गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताइन् ।

कोभिड–१९ विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, संक्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिडका कारण पर्यटन र कृषिमा परेको समस्या सम्बोधन गरिने, सरूवा रोग अस्पताल प्रभावकारी बनाउने र ५० शैश्याका सबै अस्पतालमा आँखा उपचारको व्यवस्था गरिने र महिलाको स्वास्थ्य समस्याको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

कोभिड–१९ संक्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण, सामग्री तथा औषधिको व्यवस्था गरिने, कोभिड–१९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई नगद राहतको व्यवस्था गरिने, संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका आमनागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइने भएको छ ।

कोभिड–१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्व्याजी कर्जा उपलब्ध गराउन सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने, महामारीको नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीहरुलाई कोरोना फ्रन्टीयर सर्वोत्कृष्ट सेवा पुरस्कार व्यवस्था गरिने भएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताललाई सबैप्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पतालको रुपमा विकास गरिने, अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवन रक्षाको लागि एयर लिफ्टिङ सेवालाई निरन्तरता दिइने, जटिल अवस्थामा रहेका गर्भवतीको जीवन रक्षाका लागि प्रदेशका सबै अस्पतालमा मातृ प्रतीक्षा कक्ष सपना गर्दै लगिने भएको छ ।

यसैगरी, प्रदेश शिक्षा नीति, कानुन तथा मापदण्ड निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने भएको छ । गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने, चिकित्सा विज्ञानसूचना प्रविधि तथा सम्बन्धित विषयको अध्ययन–अध्यापन शुरु गरिने भएको छ ।

राजमार्गमा हुने अत्यधिक सडक दुर्घटना समेतलाइ विचार गरी नवलपुर लगायतका स्थानमा ट्रमा सेन्टरको स्थापना गरिने भएको छ । जि.पी. कोईराला स्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गरिने भएको छ । प्रदेश खेलकुद परिषदको भौतिक पूर्वाधार निर्माण गरिने, राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तह स्तरका र मैत्रीपूर्ण खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने भएको छ । यस्तै, प्रशिक्षक तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा