माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो ।

आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनले परीक्षण उत्पादन थालिएको युनिट पूर्ण क्षमतामा चल्न अझै दुईदेखि तीन दिन लाग्ने बताएका छन् । आयोजनाको पहिलो, दोस्रो र तेस्रो युनिटपछि चौथो युनिट पनि प्रणालीमा आएको छ ।

अब बाँकी रहेका दुई युनिट समेत १५–१५ दिनको अन्तरालमा प्रणालीमा थप हुने आयोजनाको दाबी रहेको छ । आयोजना प्रमुख श्रेष्ठले भदौमा बाँकी दुईवटा युनिट पनि सञ्चालनमा ल्याइसक्ने बताएका छन् । हरेक युनिटको क्षमता ७६ मेगावाट रहेको छ । आयोजनाको पहिलो युनिटबाट गत २१ असारमा, दोस्रो युनिट २९ असारमा र तेस्रो युनिट ८ साउनमा उत्पादन सुरु भएको थियो ।

आयोजनाको उत्पादन क्षमता ३ सय ४ युनिट पुग्यो

स्वदेशी लगानीमा निर्माण भएको देशकै ठूलो आयोजनाबाट सोमबार दिउसोदेखि ३ सय ४ मेगावाट बिजुली उत्पादन सुरु भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहदेखि ४७ किलोमिटर लामो २ सय २० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन पु¥याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४ सय÷२ सय २०÷१ सय ३२ केभी सबस्टेसनमा पु¥याइएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको छ । निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिव ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ ।

अहिलेसम्म करिब ८५ अर्ब रुपैयाँ लागत पुगिसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट सुख्खायाममा दैनिक कम्तीमा चार घन्टा पूर्ण क्षमता (४ सय ५६ मेगावाट) उत्पादन गर्नेछ । अन्य समयमा विद्युत् उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जनाएको छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । २०६८ मा निर्माण सुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ । सुरु भएको करिब ११ वर्षपछि विद्युत् उत्पादन सुरु गरेको आयोजनाले भूकम्प नाकाबन्दी कोरानालगायतका प्रात्रृmतिक प्रकोपको सामना गर्दै यहाँसम्म आइपुगेको हो ।

आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा आत्मनिर्भर हुने अनुमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा पदाधिकारी चयनका लागि सकियो मतदान