स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’boutमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ ।

लोसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार एमाले, लोसपा, जनमत, नेकपाबीच आगामी निर्वाचनमा चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । एमाले अध्यक्ष ओली, लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, जनमतका अध्यक्ष राउतका साथै नेकपा अध्यक्ष विप्लवबीच छलफल भएको हो ।

– सत्ताइतर गठबन्धन बनाउने गृहकार्यमा एमाले

– ओलीद्वारा ठाकुर, महतो, राउत, विप्लवसँग आन्तरिक छलफल

– ठाकुर प्रधानमन्त्री देउवा र ओली दुवैसँग दोहोरो छलफलमा

एमालेको बुधबार र बिहीबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । सोमबार पोलिटब्युरो कमिटीको बैठक सम्पन्न गरेको एमालेमा अधिकांश सदस्यले सत्ताइतरका बीचमा चुनावी गठबन्धन गर्न सुझाव दिएका थिए ।

जनकपुरमा रहेका लोसपा नेता ठाकुर, महतोसँग ओली निरन्तर फोन सम्पर्कमा रहेका छन् । यस्तै, राउत, विप्लवसँग समेत उनको फोनवार्ता भइरहेको छ । कपिलवस्तुमा पार्टी बैठकमा रहेका विप्लव काठमाडौं आएपछि छलफल हुनेछ । छिट्टै नै नेताहरूबीच छलफल गर्दै गठबन्धनको मोडालिटी’bout टुंगो लगाउने तयारी रहेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने’boutमा छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताए । तर, गठबन्धनको मोडालिटीलगायत’bout अहिलेसम्म टुंगो लाग्न नसकेको उनले बताए । छिट्टै नै चार दलबीच सबै विषयमा छलफल गरेर टुंगो लगाउने उनले बताए ।

तर, कांग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने विषयमा मत बाझिएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन कायम राख्ने पक्षमा उभिँदै आएका छन् कांग्रेस महाधिवेशनमा देउवालाई टक्कर दिएको शेखर कोइराला समूह गठबन्धन गर्न नहुने पक्षमा उभिँदै आएको छ । यहीबीच बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकबाट गठबन्धन’bout ठोस निर्णय गरिने कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

कांग्रेसभित्र मतभिन्नता भए पनि माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन हुने निश्चित छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनसम्म गठबन्धन बनाएरै निर्वाचनमा सहभागी हुने’boutमा छलफल भइरहेको बताए ।

यसैबीच एमालेसँग गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका लोसपा अध्यक्ष ठाकुर कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग समेत आन्तरिक छलफलमा रहेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको लोसपा सत्तारूढ गठबन्धनमै सहभागी हुन खोजेको छ । सत्तारूढ गठबन्धनसँग सहकार्य हुन नसकेको अवस्थामा सत्ताइतरको गठबन्धनमा सहभागी हुने रणनीति ठाकुरले बनाएका छन् ।

लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा देउवा र ठाकुरबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने’boutको एजेन्डाले प्रवेश पाएको छ । पार्टी प्रशिक्षण कार्यक्रममा जनकपुरधाम पुगेका ठाकुरले छलफलको क्रममा देउवाले चुनावी तालमेलको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

तर, ठाकुर आफूहरूले उठाएको माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडानमा रहेका छन् । देउवानिकटका नेताका अनुसार लोसपासमेत निर्वाचनअघि सरकारमा सहभागी हुनेछ ।

लोसपा कार्यकारिणी समितिका सदस्य इकबाल मियाले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी तालमेल, पार्टीले उठाएको मुद्दा’bout छलफल भइरहेको बताए ।

‘लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । त्यसपछि सरकारमै सहभागी हुन प्रधानमन्त्रीले आग्रह गर्दै आउनुभएको छ । तर, हामीले हाम्रो माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने भन्दै आएका छौं । उहाँ (प्रधानमन्त्री)ले आगामी स्थानीय तह निर्वाचनमा तालमेलको समेत प्रस्ताव गर्नुभएको छ तर अहिले निर्णय भएको छैन,’ मियाँले भने ।

देउवा र ठाकुरबीच चुनावी तालमेलका विषयमा छलफलका लागि तीनपटक भेटघाट भइसकेको मियाँले बताए । अध्यक्ष ठाकुरले समेत सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् । जनकपुरमै रहेका ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन र आगामी निर्वाचनमा तालमेल गर्न प्रस्ताव गरेका जनाएका छन् ।

यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहालले देउवा र ठाकुरबीच चुनावी तालमेलको विषयमा छलफल भइरहेको खुलासा गरेका छन् । पार्टी प्रशिक्षण कार्यक्रमका लागि मंगलबार जनकपुरधाम पुगेका दाहालले तालमेल’bout छलफल भइरहेको भए पनि औपचारिक रूपमा गठबन्धनभित्र प्रस्ताव नआएको बताए ।

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमालेमा प्रवेश
यसैबीच काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच समाजवादी जनता पार्टी (सजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेका छन् ।

सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सिंह यसअघि एमालेमै आबद्ध थिए । अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी थिइन् । तर, पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय रहेकी थिइन् ।

कार्यक्रममा अभिनेत्री मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताइन् । ‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई दुईपटक भेटें । उहाँको गुणगान नगाउने मान्छे नै छैन,’ उनले भनिन् । उनले आफू कुनै पदका लागि एमालेमा नआएको भन्दै नितान्त एउटा कार्यकर्ताका रूपमा एमालेमा जोडिन आएको बताइन् । तर, पार्टीले दिने जिम्मेवारी आफूले सक्रिय रूपमा निर्वाह गर्ने उनले उद्घोष गरेकी छन् ।

कम्युनिस्ट पार्टीका बीचमा एकता गरौं : भुसाल
यसैबीच मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्ने बताएका छन् । एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीबीचमा कुनै वैचारिक वा सैद्धान्तिक भिन्नता नै नभएकाले पार्टी एकता गरेर आगामी निर्वाचनमा सहभागी हुनुपर्ने उनले बताए ।

एमाले स्थानीय कमिटीका सदस्यसमेत रहेका नेता भुसालले नेपालका कम्युनिस्ट पार्टीबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताए । तत्कालीन नेकपाबाट विभाजन भएको एमाले, माओवादी केन्द्र र एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीबीच एकता हुनुपर्ने तर्क उनले गरेका छन् ।

विगतमा पार्टी विभाजन हुनुमा सबैको भूमिका छ भनेर आआपूmले आत्मालोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गर्न सकिने उनले बताए । आगामी स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्ने उनले बताए ।

‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नुपर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । वामपन्थलाई बलियो बनाउने हो । कम्युनिस्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्या आए र ती समस्याका कारणले जसरी कम्युनिस्ट आन्दोलन विभाजित भएर गएको छ ।

यो विभाजनमा हामी सबै जिम्मेवार छौं भन्ने मात्रै महसुस भयो भने, नेताहरूले जो यसका मुख्य प्लेयर हुन्, सहायक हामी पनि हौं । मैले पनि त्यो महसुस गर्नुपर्छ । पदअनुसार, भूमिका अनुसार यो विभाजनमा तिनीहरूको योगदान छ । यसका लागि सबैले यो महसुस गरिदिऊँ कि हामी सबै जिम्मेवार छौं,’ भुसालले भने ।

उनले आगाडि थपे, ‘कसको कति छ पछि विचार गरौंला भन्ने एउटा मात्रै स्टेटमेन्ट भयो भने अहिले गठबन्धन चाहिँ बन्न सक्छ । यो चुनावमा गठबन्धन बन्न सक्छ । हामीले गल्ती गरेका छौं । हामीले गल्ती नगरीकन यो अर्कैले आएर फोडिदिएको होइन, यसको जिम्मेवार हामी हौं । यति मात्रै भनियो भने एउटा प्रक्रिया सुरु भइहाल्छ यसले चुनावमा हाम्रो एउटा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । राजनीतिक रूपले यति मात्रै भन्दा हुन्छजस्तो लाग्छ मलाई ।’

नेता भुसालले नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा विगतको अनुभवबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरूको निजी स्वार्थमा टेकेर गर्न नहुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 552 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ