तालिवानले निर्णायक युद्ध लडेको छोटो समयमै अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि यो संसारभर चर्चाको विषय बनेको छ । सबैले काबुलमा तालिवानको पुनरागमनपछि के शिक्षा लिने भनी निधार खुम्च्याएको देखिन्छ । यसले वासिंटनमा पूर्व र वर्तमान राष्ट्रपतिबीच वाकयुद्ध नै जारी राख्ने बनाएको छ । अमेरिकी प्रशासन र सेनाको उपस्थितिमा पुरानो सरकार हुर्किइरहेको र हाल उनीहरूको फिर्तीसँगै तालिवानले कब्जामा लिएको घटनाले पनि अमेरिकामा वाक्युद्ध चर्किएको हो । अमेरिकामा यति ठूलो प्रभाव र बहस चलिरहँदा नेपालमा यसको प्रभाव के हुन सक्छ ? यस’boutमा घोत्लिनु जरुरी छ । यसका लागि नेपाली शासक र हाल सत्ताबाट बहिर्गमित अफगानी शासकबीच समानता वा भिन्नता के रहेका छन् सोको गहिरो गरी तुलनात्मक अध्ययन जरुरी छ । देश छोडेका असरफ घानीको सरकारभन्दा हाल काबुलमा सत्तासीन हुन पुगेका तालिवानको सत्ता पश्चगामी र रुढीवादी छ भन्ने सबैलाई थाहा छ । तर, पनि उनीहरू सत्तासीन हुन पुगेका छन् र देशको शासन सत्ताको हर्ताकर्ता हुन पुगेका छन् ।
तालिवानभन्दा प्रगतिशील हो भन्दाभन्दै पनि घानी सरकारले अफगानिस्तानमा जनसमर्थन गुमाउन पुग्नु, प्रशासन सञ्चालनमा विफल रहनु, सेनामा पकड र एकता कायम गर्न नसक्नु, अमेरिकी तालिम र हतियारले पनि श्रेष्ठता कायम गर्न नसक्नुका पछाडिका कारणमा पुग्न जरुरी छ । सारमा काबुल शासकमा भएको असफलता र असक्षमता नै हारको मूल कारण हो । काबुल शासन प्रशासनको माथिल्लो तहमा रहेका सबै ‘तरमारा वर्ग’मा परिणत भइसकेका थिए । उनीहरू सबैको अमेरिकालगायतका विकसित देशहरूमा बस्न ग्रिनकार्ड र पीआर हातहातमा थियो । राष्ट्रपति घानी स्वयंले अमेरिकी नागरिकता लिएका थिए । हाल उनीसँग दोहोरो नागरिकता थियो । प्रशासन, सेना, सामाजिक सेवा, राजनीतिक दल तथा सरकारमा उच्च पदस्थ सबैको हातमा विदेशी परिचयपत्र थियो । उनीहरूका सन्तान विदेशमा बसिरहेका र रोजगार तथा अध्ययन गरिरहेका थिए । उनीहरू अफगानिस्तानका लागि अफगानी अनुहारका ‘टुरिस्ट’जस्ता थिए । कमाइको सिंगो भाग विदेश पठाउँथे । राज्य दोहनको भाग पनि विदेशमै जान्थ्यो । उनीहरू अमेरिकी प्रशासन र सुरक्षा बलको आडमा रजाइँ गरिरहेका थिए । यसले उनीहरूमा दुई फरक दायित्व सिर्जना गरिदिएको थियो ः दलाल प्रवृत्ति र देशका लागि ज्यान फालेर काम गर्न नसक्ने डरपोकपन ।
शासकभित्र रहेका मूलतः यिनै कमजोरीले काबुलमा तालिवानको पुनरागमनलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने वातावरण निर्माण गरिदियो । नेपाल पनि अफ्गानिस्तान झैं विकासशील देशमा उक्लँदै गरेको राष्ट्र हो । काबुलका शासकमा जुन प्रवृत्ति भित्रिएर अफगानिस्तान अहिलेको अवस्थामा आइपुग्यो, नेपालका शासकमा पनि गतिहीनता कायम रहने हो भने यसले पनि पश्चगमनको नियतिलाई रातो कार्पेट नबिछ्याउला भन्न सकिने अवस्था छैन । यस्तो प्रवृत्तिविरुद्ध बेलाबेलामा जनस्तरबाट खुला र स्वस्थ आलोचना पनि नआउने गरेको होइन । तर, यो शासकका लागि ठट्टामजाकको विषय बन्दै आएको देखिन्छ । यसका लागि शासकीय तथा प्रशासकीय रबैया, आनीबानी र काम गराइको शैलीमा जनमैत्री बन्ने गरी परिवर्तन आउनु जरुरी छ । काबुलमा तालिबानको पुनरागमनले नेपाली शासकलाई दिने मूल सन्देश यही हो ।






