‘बहुदलीय शासन प्रणालीमा दलको शासनभन्दा बाहिर जान मिल्दैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार सरकारपक्षका कानुन व्यवसायीले बहुदलीय शासन प्रणालीमा दलभन्दा बाहिर जान नमिल्ने तर्क गरेका छन् । बहुदलीय शासन प्रणालीमा दलको शासनभन्दा बाहिर गएर सरकार गठन हुन नसक्ने तर्क राखेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दा

साथै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि बहुमतको आधार नदेखेकाले संसद विघटन स्वाभाविक भएको तर्क गरेका छन् । प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिमा निहित हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले पेस गरेको बहुमतको आधार उपयुक्त नदेखिएको सरकार पक्षका वकिलको जिकिर छ ।

बिहीबारको बहसका प्रधानमन्त्रीका निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्न एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको उनको तर्क थियो । एउटा दलभित्रको सदस्य भएपछि पार्टीको निर्णयविपरीत सांसद जान नसक्ने उनको दलील थियो ।

‘दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ’, वरिष्ठ अधिवक्ता महतोले भने, ‘आधार पनि कानुनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भनेर कहाँ पाइन्छ ? त्यसकारण राष्ट्रपतिलाई त्यो आधार उचित लागेन ।’ प्रधानमन्त्री बन्नका लागि दलले निर्णय गरेर मात्रै आफ्नो दाबी पेस गर्नुपर्ने उनको तर्क थियो ।

उनको सो तर्कसँग संवैधानिक इजलासको बेन्चबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सांसदले सही गरेर दिएपछि अर्को आधार चाहिएला र ? भनी प्रश्न गरे । जसको जवाफमा महतोले एउटा दलको सांसद मेरै समर्थनको हो भनेर गणना गन्न नमिल्ने बताए । यो बहुदलीय शासन प्रणाली हो । यहाँ दलको शासनभन्दा बाहिर गएर सरकार गठन गर्न संविधानमा समेत कतै उल्लेख नभएको वरिष्ठ अधिवक्ता महतोले जिकिर गरे ।

दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ, आधार पनि कानुनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भनेर कहाँ पाइन्छ ? त्यसकारण राष्ट्रपतिलाई त्यो आधार उचित नलागेको हो
– सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता

‘दलमा बसेर दलको निर्णय मान्नुपर्छ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्योभन्दा बाहिर जान सक्दैनन्,’ वरिष्ठ अधिवक्ता महतोले भने, ‘एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्को दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् ।’

प्रधानमन्त्रीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेलले राष्ट्रपतिलाई अदालतले परमादेश जारी गर्न नसक्ने जिकिर गरे । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाइयोस् भनी १ सय ४६ सांसदले दिएको निवेदनमा राष्ट्रपतिलाई विपक्षी नबनाइएकाले परमादेश जारी हुन नसक्ने खरेलको दाबी रहेको छ ।

त्यसपछि प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालतले परामदेश जारी ग¥यो भने के हुन्छ भनेर प्रश्न गरे । ‘अदालतले परमादेश ग¥यो भने राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ भन्न खोज्नु भएको हो ?,’ राणाले सोधे ।

‘नेपालको संविधान बहुलवादमा आधारित छ । यसले दलमा विश्वास राख्छ । २०४७ सालको संविधान २०६३ को अन्तरिम हुँदै २०७२ सम्म आइपुग्दा प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा धेरै कुरा परिवर्तन भएका छन्,’ खरेलले भने, ‘दुई वा दुईभन्दा बढी दलले समर्थन गरेको संसदीय दलको सदस्य प्रधानमन्त्री बन्ने संविधानमा उल्लेख छ ।’

नेपालको संविधान बहुलवादमा आधारित छ, यसले दलमा विश्वास राख्छ । २०४७ सालको संविधान २०६३ को अन्तरिम हुँदै २०७२ सम्म आइपुग्दा प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा धेरै कुरा परिवर्तन भएका छन्, दुई वा दुईभन्दा बढी दलले समर्थन गरेको संसदीय दलको सदस्य प्रधानमन्त्री बन्ने संविधानमा उल्लेख छ
अग्नि खरेल, पूर्वमहान्यायाधिवक्ता

केपी ओली संविधानको धारा ७६ उपधारा (२) हुँदै १ को प्रधानमन्त्री भएको खरेलले बताए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको र विश्वासको मत लिन नसक्ने देखिएको अवस्थामा प्रधानमन्त्री धारा ७६ को उपधारा (२) को अवसर दिइएको खरेलको भनाइ थियो । उनले भने, ‘बहुमत कायम गर्न नसक्ने, अविश्वासको प्रस्ताव पनि नल्याउने । त्यसैले ७६ का सबै उपधाराअन्तर्गत प्रधानमन्त्री बन्न केहीले पनि रोकेन । शेरबहादुर देउवा मलाई प्रधानमन्त्री बनाउनुप¥यो भनेर जानुभएको छ । विश्वासको मत नलिँदै ओली उपधारा ५ को प्रक्रियामा जान सक्नुहुन्छ ।’

बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता खरेलले ह्विप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने बताए । ‘ह्विप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाको दाबी अस्वीकार गर्नुभयो’, खरेलले भने ।

त्यसपछि प्रधानन्यायाधीश राणाले फेरि सोधे, ‘ह्विप लगाउनु अनिवार्य हो र ? एमालेले नलगाएको परिस्थितिमा के होला ?’ खरेलले जवाफमा भने, ह्विप त सांसदलाई अनुशासनमा राख्न लगाउने हो । ह्विपमाथि संविधानसभामा ठूलो बहस भएको छ । ह्विप दलको राइट हो ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा