ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार ती स्वास्थ्य सामग्री गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनलाई हस्तान्तरण गरिएको हो ।
महर्जनका अनुसार स्वास्थ्य सामग्री नगरपालिकाद्वारा स्थापित कोभिड–१९ आइसोलेसन वार्डका लागि प्रयोगमा ल्याइने छ ।सहयोग प्राप्त स्वास्थ्य सामग्रीमा मास्क, एक्जामिनेसन ग्लोब, ट्वाइलेट ब्रस, डस्टबिन, फेससिल्ड, निसंक्रमण पदार्थ, ह्यान्ड वास, सेनिटाइजरलगायत छन् ।
यसअघि बुधबार मात्रै चापागाउँस्थित बज्रबाराही मावि परिसरमा रेडक्रस इमर्जेन्सी क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ दोस्रो लहरक्रममा संक्रमितबाहेक अन्य बिरामी उपचार मध्यनजर गर्दै रेडक्रस ललितपुर जिल्ला शाखाको समन्वयमा सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवा भोलि शनिबारसम्म जारी रहने जनाइएको छ ।






