘तैपनि जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने मनोकांक्षाबाट सरकार ग्रसित छ भन्ने ठोस प्रमाण बजेट वक्तव्यले प्रस्तुत गरेको छ ।’
कांग्रेसले कोरोना महामारीबाट सबै क्षेत्र आक्रान्त भएको बेला बजेटले ‘कुनै पनि क्षेत्रलाई आशा जगाउन नसकेको’ ठहरसमेत गरेको छ । विपद् परिस्थितिमा सरकारले कोभिड रोकथाम, नियन्त्रण र भरपर्दो उपचार कार्ययोजना ल्याउन नसकेको कांग्रेसले औंल्याएको छ ।
‘कोरोना कहरबाट प्रताडित आफन्तजन गुमाएका, आफैं संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहीनता र राजनीतिक दाउपेच, खिचातानीबाट आजित र निराश नागरिकबीच बजेटले कुनै पनि आशा जागृत गर्न सकेको छैन,’ कांग्रेसले भनेको छ ।
आगामी आर्थिक वर्षमा प्रक्षेपित चालू खर्च घट्ने आधार नदेखिएको भन्दै कांग्रेसले परिणामस्वरूप, पुँजीगत निर्माणका लागि आवश्यक रकम जोहो गर्न सम्भव नहुनेसमेत पत्रकार सम्मेलनमार्फत उल्लेख गरेको छ । प्रत्येक नागरिकमाथि परेको ऋणभार झन्डै ५५ हजार पुग्न थालेको कांग्रेसको विश्लेषण छ ।
त्यस्तै, ‘भ्रमको खेती गर्ने उद्देश्यसाथ बजेटमा प्रस्तुत गरिएका योजना कार्यान्वयन सम्भव नभएको र नागरिक थाप्लोमाथिको ऋणभार अझ बढ्ने निश्चित रहेको’ कांंग्रेसको जिकिर छ । महँगी र बेरोजगारी बढ्ने निश्चित रहेको पनि उल्लेख गरिएको छ ।
कांग्रेसले प्रतिनिधि सभा विघटन कदमको वैधानिकता सर्वोच्च अदालतमा परीक्षण भइरहेको भनेको छ । २३ फागुन २०७७ पछि कोरोनाविरुद्धको पहिलो खोप लगाएका नागरिकले दोस्रो लगाउन नपाउने परिस्थिति निर्माण भएको भन्दै कांग्रेसले तत्काल खोप व्यवस्था गर्न आग्रह गरेको छ ।
कांग्रेसले राष्ट्रपतिले विभिन्न देशका राष्ट्रपतिलाई खोप माग्दै पठाएको पत्र’bout पनि आपत्ति जनाएको छ । ‘कुनै कूटनीतिक गृहकार्य र परिश्रमबिना जतासुकै पत्र पठाएकै भरमा खोप जोहो हुन्छ भन्ने सोच सरकारद्वारा प्रदर्शित अनुत्तरदायी मनोवृत्तिको शृंखलामा थप अर्को कडी हो,’ पत्रकार सम्मेलमार्फत कांग्रेसले भनेको छ ।
कोरोना पहिलो लहरले थप १२ लाख नेपालीलाई गरिबीको रेखामुनि धकेलेको, करिब १० लाख र विदेशमा कार्यरत साढे ६ लाख नेपाली रोजगारी गुमाउन बाध्य भएको, कोरोना दोस्रो लहर र खोप उचित व्यवस्थापन हुन नसकेको र कोरोनाका कारण सम्भावित थप लहरले नागरिक जीवन अझ दुःखद बन्ने डर रहेकोतर्फ कांगे्रसले सचेत गराएको छ ।






