चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
आजबाट सौराहामा बन्दसत्र
महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् । उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।
देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।
उद्घाटन अगाडि आयोजित -यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नारायणगढ बजारमा सवारी चलेका थिएनन् । बजार क्षेत्रमा कार्यक्रममा सहभागीहरूको भिड देखिएको थियो । पूर्वी क्षेत्रबाट आउने सवारीसाधन पास नभएका कारण झन्डै ३ किलोमिटरसम्म सहभागीले पैदल यात्रा गरेका थिए । जिल्लाका ७ स्थानबाट बाजागाजासहितको जुलुस निकालिएको थियो ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरूले नारायणी नदी किनार भरिभराउ भएको थियो । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रूपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्लेसमेत राखिएको थियो ।
चितवनको इतिहासमा यति धेरै मानिस जम्मा भएको यो पहिलोपटक भएको जिल्ला अध्यक्ष रावलको भनाइ छ । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरू नारायणगढ बजारमा छरिएका थिए ।
५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ राखिएको थियो । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेको थियो । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाएका थिए ।
महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन भएका थिए । त्यस्तै, चितवनसँग सिमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । महाधिवेशन स्थलमा आवतजावत सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको थियो ।
आज शनिबारबाट बन्दसत्र सुरु हुने भएको छ । महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । बन्दसत्रमा निर्वाचित र मनोनीत गरी २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
यसअघि २७ कात्तिकमा देशभरिबाट १ हजार १ सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही ७ मंसिरमा बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी, महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
चितवनको सौराहामा चुनावको प्रक्रियाका लागि कार्यालय स्थापना गरिएको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले स्पष्ट पारे । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।
चुनावमा १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । ९२ वटा मेसिन चुनावका लागि प्रयोग गरिने र तीनवटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिनेछ । पाँचवटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ ।
कसले के भने–
लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औं महाधिवेशन आयोजना गर्न लागेकोमा म नेकपा एमालेलाई बधाई दिन चाहन्छु । साथै महाधिवेशनको पूर्ण सफलताको कामना पनि गर्छु । नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौं । हामी सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएका हौं । यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै दलहरूको हो । नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनीतिक दलहरूसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
शेरबहादुर देउवा, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति
०००००००००
नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको छ । राष्ट्रिय हित र विकासमा मतभेद हुनु हुँदैन । कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पु-याउन एकता र धु्रवीकरण अपरिहार्य छ । विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ । एकता, संघर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो । कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक छ ।
लीलामणि पोखरले, नेता, नेकपा माओवादी केन्द्र
००००००००००००
संविधानलाई समावेशी र संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्छ ।
उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी
०००००००००००००
सरकारमा रहँदा मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहन्छु । उहाँले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गर्नुभएको थियो ।
महन्थ ठाकुर, अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी
कम्युनिस्ट पार्टी एकजुटको विकल्प छैन । कम्युनिस्ट एकताले मात्र देश र जनताको हित हुन्छ । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प छैन ।
चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
००००००००००००००
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएका छन् । उनले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेका थिए । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न पनि ओली सफल भएका थिए । ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएका थिए ।
कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
७२ वर्षे एमालेमा को को आए नेतृत्वमा ?
एमालेको ७२ वर्षे इतिहासमा शुक्रबारबाट चितवनमा ऐतिहासिक महाधिवेशन सुरु भएको छ । १० वैशाख २००६ सालमा स्थापना भएको यो पार्टीको यो १०औं महाधिवेशन हो । हालसम्म एमाले नेतृत्व लिन सफल भएका नेताहरू
पहिलो महाधिवेशन
२०१० माघ १०–२० गते
पाटन, ललितपुर र काठमाडौं
महामन्त्री : मनमोहन अधिकारी
दोस्रो महाधिवेशन
२०१४ जेठ १५–२५ गते
फोहरा दरबार, दरबारमार्ग, काठमाडौं
महासचिव : डा केशरजंग रायमाझी
तेस्रो महाधिवेशन
२०१९ वैशाख ४–१५
महासचिव : तुल्सीलाल अमात्य
चौथो महाधिवेशन
२०४६ भदौ ९–१४ गते
सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बास
महासचिव : मदनकुमार भण्डारी
पाँचौं महाधिवेशन
२०४९ माघ १४–२० गते
दशरथ रंगशाला–कमलादी, काठमाडौं
अध्यक्ष : मनमोहन अधिकारी,
महासचिव : मदनकुमार भण्डारी
छैटौं महाधिवेशन
२०५४ माघ १२–१८ गते
नेपालगन्ज, बाँके
अध्यक्ष : मनमोहन अधिकारी
महासचिव : माधवकुमार नेपाल
सातौं महाधिवेशन
२०५९ माघ १८–२२ गते
जनकपुर, धनुषा
महासचिव: माधवकुमार नेपाल
आठौं महाधिवेशन
२०६५ फागुन ५–१४
बुटवल, रूपन्देही
अध्यक्ष : झलनाथ खनाल
महासचिव : ईश्वर पोखरेल
नवौं महाधिवेशन
२०७१ असार १९–साउन १ गते
भृकुटीमण्डप, काठमाडौं
अध्यक्ष : केपी शर्मा ओली
महासचिव : ईश्वर पोखरेल
प्रथम विधान महाधिवेशन
२०७८ असोज १५–१७
गोदावरी, ललितपुर
१०औं महाधिवेशन
२०७८ मंसिर १०–१२ गते
नारायणगढ र सौराहा, चितवन (जारी )






