ओडेगार्ड आर्सनलमा

लन्डन । स्पेनिस क्लब रियल मड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् । गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउन्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस बिन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।

यसअघि आर्सनलले डिफेन्डर बेन ब्हाइट, अल्बर्ट साम्बी लोकोन्गा र नुनो टाभारेसलाई अनुबन्ध गरिसकेको छ । इंग्लिस गोलरक्षक आरोन राम्सडेल पनि आर्सनल आउने चर्चा रहेको छ । आर्सनलले गत सिजन खराब प्रदर्शन गरेपछि प्रशिक्षक मिकेल आर्टेटा निकै दबाबमा छन् । सिजनको पहिलो खेलमा आर्सनल ब्रेन्टफर्डसँग २–० ले पराजित भएको थियो ।

ओडेगार्डले गत सिजन २० खेल खेल्दै २ गोल गरेका थिए । उनले आइतबार हुने चेल्सीविरुद्ध खेल भने खेल्ने छैनन् । सन् २०१५ मा १६ वर्षको उमेरमा रियल म्याड्रिडमा अनुबन्धित उनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । उनले रियलबाट कुल ८ खेल मात्र खेले । उनी लोनमा हेरेनयभिन, भिटेस र रियल सोसीडाडमा खेलेका थिए ।

यस्तै स्पेनिस विंगर फरवार्ड पेड्रो रोड्रिग्वेज इटालियन क्लब रोमाबाट लाजियोमा अनुबन्धित भएका छन् । पेड्रोको लाजियो प्रस्थानले इटालीको राजधानी रोमका दुई सहरी प्रतिद्वन्द्वी क्लब रोमा र लाजियोबीच ४० वर्षपछि पहिलोपटक खेलाडी किनबेच भएको हो । सन् १९८१ मा कार्लाे पेरोन लाजियोबाट रोमा पुगेका थिए । लगत्तै अर्काे सिजन पेरोन पुनः लाजियो नै फर्किएका थिए । क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सीका पूर्वफरवार्ड पेड्रो फ्रि एजेन्टमा लाजियोमा अनुबन्धित भएका हुन् । प्रशिक्षक जोसे मौरिन्होको योजनामा नरहेपछि पेड्रोले एक सिजनमै रोमा छाडेका हुन् । उनले लाजियोमा ९ नम्बरकै जर्सी लगाउनेछन् ।

लाजियोमा पुगेसँगै पेड्रो र आफ्नो पूर्व प्रशिक्षक मौरिसियो सार्रीबीच पुनः पुनर्मिलन हुने भएको छ । सार्री र पेड्रो सन् २०१९ मा इंग्लिस क्लब चेल्सीमा रहेका थिए । प्रशिक्षक सार्रीलाई पेड्रोको क्षमता’bout राम्ररी जानकारी रहेको छ । लाजियोमा अभाव रहेको विंगर फरवार्डको पोजिसन पेड्रोले परिपूर्ति गर्न सक्ने क्लबले जनाएको छ । रिपोर्टअनुसार सम्झौताबाट रोमा र लाजियोसँगै खेलाडी पनि खुसी रहेको बताइएको छ ।

यी दुई क्लबबीच मैदानभित्र र बाहिर उत्तिकै प्रतिस्पर्धा हुने गर्दछ । सोही कारण पनि यी दुई क्लबबीच खेलाडी सरुवा निकै टाढाको विषय हो । यी दुई क्लबका समर्थक एक अर्काेबीच झडपकै स्थितिमा पुग्ने गरेको इतिहास छ । त्यसैले पनि यी दुई क्लब कट्टर प्रतिद्वन्द्वी क्लबका रूपमा रहेका छन् । सन् २०१७ मा स्पेनको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका ३४ वर्षीय पेड्रोले रोमाबाट गत सिजन ४० खेलमा ६ गोल गरेका छन् ।

यस्तै गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्ध नजिक पुगेका स्पेनिस फरवार्ड राफा मिरलाई सेभियाले अनुबन्ध गर्न सफल भएको छ । सेभियाले एट्लेटिकोलाई जिल्याउँदै २४ वर्षीय राफा मिरलाई इंग्लिस क्लब वल्भ्सबाट १६ मिलियन युरोमा ५ वर्षका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । उनी सन् २०२६ सम्म सेभियामा रहनेछ ।

सन् २०१८ मा स्पेनिस क्लब भ्यालेन्सियबाट वल्भ्स पुगेका राफाले वल्भ्समा २ खेल खेलेपछि लोनमा स्पेनिस क्लब लास पाल्मस नै फर्किएका थिए । त्यसपछि अर्काे सिजन उनी इंग्लिस च्याम्पियनसिप क्लब नथिङघम फरेस्टमा पुगेका थिए । केही समयपछि उनी हुएस्का पुगेका थिए । हुएस्का स्पेनको शीर्ष डिभिजनमा बढुवा हुदा उनले उच्च प्रदर्शन गरेका थिए । गत सिजन पनि उनले स्पेनिस क्लब हुएस्काबाट लोनमा खेलेका थिए । गत सिजन हुएस्काबाट राफा मिरले ९ खेलमा १६ गोल गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने