चिसो बढेसँगै कोही बाथरुममा, कोही कोठामा त कसैको सडकपेटीमै मृत्यु भइरहेको छ । पौष ५ गते बागबजारस्थित काठमाडांै मोडेल कलेजको होस्टेल बाथरुममा नुहाउन गएका १८ वर्षीय कक्षा ११ मा अध्ययनरत सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिए । तत्कालै नजिकै रहेको मोडेल अस्पताल लगी आईसीयूमा उपचार गर्दागर्दै उनको सोही दिन मृत्यु भयो । यो त हालै घटेको प्रतिनिधि घटना हो ।
हरेक वर्ष यस्ता दुर्घटना लामो समयदेखि जाडो महिनामा दर्जनौं घट्ने गर्छन् । सचेतना भएकै छैन भन्न त मिल्दैन होला तर भए पनि केही दिन र समय मात्र रहने नेपालीमा छ । तराईका रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका प्राय सबै जिल्लामा चिसोसँगै कहीं शीतलहर त कहीं बाक्लो हुस्सू चलेको छ । जिल्लामा बिहानैदेखि बाक्लो हुस्सू लाग्नुका साथै तापक्रम घटेकाले र शीतलहर बढ्दा अत्यधिक जाडो छ । जनजीवन प्रभावित भएको छ । न्यानो कपडा र आगो ताप्न दाउराको जोहो गरिँदै छ । गरीब, विपन्न थरथरी कापिरहेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक कहीं बस्दै छन्, कहीं बस्ने’bout सोच्दै छ । जलवायु परिवर्तनको असरसँगै गर्मी, वर्षा र जाडो कहिले सुरु र अन्त हुन्छ भन्न सकिने अवस्था छैन । जब जाडो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ ।
सरसर्ती हेर्दा हुनेखानेको जीवनमा चिसोले सामान्य प्रभाव पारे पनि एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता, अझै बुढाबुढी बालबालिका र महिलावर्गका लागि चिसो अभिशाप बन्दछ । भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो । तर, माघ महिना नआउँदै चिसोले दर्जनौंको ज्यान लिइसकेको छापाहरूमा देखिन्छ । जाडो निरन्तर बढ्दै छ, मानिसको धमाधम मृत्यु भएका समाचारहरू आइरहेका छन् । यथार्थमा चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो । जाडोयाममा तराई क्षेत्रमा हुस्सू लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन, तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मानिसको मृत्यु हुनु दुःखलाग्दो विषय हो ।
राज्य तथा सामाजिक संघसस्थाको निकम्मापन हो ।
मानव स्वास्थ्य : परिवर्तित चिसो मौसमी वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकाले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । साधारणतया जति गरम र तातोसँग मानिसअनुकूल बन्न सक्दछ त्यति चिसोसँग हुन सक्दैन । जब बाक्लो हुस्सू, चिसो पानी, वातावरण हुन्छ, शीतलहर चल्छ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्दछ । शरीरको भित्री तापक्रम ३०० सेल्सीयसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा शितांग भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ, तर त्योभन्दा कम भए वा ३० डिग्री सेल्सियसभन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।
शितांगबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउँमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ भने अन्य घरबारविहीन, विस्थापित परिवारका सदस्य र सडक पेटीमा समय बिताउनेहरू र कमजोर स्वास्थ्य अवस्था तथा रोगको जटिलता भएकाहरूमा पनि देखिने गर्दछ । साधारणतया यो समस्या बाहिरी वातावरणमा काम गर्ने मजदुर, लामो दूरीका पौडीवाज, हिमाल तथा पहाडका पदयात्रीमा देखिन्छ । शीतलहर वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारका क्रममा प्राथमिक उपचार–न्यानोपन हो, जसको तुरुन्त नै जरुरत पर्दछ र अपरिहार्य महत्व रहन्छ । हाइपोथर्मियाका अतिरिक्त रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वास, अपच, पखालाजस्ता पाचन प्रणाली, स्नायु प्रजनन, रक्तसञ्चार प्रणालीलगायतका विभिन्न वातावरणीय, संक्रामक रोगबाट बढी प्रभावित हुन्छन् । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ । ओठ, मुख, हातगोडा एवं कुर्कुच्चा सुक्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाउ बनाउँछ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ ।
मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडा, पखाला हुनसक्छ । जन्डिस र टाइफाइड पनि हुन्छ । वाथ, सन्धिबाथ, आमवाथ आदि रोगबाट ग्रसित व्यक्तिमा यति बेला पीडाको बोध अत्यन्त ज्यादा हुन्छ ।
सामान्य नठानौं : साधारणतया रुघाखोकीले ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोंकोलाइटिस, ब्रोंकोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, नाकको भित्री भागको श्लेष्मिक सुन्निनु (राइनाइटिस), साइनाइटिस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया), ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अहिलेको अध्ययनले जाडोयाममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएका छन् ।
सुषुस्त हत्यारा : सीओ सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, श्वाससम्बन्धी बिरामी, रगतको कमी भएका, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्दछन् । सीओ रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्यास हो जसलाई न देख्न सकिन्छ न त चाख्न वा सुँघ्न सकिन्छ । त्यसैले चिम्नी नभएका उपकरण घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन् भन्ने हेक्का राख्नुपर्छ । सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलि अलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ । त्यस्तै निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानी, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । प्रारम्भिक लक्षणमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीं बिना कुनै लक्षण बेहोस हुन सक्छन् । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ ।
रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुनसक्छ । झ्यालढोका खोल्ने र भेन्टिलेसन ठूला र खुला राख्नुपर्छ । अन्त्यमा, शरीरलाई न्यानो बनाउन परापूर्वकालीन उपाय रुइ, फुइ र दुईमा भर पर्नुपर्ने हुन्छ । इन्फलुएन्जा र निमोनिया खोप पाइए पनि महँगो छ र लगाए पनि ३० प्रतिशत मात्र सुरक्षा दिन्छ । तातो र न्यानो स्थानमा बस्ने, चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवा, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्दछ । पटक पटक हात धुने गर्नुपर्छ । व्यावहारिक सचेतनासँगै धुवा धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट उत्पन्न हुनसक्ने समस्याबाट बच्न सकिन्छ । झ्याल, ढोका थुनेर आगो नबाल्ने, हिटर, मकल, दाउराको सट्टा न्यानो कपडा, हट वाटर ब्याग र कम्मल प्रयोग गर्ने जरुरी छ ।






