कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् ।

यसै क्रममा निर्देशक अर्जुन घिमिरे (पाडे बा) र कुमार कट्टेल (जिग्री)कोे संयुक्त निर्देशनमा हरेक साता हिमालय टेलिभिजनबाट हास्य शृंखला सक्किगोनी प्रसारण गर्दै आएका छन् । यो हास्य शृंखला निषेधाज्ञा खुकुलो भएपछि हिमालय टेलिभिजनबाट प्रसारण हुन थालेको हो । यो शृंखलाका निर्देशकद्वय पाडे र जिग्रीका अनुसार यतिबेला कोरोना संक्रमणका कारण नेपाली निकै पीडामा छन् । सो पीडालाई केही मात्रामा भए पनि शान्त गर्न यो शृंखलाले सघाइरहेको छ ।

हरेक बिहीबार बेलुका ८ः४५ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो हास्य शृंखलामा अर्जुन घिमिरे, कुमार कट्टेल, दीपक आचार्य, कमलमणि नेपाल, सागर लम्साल बलेलगायतको मुख्य भूमिका रहेको छ । कोरोनाको महामारीपछि निषेधाज्ञामा यो शृंखला दुई महिना बन्द भएको थियो ।

यस्तै कान्तिपुर टेलिभिजनबाट विगत ९ वर्षदेखि साप्ताहिक रूपमा प्रस्तुत हुँदै आएको हास्य शृंखला हर्के हल्दारले पनि अहिलेको अवस्थामा मनोरञ्जन प्रदान गर्दै आएको यसका निर्देशक विष्णु सापकोटाको कथन छ ।

निषेधाज्ञाका बेला नयाँ शृंखला दिन नसकी घरमै कैदी जस्तो भएर बस्नु पर्दाका पीडा र छटपटी’bout व्याख्या गर्ने शब्द कलाकार तथा निर्देशक विष्णु सापकोटासँग छैन । अहिले पनि जनजीवन सामान्य हुन नसकेको बेला आफूहरूले सामाजिक दूरी कायम गर्दै यो हास्य शृंखला निर्माण गरेर दर्शकको पीडा भुलाउने काम गरेको यी निर्देशकको कथन छ ।

हास्य शृंखला हर्के हल्दारमा विष्णु सापकोटा, शिवहरि बैरागी, इन्द्रदोङ लामा, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मा, सरु दाहाल, अनिता कार्की, अनु रुवालीसहितको अभिनय यो शृंखलामा रहेको छ । समसामयिक हास्य शृंखलाका रूपमा परिचित हर्के हल्दारलाई विष्णु सापकोटा र इन्द्रदोङ लामाले निर्देशन गर्दै आएका छन् ।

यस्तै नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हास्य व्यंग्य टेलिशृंखला मेरीबास्सैले पनि अहिलेको अवस्थामा दर्शकलाई सक्दो मनोरञ्जन दिने प्रयास गरिरहेको यो शृंखलाको निर्माण पक्षको कथन छ । यो शृंखलालाई दमन रुपाखेतीले निर्देशन गर्दै आएका छन् । यो शृंखला हरेक शुक्रबार बेलुका ८ः४५ बजे नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको छ । मेरी बास्सैमा लक्ष्मी गिरी, सुरवीर पण्डित, दमन रुपाखेती, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, सुरज चापागाईं, पल्पसा डंगोल, जानुका पौडेल, निरु खड्कासहितको मुख्य भूमिका यसमा रहेको छ । अहिलेको अवस्थामा आफूहरूले यो शृंखलाबाट दर्शकलाई थोरै भए पनि मनोरञ्जन दिन सकेको दाबी यसका निर्देशक रुपाखेतीको छ ।

नेपाल टेलिभिजनबाटै प्रसारण हुँदै आएको अर्को हास्यप्रधान टेलिशृंखला हल्का रमाइलो हो । यो शृंखला पनि एक महिनाअघिबाट पुनः प्रसारण हुन थालेको हो । कोरोना संक्रमणको निषेधाज्ञापछि यो शृंखला पनि दुई महिनाका लागि बन्द भएको थियो । यो शृंखलालाई राजु बल्छी अर्थात् राजु पौडेल र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले निर्देशन गर्दै आएका छन् । यो शृंखलामा राजु पौडेल, बल्छी धुर्वे, शारदा गिरी, कृष्ण शिवाकोटी, शम्भु थापा, कमला रेग्मी, स्टु कार्की, अनिता बस्नेतसहितको मुख्य भूमिका रहेको छ ।

यी मात्र हैनन्, अहिले अन्य टेलिभिजन र युट्युब च्यानलबाट पनि थुप्रै हास्य शृंखला धमाधम प्रसारण हुँदै आएका छन् । यी सबैको उद्देश्य भनेकै अहिलेको अवस्थामा दर्शकलाई मनोरञ्जन दिनु रहेको यी शृंखलाका निर्माताको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट