तीज गीतमा चम्केकी पातली गायिका कला लम्साल

चुरोटै खिली भेना फिलिली
साइलोसँग साटेर, जिनको पएँट काटेर
पानको बुट्टा टाँसेको, लाजैले मरें, मै मुर्छा परें
ढम्मढम्म ढोलाके
मैलाई हेरी होलाके, झिल्के भेना हाँसो…
यतिबेला यो तीजभाका निकै चर्चामा छ । यो गीतलाई गायिका कला लम्सालले गाएकी हुन् । कलाको यो पातली शृंखलाको तेस्रो गीत हो । यसअघिका पातली शृंखलाका गीतहरू हिट भएपछि उनले यही शृंखलालाई निरन्तता दिएकी रहिछन् । यसअघि पातली शृंखलाकै ‘चमेली फूल मौरीका हुल…’, ‘ऐना हेरी हेरी…’ जस्ता दुईवटा शृंखला उनले ल्याएकी थिइन् । यतिबेला तेस्रो शृंखला झिल्के भेना (पातली–३) टिकटकदेखि सामाजिक सञ्जालमा निकै भाइरल छ । यो गीत तीन साताअघि रिलिज भएको हो । कला लम्सालकै अफिसियल च्यानलमा यो गीतले अहिलेसम्म ६ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

कलाको भनाइमा उनले पातली पहिलो र दोस्रो शृंखलाबाट छायाँछवि तीज गीत अवार्ड…समेत हासिल गरिसकेकी छन् । यस्तो अवार्ड र दर्शकको मायाँले आफूलाई कोरोनाको महामारीबीच पनि तेस्रो शृंखला पातली ३ ल्याउन प्रेरणा मिलेको बताइन् ।

विगतका शृंखलाजस्तै पातली ३ गीतलाई पनि शिव हमालले लेखेका हुन् । संगीत पनि शिव आफैंले लेखेका हुन् । विगतको जस्तै यो गीतमा कला आफैंले अभिनय गरेकी छन् । पातली–३ को भिडियोमा कला लम्सालसँगै अञ्जली अधिकारी र करिश्मा ढकालको आकर्षक नृत्य समेटिएको छ । यो गीतको भिडियोलाई यतिबेला दर्शकले निकै रुचाएको यी दायिकाको दाबी छ ।

तीज गीतमा पछिल्लो पुस्ताका गायिकामध्ये श्रोताले रुचाएकी गायिकाको रूपमा पर्छिन् कला लम्साल । उनले पहिलो तीजभाकाको रूपमा ‘भनिदेउना बाई…,’ एक दशकअघि बजारमा ल्याएकी थिइन् । यो गीतमा उनलाई दर्शकले रुचाएपछि गायिका कलाले त्यसपछि उनले छड्कै तिलहरी शृंखलाको भाग १ देखि भाग ३ सम्म तीनवटा गीत बजारमा ल्याइन् । यी तीनवटै गीत हिट भएपछि उनले २०७६ मा पातली शृंखलाको पहिलो गीत चमेली फूल मौरीका हुल (पातली १) ल्याएकी हुन् । उनको यो धेरै नै रुचाइएको गीत हो । यो गीत उनले तीन वर्षअघि जापानलगायतका देशमा नेपालका विभिन्न कार्यक्रममा प्रस्तुत गरिन् ।

कलाले गायन यात्राको सुरु २०६५ सालबाट आफ्नो स्वरमा गीत बजारमा ल्याएकी हुन् । उनले आफ्नो स्वरमा रेकर्ड गरेको पहिलो मर्न पाए खुसी हुन्थें म गाएकी थिइन् । यो गीतमा उनलाई युगल स्वरमा गायक खुमन अधिकारीले साथ दिएका थिए । उनको यो गीतलाई दर्शकले रुचाएपछि कलाले तेजस रेग्मीसँग रोइला भाकामा नाकै हेर्दा ‘थाहा होला…’ गाइन् ।
गायिका कलाको बद्री पंगेनी र चन्द्र शर्मासँग संयुक्त स्वरमा आएको गीत धानको चामल ‘धानैको चिउरा…’ पनि निकै सफल भयो । यसपछि उनले पुस्कल शर्मामा ‘मुसुमुसु हंस…’ गीत ल्याइन् । गायिका कलाको हालसम्म ‘लाहुेर आएन…,’ ‘फुलको डाली…,’ ‘यही दोहोरी साँझमा…’, ‘ठिक्क पार्छौं मुखले…’ सहित तीन दर्जन गीतहरू बजारमा आइसकेकी छन् ।

गायिकाको रूपमा कला लम्सालले नेपाल प्रहरीमा पनि सेवा गरिसकेकी छन् । नेपाल प्रहरीमा उनले गायिकाको दरबन्दीमा २०६७ सालबाट सेवा सुरु गरिन् । नेपाल पुलिस क्लब भृकुटी मण्डपमा रहेर उनले कलाकारको रूपमा ६ वर्ष र प्रहरी सेवामा ११ वर्ष बिताइन् । यतिबेला उनले प्रहरी सेवामा राजिनामा दिएकी छन् । अब भने गायन यात्रालाई अघि बढाउन आफूले प्रहरी सेवा छाड्नुपरेको उनले बताइकी छन् ।

प्रायः गण्डकी भेकको मौलिक लोकदोहोरी भाका गाउनु कला लम्सालको परिचय हो । लोक भाकासँगै उनले राष्ट्रिय गीत पनि गाएकी छन् । राष्ट्रिय गीत तराई आँगनबाट उनले उत्कृष्ट गायिकाको रूपमा राप्ती म्युजिक अवार्ड र अवार्ड राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको पाँचौं पृथ्वी अवार्ड पनि जितेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने