कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज

पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसकेको छ । गर्भवतीमा संक्रमण तथा मृत्यृ बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समयतालिका बनाई सुरु गर्न असारमै स्त्री समाजले अनुरोध गरेको हो । छुट्टै कार्यक्रम नभए पनि जोखिम समूह, उमेर वर्गअनुसार भने खोप लगाइरहेका छन् । परोपकार अस्पतालको वार्षिक उत्सवमा गत सोमबार स्वास्थ्य राज्यमन्त्रीले अब गर्भवती तथा सुत्केरी महिलाले खोप पाउने बताएका थिए ।

खोपपछि पनि संक्रमण
कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि पनि कोभिड संक्रमित देखिँदै छन्, जसलाई ब्रेकथ्रु इन्फेक्सन भनिँदै छ । खोप लगाइसकेपछि पनि संक्रमणको सम्भावना छ र त खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्नपर्ने भनेको हो । भारतमा सिनोफार्म, कोभ्याक्सिन र अक्सफोर्डको खोप पाइसकेका ६ सय ७७ जनामा ब्रेक थ्रु इन्फेक्सनमा ८६ प्रतिशतलाई डेल्टा भेरियन्टको थियो । अर्काे खोपको प्रभावकारिता पनि हो । खोप सबैले लगाउनपर्छ किनकि खोपले संक्रमण भए पनि गम्भीर हुन रोक्ने, अरूलाई सार्न रोक्ने, अस्पताल भर्ना र मृत्युबाट जोगाउँछ ।

महामारीसँगै बढ्यो तीज
आउँदो बिहीबार नेपाली महिलाको पर्व तीज आउँदै छ । दर खाने नाममा भने गीत, नाच, खानाको क्रम भने विगत दुई हप्ता पहिलेदेखि चलिआएको छ । भाद्र शुक्ल तृतीयामा व्रत, उपवास, भजन कीर्तन र नाचगान समग्र आर्य नारी संसारमा पौराणिक आदेश र ऐतिहासिक यथार्थ बनेको हो र छ । यसैलाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना पतिको दीर्घायु एवं अविवाहित महिलाले योग्य वर पाऊँ’ भनी तीजको व्रत बस्ने गरेका पाइन्छ । समयक्रमसँगै बाहुन, क्षत्री जातका नारीले मात्र मनाउने तीज तामाङ, गुरुङ, राई, लिम्बूलगायत नेपाली नारीहरूको पर्व बन्न पुगेको छ ।

बाहुन, क्षत्री जातका नारीले मात्र मनाउने तीज तामाङ, गुरुङ, राई, लिम्बुलगायत नेपाली नारीहरूको पर्व बन्न पुगेको छ

तीजको नाममा बढेको विकृतिले सामान्य परिवारमा हुर्केका वा सामान्य आयस्तर भएका जोसुकैका लागि चाडपर्व दशा बन्न थालेको छ । दर खाने नाममा जाँड र रक्सीका पार्टीहरू सञ्चालन हुन थालेका छन् । तीजे गीतको भाकामा डान्स र बारमा जाग्राम बस्न थालेका छन् । तीजको रौनक बढाउन चारतारे होटल र पार्टी प्यालेस नधाई नहुने विकृति मौलाएको छ । तीज गहनाको चाड बन्दै छ । दरका साटो रकम, वियर, ह्वीस्की र माछामासु र मिठाईले ठाउँ पाएका छन् ।

दरमा माछामासु
पहिले खीर, साकाहारी खाद्य पदार्थलाई दरका रूपमा प्रयोग गरिन्थ्यो भने अहिले समयक्रमसँगै मासुजन्य पदार्थ, रक्सीजन्य पदार्थ र मिठाईमा बढोत्तरी भएको छ । खानाबाट विभिन्न रोग लागेर अस्पताल नै धाउने धेरै भएका छन् । मासुका पनि विभिन्न काँचो तथा अर्धकाँचो परिकार तथा तारेको, भुटेको परिकारमा वृद्धि भएको छ भने मिठाईमा बजारमा पाइने रंगीन, बुट्टेदार मिठाईमा बढोत्तरी भएको देखिन्छ ।

कामकाजी र व्यस्त महिला भएर होला घरमा आफंै बनाउने, पकाउने नगरी तयारी अवस्थाका मासुजन्य तथा मिठाईजन्य परिकार किनेर तीज मान्ने चलन फेसन भइसेकको छ । मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जीवाणुको लागि पनि स्वादिलो र पोसिलो खानेकुरा हुने भएकाले उनीहरूको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ जसले गर्दा रोग सार्ने माध्यम पनि बन्न सक्छ । पटके, फित्ते जुका, फुड प्वाइजनिङ केही उदाहरण हुन् । अशुद्ध मासु खाँदा सर्ने रोगहरूमा फित्ते कीराहरू–टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकी ओला हेपाटीका, ब्याक्टेरियल संक्रमणमा एन्थ्राकस, एक्टिनोमाइकोसिस, क्षयरोग (टीबी) र खाद्य विषाक्तता वा फुड प्वाइजनिङ पर्छन् । ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै गाह्रो बन्ने भएकाले प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

चिल्लो चाप्लो
धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँछ त्यसैले धेरै चिल्लो हालेर फ्राइ गरेको, पिरो मसलादार मासुभन्दा सामान्य चिल्लो भएको तथा राम्रोसँग पकाएको मासु नै स्वस्थकर हुन्छ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरू सार्ने सम्भावना हुन्छ त्यसैले मासुका परिकार राम्रोसँग पकाउनुपर्छ । मासु मात्र खाँदा कब्जियत हुन सक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्छ ।

रंगीबिरंगी मिठाई : कतिपय मिठाईमा विभिन्न प्रकारका रंग तथा एडेटियो प्रिर्जरभेटिभ प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्छन् । यस्ता खाद्य पदार्थ सेवन गर्दा पेट गडबढ गराउनुका साथै पखाला लाग्न सक्छ । रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अंगहरूजस्तै कलेजो, मुटु, मिर्गाैला, कमजोर हुन्छन्, क्यान्सर हुने सम्भावना बढेर जान्छ, चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ, बाँझोपन हुन सक्छ, आँखा, कान कमजोर हुन सक्छ, सन्तान लुला, लंगडा एवं अपांग हुन सक्छन्, सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ ।

कोरोनाको खोप र सावधानीबिनाको सभ्य र भव्य तीजले पनि ज्यानै जान सक्छ

निर्जल, निराहार तीज
पानी नखाएर, थुकै ननिली व्रत बस्दा टाउको दुख्ने, अम्लपित्त हुने, शरीर दुख्ने, कमजोर हुने, नसा झमझमाउने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस् हुने सम्भावना रहन्छ भने पानीसमेत नपिएर बस्दा त्यसैमा हिडँडुल, नाचगान गर्दा भएको पानी पनि शरीरबाट पसिनाका रूपमा निस्किँदा हिटस्ट्रोक, निर्जलीकरण भई शरीरका अंग प्रत्यंगमा असर पर्ने तथा बेहोस हुने हुन सक्छ । पहिलेदेखि नै दीर्घरोग भएका कमजोरी महिला त झन् व्रत नबस्नु नै राम्रो हुन्छ ।

बचावट
सीसीएमसीबाट साउन २८ मा निरीक्षण भ्रमणमा निस्कँदा वीरगन्ज, विराटनगर तथा जनकपुरमा यअरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय पुग्दा हजार बढी मानिसमा मुस्किलले २ प्रतिशतले मास्क लगाएका थिए । कार्यक्रममा अगुवाबाटै मापदण्ड उल्लंघन भएका छन् । निषेधाज्ञाकै बीच सभा सम्मेलन, प्रर्दशन, भेला, सेमिनार, तालिम, जात्रा महोत्सव चलेकै छन् । जनप्रतिनिधि, कार्यकारी कर्मचारीले थुप्रै तस्बिर न सामाजिक दूरी न मास्क तथा सयौं मानिसको संलग्नता सामाजिक सञ्जालमा राखेका तस्बिरले देखाउँछ । खाजा, नास्ता भन्दै खानपान जरुरी बनेको छ ।

जनस्वास्थ्यका मापदण्ड र सामूहिक प्रतिरक्षा प्राप्त गर्न ७० प्रतिशत बढीमा एन्टिबडी विकास हुनपर्छ, जसका लागि संक्रमण हुँदा ठूलो क्षति हुने भएकाले खोप नै अन्तिम विकल्प बनेको छ । लापर्बाहीले संक्रमण उकालो लाग्दै छ । संक्रमण, मृत्यु जति बढ्दै छ । त्यति नै लापर्बाह, बिनामास्क हिँडडुल र जमघट गर्नेको संख्या दिनानुदिन बढ्दै छ ।

अन्तमा, कोरोनाको खोप र सावधानीबिनाको सभ्य र भव्य तीजले पनि ज्यानै जान सक्छ । तसर्थ के गर्भवती के स्तनपान गराइरहेका सबैले खोप आफ्नो पालामा लिनपर्छ र लिइसकेकाले पनि खोप लगाइसकेकाले कोभिड १९ लाग्दैन, सर्दैन र सार्दैन भन्ने भ्रमबाट बाहिर निस्की तीज मान्ने, मनाउने र सरोकारवाला सबैले जनस्वास्थ्यका मापदण्डमा लापर्बाही गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने