नागरिकको उद्धार समयमै गर

काबुलमा तालिबानीहरूको पुनरागमनपछि संकटमा फसेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने निर्णय गरेको छ । अब सो निर्णयसँगै सरकारले जतिसक्दो चाँडो काबुलमा अलपत्र परेका नेपालीको उद्धार गर्नुपर्छ । वैदेशिक रोजगारका क्रममा विदेशी भूमिमा सधैं अलपत्र पर्ने नेपालीको काबुलबाट उद्धार हुँदै छ भन्ने सुन्दा नागरिकमा केही खुसी छाएको छ र सरकारप्रति केही भरोसा पनि बढेको छ ।

काबुल अहिले संकटको अवस्थामा छ । राष्ट्रपति असरफ घानीको बहिर्गमनसँगै तालिबानको सरकार स्थापना भएको छ । तत्कालीन सरकारका पालामा गएका विदेशी नागरिक तालिबानविरुद्ध प्रयोग भएको हुन सक्ने आशंकामा तालिबानले बदला भाव साँचेको हुन सक्छन् भन्ने सहज आशंका जोकोहीमा पनि छ । यसै कारण पनि काबुलस्थित नेपाली स्वदेश फिर्तीका लागि नेपाल सरकारसँग हारगुहार गरिरहेका छन् । संकटमा रहेको काबुलको राजनीति शान्तिपूर्णसत्ता अदलबदलसँगै अझै अस्थिर र दुविधामा रहेको छ । काबुलस्थित नेपालीको उद्धारका लागि आवाज उठेपछि सरकारले वैदेशिक रोजगारका लागि काबुल पठाउने म्यानपावर कम्पनीसँग सोधपुछ र परामर्श लिई उनीहरूको शीघ्र उद्धार गरी सकुशल घरघर पठाउने वचन पनि दिइसकेको छ । तर, सोहीअनुसार सरकारमा एक्सनमा उत्रन सकेको छैन ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकबाटै यो निर्णय गरिएको र नागरिक उद्धारका लागि यसलाई कार्यान्वयनमा लैजाने बताइसकेका छन् । मन्त्रिपरिषद् बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिएको भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल र शीघ्र उद्धार गर्ने निर्णय भएपछि गृह मन्त्रालयले अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाइसकेको बताएको छ । नेपाली जनताको आशा छ, यो निर्णय कार्यान्वयन होस् र नेपाली नागरिक सकुशल घरघर आइपुगून् । ती नेपाली घर जानुपूर्व तिनको मनोविज्ञान र स्वास्थ्य कुन हालतमा छ, सोको जानकारी र परीक्षण पनि सरकारले गरोस् । बिरामी तथा महामारीबाट संक्रमित छन् भने उनीहरूको उचित उपचार होस् । हाल अफगानिस्तानमा नेपालीको संख्या १० हजार रहेको भनिएको छ । ती सबैको लगत संकलन र उद्धार यथासमयमा नै होस् । यसले सरकार र जनताबीच सजीव र सौहाद्र्रपूर्ण सम्बन्ध स्थापित गर्न गराउन मद्दत मिल्नेछ । वैदेशिक रोजगारीमा जाने र गएकाहरूलाई पनि सरकारको अभिभावकत्वको बोध हुनेछ ।

हालैका पछिल्ला घटना क्रममा वैदेशिक रोजगारका लागि जान भनी हिँडेका जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काटिदिँदा उनी कर्णालीमा बेपत्ता भएपछि नेपाल सरकारको आलटाले खोजले सबैलाई स्तब्ध बनाएको छ । यसले नेपालको आफ्नै भूमि जोडिएको सीमामा त नेपाली सुरक्षित छैनन् भने विदेशमा सुरक्षाको परिकल्पनासम्म पनि गर्न सकिँदैन भन्ने आममनोविज्ञान पैदा गरिदिएको छ । यसलाई सरकारले आमजनताबीच ग्रहणीय अवस्थामा ल्याइपु¥याउनु पनि छ । काबुलमा रहेका नेपालीको ज्यान रक्षाका लागि गरिएको हारगुहार पनि कम छोइने अवस्थामा छैन । सबै नेपाली तथा काबुलमा रहेका नेपालीका अभिभावक मुटुमाथि हात राखेर उनीहरूको सुरक्षित फर्काइमा रातदिन आँखा बिछ्याएर बसिरहेका छन् । यो निकै नै व्यग्र प्रतीक्षाको विषय पनि बनिरहेको छ । सरकारले यो मनोविज्ञानसहित अभिभावकीय जिम्मेवारी छिटोभन्दा छिटो पूरा गरोस् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने