‘त्यो कसको लाश ?’
अञ्जान प्रश्नले झसंग हुन्छु ।
‘कुन ?’ अघिल्तिर लम्पसार सन्त्रास नियाल्दै सोधें ।
‘ऊ त्यो के…!’ अञ्जान प्रश्न जिज्ञासु बन्छ, ‘तिम्रो लाश हैन ?’
‘…अनि म !? म को नि ?’ आफूलाई छाम्न थालें ।
‘तिमी…हा…हा…,’ ऊ हा“स्न थाल्यो, ‘तिमी त आत्मा हौ ।’
‘म मरिसकें र !?’ खङ्ग्रंग हुन्छु ।
‘त्यो तिम्रो लाश हैन ?’ ऊ औंला सोझ्याउन थाल्यो ।
‘हो, मै हु“,’ आर्यघाटमा पसारिएको मेरो आफ्नै लाश आँखामा बिझाउन थाल्दैछ ।
‘…अनि तिमीचैं ?’ अनौठो उसको अनुहार नियाल्दै सोधें ।
‘…म…पनि आत्मा,’ उसले भन्यो ।
‘तिम्रो लाश खै त ?’ वरिपरि हेर्दै सोधें ।
‘परको डाँडामा गाडेको छ,’ उसले थुम्को डा“डा देखाउ“दै भन्यो ।
‘जलाइएन ?’ फेरि सोधें ।
‘म तिमीजस्तै मरेको हुँ र ?’ उसले मेरो आ“खामा आफ्नो आ“खा गहि-याउँदै भन्यो ।
‘…अनि ?’
‘छात्तिमा खुकुरी घोपेर मारेको…,’ उसको अनुहार मलिन लाग्दैछ ।
‘किन ?’
‘थाहा छैन, सायद सम्पति कारण थियो,’ ऊ रुन थाल्यो, ‘सम्पतिले आफ्नै पनि बैरी बनाउँदोरहेछ !’
‘तिमीलाई कसले मारेको ? उनीहरू पक्राउ परेनन् ?’ म ऊतिर तानिन“ थालें ।
‘पक्राउ गरिएन, केस गुपचुप बनाइयो । म बेपत्ताको सूचीमा परें । म आत्मा भइसकेको कसले देखोस् ?’ ऊ धर्धरी रुन थाल्यो ।
साँघुरो वायुमण्डल अनौठो गन्धमा रन्थनिइरहेको छ । मिश्रित कोलाहल । सुकेनासले छोएको बाग्मती ‘सिन्के’ सर्पको नियति झेलिरहेकी छे । घुँडामाथिसम्म पाइँट सोहोरेका ‘फुच्चे’हरू नदीभित्र मोहर (सुन पनि हुनसक्छ !) ‘मोह’ पालिइरहेका छन् । मन्दिर घण्टी निरन्तर टिङटिङ । शंख ध्वनी ।
‘हाई ब्रो ! माल छैन ?’ हामीसँग एउटा किशोर पनि थपियो ।
‘कस्तो माल !? तिमी त मरिसक्यौ,’ हामीले छक्क पर्र्दै सोध्यौं ।
‘को मरेको…म ? बोल्दै छु त…,’ किशोर आफूलाई छाम्न थाल्छ ।
‘पत्यार नलागे उ त्यहाँ हेर, तिम्रो लाश भर्खरै ल्याइएको छ,’ हाम्रा स्वर एकाकार हुन्छन् । किशोर नियाल्न थाल्यो ।
‘मम् किन रुनु भएको ? रितेश, राजु, रमा, श्याम, ध्रुव…गाइजहरू सबै यहीँ…†’ किशोर उफ्रिन थाल्छ, ‘…अनि खै त मेरो लाश ?’
‘पहेंलो कात्रोमा बेरिएको छ, उ त्याँ छ नि यतापट्टिको…तिम्रो लाश,’ किशोरका नजर औंलासँगै डोहो-याउ“दै भनें, ‘अब एकैछिनपछि देख्ने छौं ।’
किशोर अघिभन्दा शान्त देखिन थाल्यो । उसले ‘माल’ (गाँजा, चरेश, अफिम) बिर्सेको छ । ऊ चिच्याउँछ, कोही सुन्दैनन् ।
‘मम्, ड्याड…केटा हो,’ किशोर घाटमा जम्मा भएका आफन्तमाझ गएर चिच्याइरहन्छ । सबैलाई घचघच्याउन खोज्छ ।
‘मेरो आवाज किन नसुनेको ?’
‘तिमी मरिसक्यौं, त्यसैले…’ किशोरलाई सहज बनाउन खोज्छु ।
‘उ हेर, तिम्रो लाश…,’ किशोरको लाशमाथि कात्रो उदांगिएपछि मेरा ‘आत्मा मित्र’ चिच्यायो ।
‘हो, त्यो मै हुँ । यति चा“डै मरें…र ?† मेरा साथीहरू, मम्, ड्याड…’ किशोर कहालिन थाल्यो ।
‘तिमीलाई बा’आमाले माया गर्नुहुन्नथ्यो ? कलिलै उमेरमा आत्मा बन्यौै,’ किशोरछेउ गएर सोधें ।
‘गलत बाटो हिँडें, ड्रग्स, फिक्स, रक्सी, ट्याप, नशालु पदार्थ सबै लिए“,’ बोल्दै गर्दा किशोर झोत्र्याउन थाल्यो । केही क्षणमा नाक सुइ“क्क पार्दै फेरि बोल्यो, ‘अंकल, मलाई फर्काइदिनु न, एकदमै छट्पटी भयो । अबदेखि यस्तो कुलतमा लाग्दिन“ । मम्, ड्याडले भनेको मान्छु, अंकल !

बर्बरी झरिरहेको किशोरको आ“सु बाग्मतीमा पनि मिसिन सकिरहेको छैन । कालो बादल मडारिएको मौसम हामी आत्मा भइसकेकालाई धुमिल पार्न खोज्दै छ । पारिपट्टि प्रेमालापमा भुलेर ‘लाश’हरूलाई रमिता मानिइरहेका ‘प्रेम’ जोडीहरू कानेखुसी गरिरहेका छन् । लाशमा आगो झोसिरहेका ‘बाजे’हरूका अनुहार संवेदना शून्य प्रतीत हुन्छ ।
(घाटमा लाश जलाउनेलाई ‘बाजे’ पुकारिन्छ ।)
‘मेरो बाबु…मलाई छोडेर नजाऊ,’ एउटी महिला चिताछेवैमा बेहोस हुन्छिन् । आफन्त उनलाई ढाडस दिइरहेका छन् । कोलाहल एकाएक बाक्लिन्छ । रोदनहरू चारैतिर गुञ्जिन्छन् । आर्यघाटमा ‘रमिते’ बनिरहेकाहरूका अनुहार मलिन लाग्छन् ।
‘मम्, ड्याड…,’ किशोर छट्पटाउन थाल्यो । उसको लाश जलाउने तयारी हु“दै छ । अन्तिम संस्कार गर्न लाग्दा ढलेकी उसकी ‘मम्’ अझै होसमा आएकी छैनन् । ‘ड्याड’ दागबत्ती समाएर किशोरको चिता घुम्न थाले ।
‘अंकल मेरो लाश के गर्न लागेको ?’ किशोर झनै छट्पटाउन थाल्यो ।
‘तिमी अब खरानी हुँदै छौं,’ शाश्वत बोलें ।
‘प्लिज अंकल,’ किशोरका नजर शून्य वायुमण्डल केलाउन थाले । उसको नश्वर शरीर दाउराका थाकमाथि विस्तारै ‘चिर्चिर्…’ आवाज निकाल्दै जल्न थाल्दै छ ।
‘लौ हेर ! तिम्रो लाश आगोमा जल्न थाल्यो,’ कताकता विलिन हु“दै गरेको किशोरलाई आगोस“ग साक्षात गराए“ । ऊ क्रमशः मत्थर हुनेक्रममा छ ।
‘अहिले कस्तो लागिरहेको छ ?’ सोधें । जवाफ आएन । (मौन परिवेश)
किशोर मन्द चल्मलाइरहेको छ । खरानी हु“दै गरेको आफ्नै लाश उसलाई बिझारहेझैं लागिरहेको छ । मेरा ‘आत्मा मित्र’ आफू गाडिएको जंगलतिर फर्केर एकनास टोलाइरहेको छ । वायुमण्डल उही अनौठो गन्धमा सल्बलाइहेको छ, दुङ्दुङी ।
‘तिम्रो लाश त उठेन नि ! आफन्त कोही छैनन् ?’ आत्मा मित्रले सोध्यो ।
‘ए ! हो त,’ म झसंग भएँ ।
‘तिमी पनि मरेको हैन र ?’ मित्र केलाउन थाल्यो ।
‘हो, तर यहा“ हैन, विदेशमा मरेको,’ हड्बड् गर्दै भनें ।
‘मर्न विदेश पुग्यौ ?’ आत्मा मित्रले निधार खुम्च्यायो ।
‘भाग्य त्यस्तै रहेछ,’ सहज हुन खोजें ।
‘अभागी रहेछौं, सास त माटोमै छा्ड्नुपथ्र्यो नि ! ?’ मित्रको अनुहार कालो बादल बन्यो । किशोर उसकी बेहोस आमातिर हेरिरहेको छ ।
‘मलाई पनि आफ्नैले खाल्डोमा हाले,’ मेरो निराशा सुस्केरामा हल्लियो ।
‘पर हेर त, तिम्रो लाशनिर को हुन् ?’ मित्र हड्बडायो ।
‘ओ…हो…मेरी श्रीमति, आमा, बच्चा…,’ म छट्पटाउन थालें, ‘म मरेको सुनेर उनीहरू गाउँबाट आइसकेका रहेछन् !’
‘तिम्रो पनि हालत पत्ला रहेछ !’ आत्मा मित्र निराश सुनियो ।
बच्चा च्यापेकी श्रीमति भक्कानिरहेकी छन् । छेवैको सत्तलमा थुचुक्क बसेकी मेरी आमा सलले मुख छोपेर मेरो लाश नियालिरहेकी छन् । घाटमा धुवाँको मुश्लो सहन नसकिरहेको मेरो काखे बच्चा रोइरहेको छ । यता लाश । उता लाश । ल्याइँदै लाश । जलाइँदै लाश ।
‘तपाईंले विदेशमा कति कमाउनुभयो ?’ चम्किलो सर्टको खल्तीमा कलम भिरेको नौलो युवक एक्कासी मस“ग सोध्न आइपुग्यो ।
‘तिमी को हौं ?’ झर्केर सोधें ।
‘विस्तारै बोल्नूस्, हामी सबै आत्मा हौं,’ युवकले हल्का निहुँरिँदै भन्यो ।
छेवैको मित्र मुसुमुसु हाँस्न थाल्यो । बेहोस आमातिर हेरिरहेको किशोरको अनुहार केही उज्यालो देखि“दै छ ।
‘तिम्रो लाशचाहिँ खै त ?’ युवकसँग सोधें ।
‘कसैले थाहा नपाउनेगरी उहिल्यै जलाइसके,’ युवकले मेरा आत्मा मित्रतिर देखाउँदै भन्यो, ‘म पनि उहाँजस्तै बेपत्ताको सूचीमा छु । हाम्रा आफन्त अझै पनि सडकमा नारा लगाउ“दै प्लेकार्ड–व्यानर बोकेर हिँडिरहेका छन् । तर, हामी भने आत्मा भइसक्यौं ।’
विदेशी धनको मोहले मेरो शून्य मष्तिस्क चहार्न थाल्यो । आर्यघाटमा पल्टिरहेको आफ्नै लाशले पनि मलाई गिज्याइरहेको छ ।
‘उ पर ती बहिनी छिन् नि, तिनी आफ्नै पिताबाट लुछिइन्, यी माइला दाई सहरमा खान नपाएर मरे,’ मलाई आत्माहरूसँग परिचय गराउँदै गरेका युवकका आँखा रसाउन थाले ।
घाटमास्तिरको वायुमण्डलमा आत्माका पाइला बढ्दै छन् । अलि तल रोदन–आँसु,–चित्कार–वियोग । जहा“ कृत्रिम जीवन बा“च्नेहरू अलि परको कृत्रिम संसार (सहर)भित्र छिर्न आतुरी देखाइरहेका छन् । जसले ‘आत्मालोक’ कल्पनासम्म गरेका छैनन् ।
‘मेरो बच्चो…!’ उज्याले हुनै लाग्दा ओठबाट फुत्कियो । मेरो लाश खरानी हुनै लागेको रहेछ । बूढी आमा र श्रीमति सत्तलमै आ“सु नापिरहेका छन् ।
‘जाउँ अब,’ मित्र बोल्यो ।
हाम्रा नजर वायुमण्डलभित्र विलिन हु“दै छन्, शून्यताले स्वागतमा हात हल्लाइरहेको छ, हामी आत्माहरूको आगमनमा ।
स्थान : आर्यघाट
समय : अपराह्न
परिवेश : कोलाहलमय
मन्द हावा चलिरहेको छ । पात–पतिंगर लत्रक्क परेका छन् । वायुमण्डल त्यस्तै छ, धुम्म । जिउ“दा मान्छेका अनुहार पसिनाले मुछिएको छ । आ“सु–पसिना–पसिना–आँसु । बाक्लो बादलले धर्तीमा घाम छर्न दिएको छैन, ताप भने उखरमाउलो छ । आर्यघाटवरिपरि आत्माहरू टहलिरहेका छन् । छटपटी अनि संलाप ।
‘तिमी पनि म-यौं ?’
‘तिमी सोध्ने को हौं ?’
‘म…म आत्मा’
‘…अनि ?’
‘तिमी पनि म-यौं भनेको ?’ (लामो हाँसो)
‘कसरी ?’
‘तिमीले आफ्नै लाश देखेनौं ?’
‘कहाँ छ ?’
‘उ…त्या“…,’
‘हो त,’ ऊ रुन थाल्यो ।
‘भयो नरोऊ, हामीतिर हेर’
घाटमा लाशहरू थपिँदै छन् । खल्याङबल्याङ बाक्लिँदै छ । सेता देवलका कुनाकाप्ची जल्दै गरेका लाशबाट निस्किरहेको धुवाँ आपसमा मिलिरहेको छ, को छुत, को नछुत ? धुवाँमा भेद्भाव छैन । सीमाभित्र बाँधिएका जिउँदा मान्छेहरू नाक छोपिइरहेका छन् ।
‘यी जिउँदा मान्छेले नाक किन छोपेका ? यिनीहरूले चाहिँ मर्नु पर्दैन ?’ एक आत्मा असतुष्टि पोख्छ ।
‘सबैले माटो हुनुपर्छ, जिउँदा मान्छेहरू ढोंगी छन्,’ अर्को आत्मा बोल्यो ।
‘मनुपर्छ भन्ने थाहा पाएर पनि ?’ नवआत्मा जिज्ञासु देखियो ।
‘उ हेर, तिम्रा लाशनिर बसेर तिनीहरू कस्तरी हाँसिरहेका छन्, कुनै चिन्ता छ ?’ बुजु्रग आत्मा सोध्छ ।
नवआत्मा आफ्नो लाश हेर्न थाल्छ । उसलाई दिक्दारी लाग्छ । आफ्नो लाशछेउ पुग्छ । छुन खोज्छ तर, असमर्थ ।
‘म आफ्नै लाश छुन सक्दिन“ ?’ (नवआत्मा)
‘सक्दैनौं, तिमी मरिसक्यौ,’ बुजु्रग आत्मा भन्छ, ‘मरेपछि सबै आफ्नो लाश देखेर कहालिन्छन् । तर, केही गर्न सकिन्न । हामी मरिसक्यौं । उ त्यो चिहानभित्र मेरो लाश अझै जस्ताको तस्तै छ । गाडेको धेरै दिन भएको छैन ।’
वायुमण्डलमा खैलाबैला मच्चिन्छ । बालबच्चा, ज्येष्ठ नागरिक, किशोरकिशोरीका आवाज आपसमा ठोक्किइरहेका छन् ।
‘यिनीहरू किन करा’का ?’ नवप्रवेशी आत्मा सोध्छ ।
‘भट्किरहेका छन्,’ बुजु्रक आत्माले भन्यो ।
‘किन ?’
‘सबैको मृत्यु अकालमै भएकाले,’ बुजु्रक आत्मा जवाफ दिन्छ ।
घाटमा जिउँदा मान्छेहरू उन्मुक्त लागिरहेका छन् । मोबाइलबाट उनीहरूले एकैछिन पनि फुर्सद पाइरहेका छैनन् । कोही सेल्फी खिचिरहेका छन्, कोही गेममा मस्त । सामाजिक सञ्जालमा भुलिरहेकाहरू ‘स्क्रिन’तिर हेरेर मुसुमुसु हा“सिरहेका छन् । मोटरसाइकलका ‘टाँ–टूई’ घाट रन्थनिरहेको छ । अभिवादन–नमस्कार फर्काउनेहरू ‘आत्मशान’मा पुलकित देखिन्छन् ।
‘तिमी साहित्यकार हौं ?’ बुजु्रक आत्मा सोध्छ ।
‘हो, साहित्यमै जीवन बिताइयो,’ नवप्रवेशी आत्माले लामै सुस्केरा हाल्यो ।
‘त्यसैले लस्कर छैन, तिम्रो लाश पल्टेको पल्टै छ,’ अर्को आत्मा छेवै आएर प्याच्च बोल्यो ।
‘चाहि“दैन मलाई केही पनि…,’ साहित्यिक आत्मा बम्कियो ।
‘तिमी त मरिसक्यौ, तिमीलाई किन चाहियो ? तिम्रो परिवारलाई चाहि“दैन ?’ बुजु्रक आत्माले एकै सासमा भन्यो ।
साहित्यिक आत्मा सोचमग्न हुन्छ । आर्यघाटमा उसकी पत्नी राता आ“खा पारेर अश्रुधारा बगाइरहेकी छन् । छोराछोरी देखिइरहेका छैनन् । केही नजिकका भाइबन्धुमात्रै छन् । जलाउने मोलतोल नमिल्दा उसको लाश निकै बेरदेखि ब्रम्हनालमा लम्पसार छ । अन्तिम संस्कारका लागि चन्दाको जोहो हुँदैछ ।
‘देख्यौ, तिम्रो लाश जलाउने पैसासम्म छैन,’ बुजु्रक आत्मा घाउमा नुन छर्छ ।
‘देखिरहेको छु, मलाई एकदम छट्पटी भइरहेको छ,’ साहित्यिक आत्मा घोप्टो परेर रुन थाल्यो ।
‘दोष तिम्रोमात्रै हैन, शासकको हो,’ बुजु्रक आत्मा सम्झाउन खोज्छ ।
वायुमण्डलमा भट्किएका टाउकाहरू थुप्रिनेक्रम जारी छ । काला–गोरा । होचा–अग्ला । राम्रा–नराम्रा । वायुमण्डलबाट उनीहरू आर्यघाटका जिउँदा मान्छेहरू छामिरहेका छन्, एकटक ।
स्थान : उही आर्यघाट
समय : रात्रिकालीन
परिवेश : सुनसान
सन्ध्या आरतिको राग भर्खरै सेलाएको छ । भगवानको नाममा बालिएका धुपबत्ती निभ्नै लागिरहेका छन् । भष्म दलेका साधुसन्त–बाबा धुनीअघिल्तिर लम्पसार परिसकेका छन् । केही लाश जलिरहेका छन् । उज्यालो खासै छैन । दिउँसो धुम्मिएको आकाश अहिले खुलेको छ । हँसिया आकारमा चन्द्रमा मुस्कुराइरहेको भान हुन्छ ।
‘तिम्रो लाश अझै त्यही“…?!’ (बुजु्रक आत्मा)
साहित्यकार झसंग हुन्छ । ऊ निन्याउरो अनुहार पारेर बुजु्रकतिर हेर्न थाल्छ ।
‘पैसा उठेनछ ?’ बुजु्रक आत्मा सोध्छ ।
‘अँह…†’ साहित्यकार आफ्नो लाशनिर पुगेर भन्छ ।
‘तिम्रो लाश यहाँ कसले सा-यो त ?’ बुजु्रक सोध्छ ।
‘यहीँका घाटेहरूले सारे, ब्रम्हनालमा अरू लाश ल्याइए, त्यसैले…,’ साहित्यकार रुन थाल्यो । उसकी पत्नी देखिन्नन् ।
‘…अनि तिम्री पत्नी र साथीहरू…?’ बुजु्रकले नजर फैलाउ“दै सोध्यो ।
‘उनीहरू कुनै प्रतिष्ठान धाउन गएका छन्, आउ“दै छन् कि †?’ निरश साहित्यकार बोल्यो ।
‘हा…हा…अनि आफ्नै लाश कुरेर बसेको ?’ बुजु्रक मज्जाले हा“स्छ ।
‘के गर्ने शरीरको माया लाग्दोरहेछ,’ साहित्यकार आफ्नो लाश छुन खोज्छ ।
‘उ…उनलाई चिन्छौ ?’ बुजु्रकले होचो कदका आत्मातिर देखाउ“दै सोध्यो ।
‘अरे ! किन नचिन्नु ? नरेन्द्रजी हैन, मिर्गौला फेल भएर बित्नुभएको थियो,’ साहित्यकारको अनुहारमा एकाएक चमक देखियो ।
‘…तर, उनी अब मात्र आत्मा हुन्, नरेन्द्रले साहित्यमा त्यत्रो योगदान दिए । अन्त्यमा घिटघिट भएर मर्नु प-यो,’ बुजु्रक आत्मा रोकिन सक्दैन, भन्दै जान्छ, ‘मेरै पनि इमान्दारिताको बद्लामा हत्या भयो, मेरो लाश गुपचुप गाडियो । कसैले पत्ता लगाउनै सकेका छैनन्, मेरो लाश कहाँ गाडिएको छ ?’
तमाम आत्माबीच रुवाबासी चल्न थाल्यो । आर्यघाटमा भौतारिरहेका कुकुरहरू आकाशतिर फर्केर भुक्न थाले । एम्बुलेन्स ओहोरदोहोर गरिरहेका छन् । आवाज छैनन् । जिउ“दा मानिसका पाइला घाटमा बढिरहेका छन् । मलामीले ‘उचित’ पैसा नदिएपछि घाटेहरू फट्फटाइहेका छन् ।
‘हामी आत्मा एक हौं’
‘हाम्रो माग पूरा गर’
वायुमण्डल नाराले गुञ्जिन्छ । जिउँदाले यसको पत्तो के पाउँथे ?
‘यो के हो ?’ साहित्यिक आत्मा हाँस्न थाल्छ ।
‘हामी जिउँदो छँदा लागेको बानी,’ (लामो हा“सो) बुजु्रक थप्छ ।
साहित्यकार निराश देखिन्छ । बाग्मती चाल नपाउनेगरी बगिरहेको छ । चन्द्रमा झन् तेजिलो लाग्दै छ । लाशहरू एकपछि अर्को जलिरहेका छन् ।
‘म जल्न पाउँदिन, कुहिन्छु अब…†?’ साहित्यकार निसासिन थाल्यो ।
‘त्यसो हुन्न,’ बुजु्रक सान्त्वना दिन्छ ।
‘…अनि ?’ साहित्यकार अलमलिन्छ ।
‘उनी मर्दा पनि यस्तै भएको थियो,’ बुजु्रकले नरेन्द्रतिर औंला सोझ्याउ“दै भन्यो, ‘बिल भुक्तानी नहु“दा अस्पतालले लाश दिनै मानेन । त्यसबेला सरकार पनि चुपचाप बस्यो । आखिरीमा चन्दा उठाउनुप-यो ।’
होचो कदको नरेन्द्र एकाएक रुन–कराउन थाल्यो । रोगले थिल्थिलाएको उसको अनुहार आत्मा भइसक्दा पनि त्यस्तै देखिन्छ । उत्ति बोल्दैन । जीवनकालमा कलम तिखो थियो । गोजी रित्तो । केही दिन त मागेरै जीवन चलायो । केही नलागेपछि अन्ततः नश्वर शरीर त्याग्न बाध्य बन्यो । अहिले ऊ स्वतन्त्र आत्मा बनेको छ, जो सबैले हुनुपर्छ ।
‘खै अहिलेसम्म आएनन् ? मेरी पत्नी कहाँ भौतारिरहेकी होलिन् ?’ साहित्यिक आत्मा अत्तालिन थाल्छ ।
‘आइन्, आइन् । एक्लै छिन् त ! खै साथीहरू ?’ बुजु्रक आत्मा छक्क पर्छ ।
‘सब स्वार्थी छन्…,’ साहित्यकार आफ्नो लाश हेरेर भक्कानिन थाल्यो । उसकी पत्नी लाशछेउ आउ“छिन् । पतिको लाशमा ओढाएको कात्रो निकाल्छिन् । अनि, घोप्टो परेर रुन्छिन् ।
‘मैले केही गर्न सकिन“, लाश जलाउन हजूरले नै दिनुभएको तिलहरी बन्धकी राखेकी छु । मलाई माफ गरिदिनूस्,’ साहित्यकारपत्नी घ्वा“घ्वा“ रुन थालिन् ।
अवाक र निरीह छ, साहित्यकार । बुजु्रक केही बोल्न सक्दैन । नरेन्द्र घोप्टो परेको छ । अरु आत्माहरू खैलाबैला गर्दै विलिन भइरहेका छन् ।
‘जाऔं अब,’ बुजु्रक साहित्यकारको हात समाउँछ ।
‘नाई, म जान्न“, यो अन्धकारमा उस (पत्नी)लाई एक्लै छोडेर…,’ साहित्यकार चिच्याउन थाल्छ, शून्य वायुमण्डलबीच । उसको चित्कार कसले, कसरी सुन्ला ? तल घाटमा जल्दै गरेका लाशबाट उछिट्टिरहेको उज्यालो जिउँदा मान्छेहरूको ह“सिलो अनुहार चहारिरहेको छ, फस–फस–फस ।






