काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको बिहिबार बिहान हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको छ । आचार्यलाई बिहिबार बिहानी पख छातीको समस्या भएपछि परिवारले ओम अस्पताल लगेको थिए । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारले बताएका छन् । बिहिबार बिहान उनको पशुपति आर्यघाटमा अन्तिम सँस्कार गरियो । आर्यघाटमै उनको श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु उनको अन्त्यष्टीमा पुगेका थिए । आचार्यको परिवारमा एक छोरा र श्रीमती छन् ।
निर्देशक रेशराज आचार्यको जन्म ६३ वर्ष अघि विराटनगरमा भएको थियो । चलचित्र निर्माता उद्धब पौडल, तुलसी घिमिरे लगायतको सँगतले उनी फिल्म क्षेत्रमा आएका थिए । उनी सुरुमा कलाकार भएर चलचित्रमा प्रवेश गरेका थिए । चलचित्र ‘मायालु’ कलाकार बनेर फिल्मी यात्रा सुरु गरेका उनले केही चलचित्र खेलेपछि बन्नी प्रधानको सहायक निर्देशक भएर निर्देशन यात्रा सुरु गरे । आचार्यले चलचित्र ‘तिलहरी’ बाट सहायक निर्देशकको रुपमा निर्देशन यात्रा सुरु गरेका थिए ।
गोपीकृष्ण मुभिजसँग पारिवारिक रुपमा जोडिएपछि उनी गोपिकृष्णको ब्यानरमा निर्माण भएका चलचित्रहरुमा निर्देशन भर्ए । निर्देशक आचार्यले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ ‘प्रितिको फुल’, कस्तो साईन सहित १५ चलचित्र र विभिन्न टेली चलचित्र निर्देशन गरेका थिए ।
एक होनहार निर्देशक आचार्यको निधनले नेपाली चलचित्र उधोगलाई ठुलो क्षती पुगेको चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । आचार्यको निधन प्रति नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाजलगायतका संघ सँस्थाले बिहिबार शोक विज्ञप्ति जारी गर्दै श्रद्धासुमन अर्पण गरेको छ ।






