नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा आर्थिक वर्ष २०७७÷७८ को तुलनामा वित्तीय हस्तान्तरण १५.७ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ३३ करोड पुगेको गर्वसाथ प्रस्तुत गरे । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण बढदै गएको राम्रो हो कि प्रदेश र स्थानीय तहमा राजस्व संकलन बढदै गएकाले संघीय अनुदान घटदै गएको राम्रो हो ? निक्यौल हुन जरुरी भएको छ । नेपालको संघीय शासन प्रणालीमा सरकारका तीन तह संघ, प्रदेश र स्थानीय तह छन् । तीन तहका सरकारले संविधान र संविधानअनुरूप बनेका कानुनको अधीनमा रही राज्यशक्तिको प्रयोग गर्छन् । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । संविधानले संघीय इकाइबीच जिम्मेवारी, स्रोतसाधन, प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धका आधारमा विकास र जनकल्याण विस्तार गर्ने राजनीतिक नीति लिएको छ । यसकारण संघ, प्रदेश र स्थानीय तह मिलेर देशको विकास र जनकल्याण गर्नु उनीहरूको कर्तव्य रहेको छ ।
प्रदेश र स्थानीय तहहरू भौगोलिक तथा जनसंख्याका आधारमा साना र ठूला छन् । विकास र आर्थिक अवस्था पनि असमान छ तर राजनीतिक र आर्थिक अधिकारका दृष्टिमा प्रदेशहरू समान छन् र स्थानीय तह पनि । संविधानले सरकारका तहबीच जिम्मेवारी र राज्यशक्तिको बाँडफाँट स्पष्ट रूपमा गरेको छ । कतिपय अधिकार साझा अधिकारका रूपमा रहेका पनि छन् । संघले सम्पादन गर्ने कार्य जिम्मेवारी र अधिकार, प्रदेशले प्रदेशभित्र सम्पादन गर्ने कार्य जिम्मेवारी र अधिकार, स्थानीय निकायहरूले स्थानीय तहमा सम्पादन गर्ने कार्य जिम्मेवारी र अधिकार तथा संघ र प्रदेश तथा संघ, प्रदेश र स्थानीय तह मिलेर गर्नुपर्ने कार्यहरू समेत स्पष्ट छन् । संघ, प्रदेश स्थानीय तहको कार्य जिम्मेवारी संविधान, संघीय कानुन, प्रदेश कानुन तथा गाउँपालिका र नगरपालिकाको कानुनबमोजिम सम्पादन हुने व्यवस्था संविधानमा रहेको छ ।
प्रदेश र स्थानीय तहको संघीय बजेटमा कति बाँडफाँट हुन्छ भनेर आश गर्ने प्रवृतिले समग्र सोच र विकास परनिर्भरमुखी हुन्छ
विकास, जनकल्याण र समृद्धि प्राप्त गर्नु सबै तहका सरकारको साझा उद्देश्य हो । फरकफरक विकास अवस्था र स्रोतसाधन भएकाले प्रदेश र स्थानीय सरकारको विकास र जनसुविधा पनि फरकफरक हुन सक्छ । संघ, प्रदेश स्थानीय तहको कार्य जिम्मेवारी सम्पादन गर्न स्रोतसाधनको आवश्यकता पर्छ । पुँजी, श्रम, भूमि र उद्यमका अलावा ज्ञान, समय, नेटवर्क, सूचना, रेडियो फ्रिक्वेन्सी, वन र वित्त उत्पादनका स्रोतसाधन हुन् । संघीय शासन प्रणालीमा स्रोतसाधनमाथिको अधिकार, तीनको प्रयोग र उपयोगका सम्बन्धमा केही स्थापित विश्वव्यापी सिद्धान्त छन् ।
देशको समग्र विकास सन्तुलित बनाउने र सम्पूर्ण जनतालाई समान सेवासुविधा प्रदान गर्ने दायित्व संघको हुन्छ । रणनीतिक महव राख्ने नदीको पानी र रेडियो फ्रिक्वेन्सी, गतिशील प्रवृतिका व्यक्तिगत र संस्थागत आयकर, आयात वा उत्पादन भई देशभर किनबेच हुने सेवा र वस्तुमा लाग्ने भ्याटकर तथा एक ठाउँमा उत्पादन भएर देशभर नै बिक्रीवितरण हुने वस्तुमा लाग्ने बिक्री तथा अन्तःशुल्क, जमिनमुनि रहेको खानी तथा दुई वा धेरै प्रदेशमा फैलिएको राष्ट्रिय वन तथा जलाधारजस्ता प्राकृतिक स्रोत पनि संघको जिम्मामा राखिएको हुन्छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आय कर तथा पारिश्रमिक करलाई संघको अधिकार क्षेत्रमा, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयमा कर प्रदेश सरकार र सम्पति कर, घर वहाल कर, मालपोत तथा व्यवसाय कर स्थानीय तहको अधिकारमा रहने व्यवस्था गरेको छ । यसकारण संघसँग आर्थिक स्रोत संकलनको दायरा र क्षेत्र फराकिलो हुने भएकाले संघको संचित कोषमा धेरै रकम जम्मा भएको हुन्छ ।
प्रदेश सरकार र स्थानीय तहले उठाउन पाउने कर तथा शुल्कमा खासै फरक छैन । प्रदेश र स्थानीय तहले स्थिर पुँजीमा लाग्ने सम्पति कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आय कर, भूमिकर, स्थानीय कर, जमिनमाथि रहेका ढुंगा बालुवा माटो उपयोग शुल्क तथा व्यवसाय कर उठाउने गर्छन् । नेपालको अर्थतन्त्र पूर्णरूपमा मौद्रीकरण नभएको र अझै पनि ग्रामीण तथा सहरी अर्थतन्त्र क्रियाशील भएकाले ग्रामीण क्षेत्रमा कर संकलन कठिन हुने गरेको छ । यसकारण प्रदेश र स्थानीय तहको सञ्चित कोषमा ठूलो रकम जम्मा हुन सक्दैन् । परिणामस्वरूप, सरकारका तह संघ, प्रदेश र स्थानीय तहबीच ठाडो वित्तीय असन्तुलन (भर्टिकल फिस्कल एम्ब्यालेन्स) हुने गर्छ । साथै, प्रदेश प्रदेश र स्थानीय तह स्थानीय तहबीच पनि विकास अवस्था, करको दर, कर आधार र कर संकलनको क्षमताको कारणले समतल वित्तीय असन्तुलन (होरिजेन्टल फिस्कल एम्ब्यालेन्स) पनि आउने गर्छ ।
विकासका लागि संघीय शासन प्रणालीमा स्रोतसाधन प्राप्त गर्न र अधिकार क्षेत्र विस्तार गर्न सरकारका तहबीच प्रतिस्पर्धा हुनेगर्छ । यसर्थ, सरकारका तहबीच शासन सञ्चालन प्रक्रिया र विधि, विकास नीति, विकासका प्राथमिकता, कराधान, सर्वसञ्चित कोषबाट राजस्वको बाँडफाँट, प्राकृतिक स्रोतको प्रतिफल बाँडफाँट र सार्वजनिक सेवा सुविधाको वितरणलाई वैज्ञानिक, जनमुखी र समान बनाउनु पर्छ । वित्तीय संघीयता देशको आर्थिक विकास तल्लो तहदेखि गर्न तल्ला निकायलाई वित्तीय रूपमा सक्षम बनाउने नीति र प्रक्रिया हो । संघबाट प्रदेश र स्थानीय तहलाई, प्रदेशबाट स्थानीय तहलाई विभिन्न विधि र प्रक्रियामा आधारित भई अन्तरसरकार वित्तीय सहयोग हस्तान्तरण (वित्तीय ट्रान्सफर) गर्ने एउटा प्रक्रियालाई समानीकरण अनुदान (इक्विलाइजेसन ग्रान्ट) भनिन्छ । समानीकरण अनुदानले संघीय इकाइलाई आर्थिक रूपले समान बनाउने उद्देश्य लिएको हुन्छ । समानीकरण अनुदानका साथै ससर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र बल्क अनुदान पनि वित्तीय हस्तान्तरणका विधि हुन् ।
समानीकरण अनुदानको उद्देश्य देश र जनताको समान सन्तुलित विकास गर्ने, सामाजिक समानता कायम गर्ने, समग्र आर्थिक स्थायित्व कायम गर्ने र जनतालाई राष्ट्रिय स्टयान्र्डडअनुरूप सेवा प्रवाह गर्नु हो । समानीकरण अनुदान सरकारका तहमा पाइने भर्टिकल र होरिजेन्टल वित्तीय असन्तुलन कम गर्न उपयोग गरिन्छ । नेपाल सरकारले प्रदेश र स्थानीय तहको खर्चको आवश्यकता र राजस्व संकलनको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको छ । अनुदान केन्द्रीय नियन्त्रणको एक कडी हो । समानीकरण अनुदानको बाँडफाँट गर्दा जनसंख्या, भूगोल र विकास अवस्थालाई मुख्य आधार बनाउने अन्तर्राष्ट्रिय चलन हो । समानीकरण अनुदान निसर्त र ससर्त गरी दुई किसिमको हुन्छ । निसर्त दिइने अनुदान खासगरी सम्बन्धित सरकारको कानुनी जिम्मेवारी पूरा गर्ने विषयसँग आबद्ध हुन्छ । निःसर्त अनुदान बल्क अनुदानका रूपमा प्राप्त हुन्छ र प्राप्त गर्ने सरकार सो ट्रान्सफर भएको रकम आप्mना वार्षिक कार्यक्रममा बाँडफाँट गर्न स्वतन्त्र हुन्छ । तर, ससर्त अनुदान, विशेष अनुदान दाता सरकारको प्राथमिकता अर्थात् संघ वा प्रदेश सरकारका राष्ट्रिय वा प्रादेशिक प्राथमिकतामा खर्च गर्न दिइएको हुन्छ । ससर्त अनुदान त केन्द्रीकरणको सुधारिएको रूप मात्र हो । ससर्त अनुदान खर्च गर्न स्थानीय सरकार स्वतन्त्र हँुदैनन् । ससर्त अनुदानलाई स्थानीय तथा प्रदेश सरकारले कम रुचाउँछन् भने संघीय सरकार बढी महत्व दिने गर्छ ।
वित्तीय आत्मनिर्भरता वृृद्धि गर्नु भनेकोे आर्थिक स्वतन्त्रता हासिल गर्नु हो
समानीकरण अनुदान देशको समान विकास र समान जनकल्याण गर्ने सशक्त रणनीति हो । यस अनुदानले असक्षम प्रदेश र स्थानीय तहलाई विकास कार्यक्रम कार्यान्वयन गर्न र जनतालाई सेवा प्रवाह गर्न सक्षम बनाउँछ । संघका कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्न सघाउँछ । यसकारण समानीकरण अनुदानको व्यवस्थापन कुशलतापूर्वक हुनुपर्छ । नेपालको संविधानले समानीकरणलगायत सबै अनुदानको व्यवस्थापन गर्न एक संवैधानिक आयोग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको छ । आयोगले सरकारका तहबीच राजस्वको समान वितरणको विस्तृत आधार, ढाँचा र सूत्र निर्माण गर्ने, समानीकरणलगायत सबै अनुदान सिफारिस गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा सरकारका तीनै तहको लगानी र प्रतिफलको हिस्सा निर्धारणका लागि आधार तय गरी सिफरिस गर्ने तथा प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश प्रदेश तथा प्रदेश र स्थानीय तह तथा स्थानीय तहबीच उत्पन्न हुन सक्ने सम्भावित विवाद निवारण गर्न सरकारलाई सुझाव दिने काम गर्छ ।
संविधानले सरकारका तहबीच जिम्मेवारी र अधिकारको समष्टि रूपमा बाँडफाँड गरे तापनि कतिपय जिम्मेवारी कुन सरकारको हो भन्ने स्पष्ट छैन । जिम्मेवारीहरू अन्तरजेलित र अन्तरनिर्भर रहेका छन् । कतिपय जिम्मेवारी संघीय कानूनको आधारमा गरिनुपर्ने पनि छन् । उपलब्ध सीमित स्रोत साधनको महत्तम उपयोग गर्न र अपेक्षित प्रतिफल हासिल गर्न संविधानमा उल्लेखित अधिकार र जिम्मेवारी सूक्ष्म रूपमा अध्ययन विश्लेषण गरी सम्पादनका लागि आवश्यक कानुन निर्माण र विधि स्पष्ट गर्नुपर्छ । सरकारका तहबीच सहयोगात्मक सहकारितामूलक सम्बन्धले मात्र संघीयताको सफल कार्यान्वयन सम्भव हुने भएकाले देश र जनतामुखी विकास गर्न सरकारबीच स्रोत साधनको बाँडफाँटमा आपसी सुझबुझ, समन्वय र सहयोग हुनुपर्छ ।
अनुदान सरकारको बजेट क्षमता सुदृढ बनाउने रणनीति हो । संघीय कानुनका आधारमा कार्यसम्पादन गर्नु अन्तरनिर्भरतालाई बढावा दिने कार्य हो । तर, संघीय मपार्इंत्व बढदै जानु राम्रो होइन । यसैगरी, संघको सञ्चित कोषबाट प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण बढदै जानु स्रोत साधनको बाँडफाँटको दृष्टिले राम्रो हो । तर, अनुदान वितरण व्यवस्थाले एकातर्फ प्रदेश र स्थानीय तहमा डिपेन्डेन्सी सिन्ड्रोम बढदै जान्छ भने संघीय स्वार्थको विस्तार पनि हुँदै जान्छ । प्रदेश र स्थानीय तह संघका एक्टेन्डेड ह्यान्ड बन्दै जान्छन् जुन केन्द्रीकरणकै चरित्र हो । अर्कोतर्फ प्रदेश र स्थानीय तहमा संघीय बजेटमा कति बाँडफाँट हुन्छ भनेर आश गर्ने प्रवृति विकास हँुदै जानाले उनीहरूको समग्र सोच र विकास परनिर्भरमुखी हुन्छ । वित्तीय आत्मनिर्भरता वृृद्धि गर्नु भनेकोे आर्थिक स्वतन्त्रता हासिल गर्नु हो । यसकारण प्रदेश र स्थानीय तहले संघीय अनुदानमा आधारित हुनुभन्दा आफ्नै राजस्व क्षमता बढाई आत्मनिर्भर हुँदै जानु ।






