काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । यसअघिको पिक एन्ड चुजबाट गरिएको इजलाशको व्यापक विरोध भएपछि प्रधानन्यायाधीश राणा प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन गर्न सहमति भएका हुन् । एक साताभित्र अर्काे संवैधानिक आयोग गठन गरिने भएको छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि संसद विघटनविरुद्ध रिट दिने निवेदकका कानून व्यवसायीले प्रश्न उठाएपछि उनीहरु इजलाशबाट अलग हुन्छन् कि हुँदैनन् भन्ने व्यापक चासो थियो । उनीहरुले आफूखुसी इजलाश छाड्न नमानेपछि प्रधानन्यायाधीश राणामाथि पनि इजलाश पुनर्गठनमा चर्काे दबाब परेको थियो । त्यस क्रममा प्रधानन्यायाधीश राणा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच मंगलबार भएको छलफलका क्रममा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका हुन् ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यका अनुसार, भेटमा संवैधानिक इजलासको नियममै आवश्यकता अनुसार परिर्वतन गरी सिनियारिटीका आधारमा संवैधानिक इजलास गठन गर्ने र यसरी गठन गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण बस्न नसक्ने भयो भने कारणसहित नबस्ने नोटिस गरेपछि त्यसभन्दा तल्ला वरिष्ठतामा जो छ, उसलाई राखेर बेञ्च गठन गर्न प्रधानन्यायाधीश राणा सहमत भएका छन् । एक साताभित्रै संशोधन प्रस्ताव ल्याएर मात्र संवैधानिक विवाद अगाडि बढाइनेछ ।






