अन्तरविरोध हलसहित एकता गर

नेकपा एमालेमा स्पष्ट दुई धार देखिएपछि सिर्जना भएको गतिरोध अन्त्य हुन सकेको छैन । बरु, यो नयाँनयाँ स्वरूप र प्रक्रियामा अघि बढिरहेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटित भई बन्न गएको एमाले र माओवादी केन्द्र पार्टीका हिसाबले दुई भिन्न धार र स्थानमा देखिए पनि एमाले आफैंमा एक ढिक्का भएर अघि बढ्न सकेको छैन । यसमा विभिन्न पक्षको कुण्ठा र अहंकारले काम गरेको छ ।

त्यसो त माओवादी केन्द्र पनि एक ढिक्का रहेन । एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई धार देखापरिरह्यो भने माओवादी केन्द्र स्पष्ट दुई धारमा देखिए पनि यसका प्रभावशाली नेता रामबहादुर थापा बादलसहितको पंक्ति नेकपा एमालेमा सामेल भयो । माओवादी केन्द्रमा एमालेमा जस्तो सिंगो पार्टी नै भिन्न सांगठनिक धारमा देखापरेन । तर, विभाजनको प्रभाव यसमा पनि देखापरिरह्यो । हाल सरकार सञ्चालन गरिरहेको नेकपा एमाले र यसका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव–खनाल समूहलाई सिंगो पार्टी एक ढिक्का बनाएर लैजान अनुरोध गरिरहेका छन् । उनको अनुरोधको आशय माधव–खनाल पक्षले पनि अस्वीकार गर्न सकेको छैन । तर, स्वीकार गरेको पनि देखिँदैन । यसले, एमालेमा दुविधा निम्त्याएको छ । विशेषगरी, असन्तुष्ट माधव समूहले उठाएका सबै माग संस्थापन पक्षले पूरा गरिदिँदासमेत एमाले पार्टी एक हुन नसक्नुले असन्तुष्ट समूह नै पार्टी फुटाउन उद्धत भएको हो किजस्तो देखिन्छ । यदि त्यसो हो भने त्यो उनीहरूका लागि आत्मघाती कदम हुने देखिन्छ ।

पार्टी एकताका लागि दुवै पक्षले एकअर्कालाई आह्वान पनि गरिरहने र आफ्ना क्रियाकलाप पनि समानान्तर रूपमा लगिरहने गरेकाले अझैं पनि पार्टी एक ढिक्का भएर अघि बढ्न समस्या रहिरहेको छ । योबीचमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशनको तिथि मिति घोषणासहित आयोजक समिति निर्माण गरेका थिए । आफूहरूबिना पार्टी महाधिवेशनको आयोजक समिति गठन गरी महाधिवेशनको तिथिमितिसमेत घोषणा गरेकोमा नेपाल–खनाल समूहले गम्भीर आपत्ति प्रकट गरेका थिए । यस विषयलाई लिएर दुई धारमा विभक्त एमालेभित्र शीतयुद्ध चलिरहेको छ । आफूले अहिलेसम्म गरेका काम र प्रक्रिया स्वीकार गरी एमालेमा फर्किनुपर्ने दाबी ओली पक्षको रहँदै आएको छ भने अर्काेतर्फ नेपाल–खनाल समूहले भने अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी’bout लिएका सबै निर्णय खारेज गरेर नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् । पछिल्लो समयमा आएर पार्टी अध्यक्ष ओलीले महाधिवेशन आयोजक समिति विघटन गरेर उनीहरूको मागलाई सम्बोधन गरिदिएका छन् तर नेपाल–खनाल समूहको शंकाका कारण फेरि एमालेको समस्या यथावत् देखिएको छ ।

पार्टी एक ढिक्का बनाउने मनशायसहित पार्टी अध्यक्ष तथा वरिष्ठ नेताहरू एकै ठाउँ बसेर आवश्यक कुराकानीसहित आगामी महाधिवेशनको तय गरिनु सबैभन्दा उपयुक्त हुनेछ । देशमा विद्यमान रहेको वर्तमान राजनीतिक अस्थिरताले सबैको टाउको दुखाइरहेको छ । त्यसमा पनि सत्ताधारी दलभित्र रहेको अविश्वास, खिचातानी, मतभेद र सांगठनिक विविधताले अस्थिरतालाई बल पुगेको छ । यो कुरालाई मनन गरी सत्ताधारी पार्टीले आफूभित्र रहेको अन्तर्विरोधलाई पर्ख र हेरको नीति अपनाउने होइन बरु त्यसलाई अग्रगामी गति दिनेतर्फ अघि बढाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा