कोरोना महामारीको संक्रमण समुदायस्तरमै फैलिसकेपछि अब खोपको विस्तार जनस्तरसम्म पु¥याउन ढिलाइ गर्नुहुँदैन । संक्रमित बिरामीको संख्या बढ्न थालेपछि र अस्पतालका बेड भरिभराउ हुँदै गएपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरिसके पनि खोपको विकल्प नभएकाले यसको विस्तार हुनुपर्नेमा ढिलाइ भइरहेको छ । यही ढिलाइले पनि संक्रमण दरमा बढोत्तरी ल्याइरहेको छ । देशको राजधानी सहर काठमाडौंलगायत दूरदराजका जिल्ला र ग्रामीण इलाका पनि कोरोना संक्रमणका ‘हब’ बन्न थालिसकेका छन् । जनसंख्याका आधारमा यदि संक्रमण दरलाई हेर्ने हो भने हिमाल, पहाड र तराई जहाँ पनि यो आम जनसमुदायसमक्ष पुगिसकेको छ । विदेशबाट आएका व्यक्ति मात्र होइन, हिमाली दूरदराजमा रहेकी गृहणी पनि महामारीबाट संक्रमित हुँदै गएका छन् । जहाँ पनि प्रत्येक चार जनाको पीसीआर परीक्षण गर्दा एकमा कोरोना संक्रमण देखिएपछि अबको अवस्था भयावह हुँदै गएको देखिन्छ । दैनिक ३ हजारमाथिको संख्यामा संक्रमित थपिइरहेका छन् ।
सरकारले थप संक्रमण रोक्न जनतामा अपिल गर्दै सतर्क हुन, अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ भनिरहे पनि यसको समुचित पालना भने हुन सकिरहेको छैन । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुन्न भने पनि समस्या अझ ज्यूँका त्यूँ रहेको छ । निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्न गएको सरकारी आँकलन सही छ । हालको संक्रमितको आँकडालाई लिएर सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेकाले यसको निदान र उपचारका लागि जनस्तरमा सचेतना अभियानका साथै एक मात्र विकल्पका रूपमा रहेको खोप अभियानलाई पनि जनस्तरमा लैजानुपर्छ । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको बेला पनि मास्कको समुचित प्रयोग नहुनु सबैन्दा ठूलो कारक बनिरहेको सबैको बुझाइ एक ठाउँमा छ । संक्रमित बिरामी उपचारपछि निको भई घर फर्किए पनि संक्रमणको दर भने डरलाग्दो गरी उकालो चढिरहेको छ । सरकारले बिरामीका लागि चिकित्सकीय सेवासमेत प्रभावकारी बनाउनुपर्छ । कतिपय अस्पतालमा बिरामीको राम्रो हेरचाह हुन नसक्दा समेत मृत्यु हुने क्रम बढिरहेको छ । यस्तो क्रम जुनसुकै हालतमा पनि रोकिनुपर्छ । मृत्यु दर घटाउनतर्फ सरकारले विशेष पहलकदमी गर्नुपर्छ ।
हाल सरकारले अक्सिजनको व्यवस्थापन सापेक्षतामा गर्नसके पनि र उपचारका लागि सबै अस्पताललाई सजग र सतर्क गराए पनि संक्रमित भने थपिएरहेका छन् । योबेलामा सबैभन्दा भरपर्दो उपायका रूपमा रहेको खोप जनस्तरसम्म पु-याउनु अनिवार्य भइसकेको छ । किनकि, संक्रमित बिरामी पहिलेको तुलनामा बढी सिरियस र खतरामा छन् । उनीहरूका लागि सघन कक्षको उपचार मात्र बढी कामयावी हुँदै गएको छ । त्यसैले तेस्रो वेभ आउनुअगावै सबै प्रकारका साधनस्रोतको व्यवस्था गरेर आमनागरिकलाई स्वास्थ्य सुरक्षाको अनुभूति दिलाऊ ।






