स्वास्थ्य राज्यमन्त्रीको कार्ययोजना असोजसम्म एकतिहाई नागरिकलाई खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सयदिने कार्ययोजना सार्वजनिक गरेका छन् । आफू मन्त्रालय आइसकेपछि उनले सयदिने कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा एकतिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपालीलाई चैत मसान्तसम्म खोप लगाइसक्ने उल्लेख छ ।

खोप प्रभावकारी रूपमा समन्यायिक वितरण गरिने कार्ययोजनामा समेटिएको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार वयस्क तथा किशोरकिशोरीलक्षित मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भइसकेको छ ।

कोभिड–१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि अध्ययन अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच १ सय ६५ मिलियन अमेरिकी डलरको ऋण सहायता स्वीकृति चरणमा छ ।

त्यस्तै, फाइजरको थप ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग प्रक्रिया थालनी गरिएको छ । कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जिरो मार्जिन) कायम गरी अबिलम्व कार्यान्वयनमा ल्याइने कार्ययोजनामा उल्लेख छ । सबै अस्पतालबाट कोभिड–१९ तथा गैरकोभिड विरामी उपचार सेवा सुचारु गर्न यथोचित व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ ।

गैरनाफामूलक स्वास्थ्य संस्था, निजी अस्पताल, निजी मेडिकल कलेज र सरकारी अस्पतालसँगको समन्वयमा कोभिड–१९ उपचार प्रभावकारी बनाइने योजना छ । कार्ययोजनामा अस्पताल ‘ग्रेडिङ’ गरी शुल्क पारदर्शी बनाउने व्यवस्था लागू गरिने भनिएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेपछि व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय लिएकोसमेत सनाए । ‘पदबहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने प्रतिबद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ उनले भने, ‘हालसम्म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमै त्याग गरिसकेको छु ।’

सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास र तलबभत्तालगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणासमेत उनले गरेका छन् । राज्यमन्त्री श्रेष्ठका अनुसार आगामी माघसम्ममा ५ करोड २५ लाख मात्रा खोप नेपाल आइपुग्नेछ । अहिलेसम्म आइसकेको ९७ लाख ८२ हजार मात्रा खोपसहित आगामी माघसम्म ५ करोड २२ लाख ८२ हजार मात्रा खोप आइसक्नेछ ।

आगामी असोजसम्म थप १ करोड २ लाख र माघसम्म ३ करोड २३ लाख गरी ४ करोड २५ लाख खोप नेपाल ल्याइँदै छ । असोजसम्म प्राप्त हुने १ करोड २ लाख डोज खोप मध्ये अष्ट्राजेनिकाको १६ लाख खोप जापान सरकारले र भेरोसेल १६ लाख डोज चीन सरकारले अनुदानमा उपलब्ध गराउँदै छ ।

रकारले साइनोफार्म चीनमा उत्पादित भेरोसेल ६० लाख डोज र भारतमा उत्पादित कोभिसिल्ड १० लाख डोज खरिद गर्न लागेको छ । माघसम्म नेपाल आइपुग्ने आँकलन गरिएको ३ करोड २३ लाख डोज खोप पनि केही अनुदान र केही सरकार आफैंले खरिद गरेर ल्याउने योजना छ । जसअन्तर्गत अमेरिकामा उत्पादित मोर्डना खोप ४० लाख डोज ल्याउन सरकारले विश्व बैंकमार्फत भुक्तानी दिइसकेको छ । अमेरिकाकै फाइजरको खोप ६० लाज डोज पनि खरिद गरिदै छ ।

फाइजर खोप सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालक्षित गरेर खरिद गर्दै छ । कोभ्याक्समार्फत लागत सहभागितामा १ करोड १० लाख जोड खोप नेपाल आउँदै छ । जसमा ५० लाख डोज जोन्सन एण्ड जोन्सन, फाइजरको ४० लाख र २० लाख डोज अस्ट्राजेनिकाको खोप हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिसिल्ड खोप दोस्रो मात्रा लगाउन बाँकी ज्येष्ठ नागरिकलाई अबको दुई साताभित्र दिइने भएको छ । दुई साताभित्र खोप आउने र आएको तीन दिनभित्र १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई खोप वितरण गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने