बढ्दो महिला हिंसा

नेपालमा अहिले प्रत्येक दिन ६-७ जना दैनिक बलात्कृत हुने गरेको नेपाल प्रहरी अनुसन्धान केन्द्रको तथ्यांकमा सार्वजनिक हुँदै आएको छ । मूलतः केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार हाम्रो देशमा २०७४ साल चैतदेखि २०७५ असारसम्म चार महिनामा १ सय १८ बालबालिका बलात्कृत भएको सार्वजनिक भएको थियो । यसमध्ये १४ जना बालिकाको सामूहिक बलात्कार भएको छ । यसमा सेक्स, जबर्जस्ती करणी, बलात्कार, सामूहिक बलात्कार र त्यसपछि हत्या भएको थियो । योबाहेक नेपाल प्रहरीले संकलन गरेको तथ्यांकलाई हेर्ने हो भने १० भदौ २०७० देखि ९ भदौ २०७५ सम्म १ हजार ३४ जनाको बलात्कारका घटनाका फस्र्ट इन्फरमेसन रिपोर्ट एफआईआर दर्ता भएको थियो । जसमा आफन्त, बिरामी, दुधे बालिकादेखि ९२ वर्षीया वृद्धा समेत बलात्कारको सिकार भएका छन् । तर, ६० प्रतिशत बलात्कार चाहिं १५ वर्षमुनिका बालिकाको भएको छ । यसमा सर्सर्ती हेर्ने हो भने खासगरी ११ देखि १५ वर्ष उमेर समूहका बालबालिका यसरी बलात्कारमा पर्न गएका छन् । यो समस्या दिनानुदिन विकराल हुँदै गएको छ ।

मुलुकमा आर्थिक वर्ष २०७०-७१ मा ५ सय ५९ बालिकाहरू बलात्कारको सिकार भएका थिए । त्यसैगरी गत वर्ष यो संख्या १ हजार ३ सय ९३ पुगेको थियो । यसर्थ आर्थिक वर्ष २०७०-७१ देखि २०७७-७८ सम्म आइपुग्दा अर्थात् सात वर्षमा १४ हजार महिला बलात्कृत भएका थिए । त्यसमध्ये ६ हजार ३ सय ६३ बालिका रहेका छन् भने ८ हजार ३ सय ९१ बालिगहरू रहेका छन् । यसैक्रममा हेर्ने हो भने २०७५ साल साउन महिनामा कञ्चनपुरकी निर्मला पन्तदेखि गत माघ २१ गते २०७७ सालसम्म आइपुग्दा बैतडीकी भागरथीसम्म राष्ट्रमा ३ हजार ३ सय ४७ बालिका बलात्कृत भएका छन् । यसभित्र पनि अपराध लुकाउन १७ जना पीडितको हत्या समेत भएको छ । यो अढाइवर्षमा बलात्कारबाट पीडित ३ हजार ३ सय त बालिका मात्र हुन् । यसैबीचमा ६ हजार ८ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । यसरी मुलुकको पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चार जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७६-७७ मा २ तथा २०७५-७६ मा ११ जनाको हत्या भएको थियो । त्यसपछि हालसालै बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको उनकै छिमेकी दाजुभाइ पर्ने किशोर दिनेश भट्टबाट बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । त्यस्तै अर्को घटना दुई वर्षअघि उखुबारीमा बलात्कारपछि हत्या गरिएकी उनको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । यी घटनाले के स्पष्ट हुन्छ भने यो देशमा छोरीले स्वतन्त्रतापूर्वक बाँच्न पाउँदैनन् ।

महिला हिंसा उन्मूलनका नारा ब्यानरमा मात्रै सीमित हुन पुगेपछि नारीहरू सुरक्षित कहिले हुने हो

नेपालमा महिला हिंसाको प्रहरीको तथ्यांक हेर्दा विगतका पाँचवटा आर्थिक वर्षमा देशमा ८ हजारभन्दा बढी बलात्कार र ३ हजार १ सयभन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखिएको छ । सोही अवधिमा झन्डै ६० हजार घरेलु हिंसाका घटना दर्ता भएको थियो । यो डरलाग्दो तथ्यांक हो । यसमा कतिलाई कारबाही भयो कति स्वतन्त्रपूर्वक महिला अधिकारको वकालत गर्दै होलान् नहोलान् भन्न सकिन्न । यति हुँदा पनि सरकार भने प्रतिबद्धता जनाउने प्रतिबद्ध नहुने अवस्था देखिएको छ । बलात्कार जस्तो जघन्य अपराधमा अपराधीले सहजै उन्मुक्ति पाइरहेको छ । यसैगरी सडकमा दिनहुँजसो बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठे पनि त्यसलाई ठोस रूपमा लिएको देखिँदैन । यसका केही ज्वलन्त उहारणहरू छन् । जसलाई सञ्चारमाध्यमका अधिकारकर्मीले जोडसँग आवाज उठाउँदै आएका छन् ।

यसमा देशका सामान्य मानिसदेखि उच्च तहका मानिस बलात्कारका घटनामा मुछिएको समाचार दिनहुँ आउनुले पनि महिलाप्रतिको हेराइमा बाहिर जति राम्रो भने पनि भित्री मनमा खराब भावनाले काम गरेको पाइन्छ । महिला भनेका भोग्य वस्तु हुन् भन्ने मानसिकता केही पुरुषमा कायमै रहिरहेकाले पनि आज बलात्कारका घटनामा कमी नआएको हो । यसका साथसाथै निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा महिला सांसदले हत्यारा पत्ता लगाउन एकै आवाजमा सभाहल घन्काएका थिए भने आज रोशनी शाहीको केसमा महिला सांसदहरू मौन रहेका थिए । यसले के देखाउँछ भने सत्ता र शक्तिको चंगुलमा अझै नेपाली माहिला रुमलिरहेका छन् भन्ने बुझिन्छ ।

सडकमा दिनहुँजसो बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठे पनि त्यसलाई ठोस रूपमा लिएको देखिँदैन

समग्रमा भन्नुपर्दा गतसाल भएको बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीलाई स्वतन्त्र रूपमा उच्च मनोबल हुनेगरी अनुसन्धान गरेका कारणले गर्दा आफ्नै भाइ पर्ने व्यक्तिबाट घटना भएको कुरा प्रहरी अनुसन्धानबाट पुष्टि भई सार्वजनिक भएको छ । हाम्रो समाजमा बलात्कार रातारात कतैबाट निर्यात गरिएको आयातीत वस्तु होइन, वर्षौँवर्ष खर्चिएर यही समाज, राजनीतिक दल, राज्य र व्यवस्थाद्वारा निर्माण गरिएको मानसिकताको उपज मात्र हो । यस्तो किसिमको घटना नियन्त्रण हुनुभन्दा बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कारको २ हजार १ सयभन्दा बढी घटना र घरेलु हिंसाका ११ हजार ७ सय ३८ वटा घटना दर्ता भएका थिए ।

यसको साथसाथै दुई वर्ष बढी भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, प्रहरीले अहिलेसम्म संलग्नलाई पक्राउ गर्न सकेको छैन । धेरैपटक घटना र अपराधीको नजिक पुगेको बताउने प्रहरीले अपराधी पक्राउ गर्न सकेन वा नजिक पुगेर पक्राउ गर्ने आँट नगरेको आशंका धेरै भए । यस्ता घटनामा जनदबाब बढेकाका कारण प्रहरीले अनुसन्धान गर्न सकस भएको निम्सरो जवाफ दिने गरेको छ । यस्ता किसिमका विगतमा भएका पीडादायक कुराले पीडितलाई भन्दा पीडकलाई सहयोग पुग्दै गएको छ ।

यसरी छिमेकी, आफन्त वा परिवार पनि बलात्कार हुने गरेको घटना बाहिरिने गरेका छन् । बलात्कारका घटना हाम्रो समाज कति क्रुर बन्दै छ । हरेक छोरी, बुहारी, आमा र हजुरआमा पलपलमा बलात्कारका सिकार हुँदै छन् । हामी बस्ने समाजभित्र र त्यो निकृष्ट कार्य गर्दै छन् हाम्रै समाजभित्रबाट, आखिर यस्तो किसिमको घटना कहिलेसम्म हुने हो । अतः यस्ता किसिमका बालबालिकाले आफ्नो आवाज दबाएर पीडा सहेर बस्नुबाहेक उनीहरूसँग विकल्प पनि छैन । यसमा जति कानुन बने पनि नारीका लागि जति अधिकारका कुरा गरे पनि ती सबै कागजपत्र र कुराहरूमा मात्रै सीमित भएका छन् । देशमा भने हुनेखानेकै बोलवाला रहेको छ । जहाँ न्याय पनि पैसामा बिक्छ ।

यसर्थ धनीहरू पैसाले कानुन र न्यायलाई किनिरहन्छन् । यसरी निमुखा गरीब तारिख खेप्दाखेप्दै मरिहान्छन् । एक्काइसौं शताब्दीसम्म पनि नारीले यसरी खुम्चेर रहनुपर्ने अवस्था निश्चय पनि खेदजनक हो । नारी सुशिक्षित, सक्षम र सबल हुने वातावरण नबनेसम्म जस्तोसुकै कानुनी व्यवस्था पनि प्रभावकारी हुने देखिँदैन । यसतर्फ भने सरकारको ध्यान कता छ ? महिला हिंसा उन्मुलनका नाराहरू के ब्यानरमा मात्रै सीमित हुन् त अनि नारीहरू कहिलेसम्म असुरक्षित हुने हो ?

तपाइको प्रतिक्रिया
(Visited 1,294 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?