रेडियोसँग मितेरी

मैले जान्ने भएपछि सुनेको पहिलो गीत स्थानीय फागुगीत हो । गाउँमा बेलाबेलामा भजन गाउने चलन थियो । खैजडी र मुजुराको तालसंगीतमा भजन सुन्दा आनन्द लाग्थ्यो । छिमेकी किशोर केटाको विवाहमा जन्त जान नपाएको दुःखमा कारुणिक विलाप गर्दा राति आयोजना हुने जिउँतीमा जाने अवसर मिल्थ्यो । महिला मात्र उपस्थित हुन पाइने रतेउलीमा चार÷पाँच वर्षका केटाहरू अरू पनि हुने गर्थे । त्यस्ता जिउँती गीतहरू अहिले पनि मुखाग्र छन् तर तिनलाई यहाँ लेख्न मिल्दैन ।

बिहानै उठेर बाले भागवतका श्लोक र भजन गाउन थाल्नुहुन्थ्यो । ‘को धर्म ः सर्वधर्माणाम् भवत ः परमोमत ः किम् जपन्मुच्येते जन्तुर्जन्मसंसारबन्धनात् । शुक्लाम्बरधरम् विष्णु… । मैले आफैंले पाठ गरेको पहिलो श्लोक थियो ‘त्वमेव मातास्च पिताः त्वमेवः ।’ अक्षर फुटाल्न सक्ने भएपछि स्वस्थानी कथा वाचन गर्नुअघि ‘यम् ब्रह्मा वरुणेन्द्र रुद्र मरुत ।’ र वाचनपछि गाइने ‘या कुन्देन्दु तुशारहारधवलाया… श्वेत’ पाठ गरियो , जो अझै मुखाग्र छ ।

बुटवल–तानसेन मोटरबाटो नबन्दासम्म हाम्रो गाउँ खस्यौली हुँदै ढाक्रे र लाहुरेको लर्को लाग्थ्यो । भरियालाई बाकस बोकाएर छिटो घर पुग्न व्याकुल मदमस्त लाहुरेहरू ‘अच्छा लेकिन, जल्दी जल्दी चलो ढाक्रे दाइ’ भन्दै हिन्दी गीत गुनगुनाउँथे । लाहुरेको काँधमा लरक्क झुन्डिएको रेडियो गाउँथ्यो, ‘आबारा हुँ आबारा हुँ, या गर्दिसमे हुँ आसमानका तारा हुँ ।’

उहिले स्वाभाविक रूपमा अरू सम्पत्तिमाथि जस्तै रेडियोको भोगाधिकार पनि घरमुली पुरुषकै अधीनमा रहन्थ्यो

हाम्रा दर्जी काका साह्रै सुन्दर र सुकिलो हुनुहुन्थ्यो । चाडबाडका बखत सिलाउन दिएका लुगाको ताकिता गर्न काकाकोमा गइरहनुपथ्र्योे । किलामा झुन्ड्याएर राखेको रेडियो गाउँथ्यो, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।’ गीत सुनेर मेरो समग्र शरीर पुलकित र रोमाञ्चित हुन्थ्यो । क्रमैले मीठा गीत र बेलाबेलामा शिव बिडीको संगीतमय विज्ञापन सुन्न पाउँदा विलम्ब भएको पत्तै हुँदैनथ्यो । लाग्दथ्यो, रेडियोभन्दा रसिलो र स्वादिष्ट कुरा यस संसारमा अर्को कुनै छैन । दर्जी काका रेडियोको गीत र संगीतमा आफैंलाई लिन गराउनुहुन्थ्यो । मगनमस्त काका सन्त कबिरले तान चलाउँदा झैं आनन्दी भएर सिलाइ गर्ने कलमा खुट्टा चालेको प्रस्ट देखिन्थ्यो । यस्तो प्रतीत हुन्थ्यो, काका रेडियोसँग मितेरी लाउँदै हुनुहुन्छ । ‘नमान लाज यस्तरी, यता उता नशा छरौं, मीठामीठा कुरा गरौं, के हामी एक अर्काको नगिचमै जिऔं मरौं ।’

साहुजीको कपडा दुकानभित्र यस्ता सुमधुर गीत सुनिन्थे मानौं रेडियोले बटुवालाई ‘यता आऊ यतै रमाइलो छ’ भनेर बोलाइरहेछ । ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउँला ।’ बटुवा दुकानभित्र पसे । साहुजीले रेडियो निभाएर भने, ‘के चाहियो बाजे ? कमेज, सुरुवाल, धरो, गुनियाँ सबै छ,’ बटुवाले यताउता चारैतिर हेरेर भने, ‘नानी खै त ?’ ‘साहुजीले को नानी ?’ भनेर सोधेका मात्र थिए बटुवाले भने, ‘बैंस जान लागेकी नानी नि यसो कुरा गर्न पाए मन मिल्छ कि ? ‘साहुजीले रेडियोको सुई बटारे ।’ ‘कालीपारे दाइ कति राम्रो, ढाका टोपी काँधैमा गलबन्दी’ बटुवाले आफ्नो पहिरन र रूपलाई नियालेर भने ‘ए काली पारेलाई पो रहेछ ।’

रेडियो आविष्कार गर्ने मार्कोनी’bout थाहा थिएन । रेडियोको मूल्य थाहा थिएन । सन् १९२० देखि युरोप, अमेरिका र जापानमा प्रसिद्धि कमाएको संचारको सर्वोेपरि साधन रेडियोलाई सन् १९५० को दशकमा टेलिभिजनले विस्थापन गर्दै थियो । यता हाम्रो देशमा भने रेडियो सुन्नु त के देख्न पनि नपाएका लाखौं थिए । मेरो घरमा राजा महेन्द्रको देहान्त भएको वर्ष मात्र रेडियो भित्रियो । रेडियो ऐन, २०१४ अनुसार बजाउन प्रयोग गरिने रेडियोको समेत आवश्यक दस्तुर तिरेर लाइसेन्स लिनुपथ्र्योे ।

गाउँमा विस्तारै रेडियो राख्नेहरूको संख्या बाक्लो हुँदै गयो । स्वाभाविक रूपमा अरू सम्पत्तिमाथि जस्तै रेडियोको भोगाधिकार पनि घरमुली पुरुषकै अधीनमा रहन्थ्यो । रूखमा चढेर घाँस झार्दा, गाईबाख्रा चराउन जाँदा, ससुराली जाँदा, जन्त जाँदा र कोदो रोप्दा पनि रेडियो काँधमै हुन्थ्यो । रेडियोले विस्तारै गाउँले जीवनलाई सचेत र सूचित बनायो । आफ्नो घरमा रेडियो नहुनेहरू पनि रेडियो हुनेको घरमा गएर समाचार सुन्दथे । हिन्दुस्तानतिर काम गर्ने र पेन्सन थाप्नेहरू अल इन्डिया रेडियो सुन्थे । पढे लेखेका शिक्षकहरू बीबीसी सुन्थे । हिन्दी गीतका पारखीहरू बिनाका गीतमाला र अल इन्डिया रेडियोको उर्दू सर्विस सुन्थे ।

एक जना रसिक लाहुरे तीन वर्षसम्म कडा ड्युटी गरी ‘छे महिने कि छुट्टी’ आएछन् । रेडियो सुनेका तर छुन नपाएका मनुवा । सुनौली छिर्नेबित्तिकै रेडियोको रहर लागिहाल्यो । त्यसबखत यस भेकमा पोखरा र भैरहवामा मात्र रेडियो किन्न पाइन्थ्यो । लाहुरेले भैरहवामा तीन ब्यान्डको नेसनल प्यानासोनिक किने । जाँचबुझ गरी खास्साले बजाएर मात्र पैसा तिरे । साहुजीले कतै नठोकाउनुहोला, जतनले राख्नुहोला, नभिजाउनुहोला र केटाकेटीलाई नदिनुहोला भनी सम्झाएर रेडियो प्याक गरिदिए । बाटाभरि सुन्न मन त लागेको थियो तर घरमा गएर सबैको अगाडि बजाउनुपर्ला भनेर प्याक नखोलेरै घर पुगे । लाहुरेले ‘अच्छा ल अब रेडियो सुनम्’ भनेर सुई बटारे । किन्तु रेडियो बजेन । लाहुरे साह्रै दुःखी हुँदै भैरहवा रेडियो पसलमा पुगे । रेडियो बिग्रेको थिएन, साहुजीले प्याक गर्ने बेलामा ब्याट्री उल्टो राखेका रहेछन् ।

जीवनको उर्वर समय सदुपयोग गर्न प्रेरक भूमिका खेल्ने रेडियोसँग सुमधुर र मादक प्रेमसम्बन्ध गाँसिन पुग्यो

एसएलसी सकेर कलेज पढ्न थालेपछि रेडियो सुन्न पाइएन । घरको रेडियो उठाएर ल्याउन पनि मिलेन । ३५÷३६ सालतिर तीन ब्यान्डको नेसनल प्यानासोनिक रेडियोको साढे ७ सय पथ्र्यो भने दुई ब्यान्डको साढे ६ सय जति । त्यस बखत अधिकृत कर्मचारीको तलब पाँच सय र नासुको ३ सयको हाराहारी हुँदो हो । तानसेनमा महिनाको सवा सयमा होटेलमा महिनावारी खान पाइन्थ्यो । सन्तोष टुरिङ सिनेमा हलमा मोहोर रुपियाँमा सिनेमा हेर्न पाइन्थ्यो । २०३२ सालमा जीवनमा पहिलोपल्ट एक मोहोर तिरेर मनको बाँध हेरेको थिएँ । फूलको थुंगा बहेर गयो र कस्तुरी हो वास आउँछ भन्छन् बोलको गीतमा दर्शकहरू मन्त्रमुग्ध हुन्थे ।

सिनेमा टाढाको र क्षणिक मनोरञ्जनको साधन मात्र थियो । सुसूचित हुन र आफ्नो तरिकाले मनोरञ्जन लिन रेडियो नै सजिलो र लोकप्रिय साधन थियो । मलाई रेडियोको रहरले गाँज्नसम्म गाँज्यो तर त्यत्रो पैसा कहाँबाट पाउनु ? मैले थोरै थोरै गर्दै पैसा जोगाउँदै गएँ । ३६ सालको जेठमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । अबको झन्डै एक वर्षभरि धेरै राजनीतिक गतिविधि हुने सुनिश्चित थियो । राजनीतिशास्त्रको विद्यार्थी भएको हुँदा समसामयिक गतिविधि’bout जानकार हुनु पनि उत्तिकै जरुरी थियो । संयोगले त्रिभुवन विश्वविद्यालयबाट १ हजार छात्रवृत्ति प्राप्त भएको हुँदा मैले ६ सय हालेर डेढ वर्ष पुरानो दुई ब्यान्डको रेडियो लिएँ ।

३७ सालको वैशाख २० गते बहुदलीय शासनप्रणाली या सुधारिएको प्रजातान्त्रिक पञ्चायत प्रणाली ? भन्ने विकल्पमा जनमतसंग्रह भयो । जेठको एक गतेतिर त्यही रेडियोबाट बहुदलीय पद्धति पराजित भएको समाचार सुनियो । मलाई त्यसैबेला महसुस भयो, राजाले लहैलहैमा लागी बहुदलीय पद्धतिलाई हराउन भूमिका खेलेर राजसंस्थाको आयु छोट्याउने काम गरे ।

आफ्नै पूर्ण स्वामित्वमा रहेको रेडियोसँग मेरो ‘लभ’ प¥यो । त्यो लभले मेरो शैक्षिक जीवनमा कायापलट गरिदियो । बिहान सबेरै जय नेपालको उद्धोषसँगै ‘जय शिव शंकर शम्भो जय गिरिजाधीश’बाट रेडियो नेपाल सुरु हुन्थ्यो । त्यसबेला राजा, पुलिस, रेडियो नेपाल र कांग्रेस गरी चार थरीले ‘जय नेपाल’ भन्थे । तर, जनमतमा हार बेहोरेपछि ‘कांग्र्रेसी जय नेपाल’ फेरि प्रतिबन्धमा प-यो ।

रेडियो नेपाल, अल इन्डिया रेडियो, रेडियो सिलोनको बिनाका गीतमालामा अमीन सयानीको ‘बहनो और’को जादुगरी सम्बोधन र सुन्दर हिन्दी गीत, बेलुका बीबीसी हिन्दी सेवाका सबै कार्यक्रम, भ्वाइस अफ अमेरिकाको हिन्दी सेवा आदिले जति ज्ञान दिए, त्यति आजसम्म कुनै कुराले दिएको छैन । हिन्दुस्तानमा प्रकाशन हुने दिनमान, धर्मयुग, सरिता, मुक्ता, कादम्बिनी र मनोहरकहानियाँ पढ्ने प्रेरणा पनि रेडियोबाटै मिल्यो । बीबीसी हिन्दी सेवासँग केही वर्षसम्म दोहोरो पत्राचार पनि चल्यो । जीवनको उर्वर समय सदुपयोग गर्न प्रेरक भूमिका खेल्ने रेडियोसँग मेरो पनि त्यस्तै सुमधुर र मादक प्रेमसम्बन्ध गाँसिन पुग्यो, जस्तो ‘दर्जी काकाको’ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा