स्थानीय निर्वाचनमा मतदाता शिक्षा

म सानो छँदा दसैं आउने बेलामा साथीहरूबीच ‘दसंै आयो खाउँला पिउँला, कहाँ पाउँला ? चोरी ल्याउँला, धत् पापी छुट्टै बसौंला’ भन्ने गथ्र्यौं । यसको अर्थ त्यो बेला थाहा थिएन । मगजमा यक्ति मात्र रमाइलो अनुभूति हुन्थ्यो कि दसैं आएपछि मिठो खान पाइन्छ । राम्रो लगाउन पाइन्छ । खुसीयाली छाउँछ । उक्त भनाइ अहिलेको लोकतान्त्रिक व्यवस्थाको निर्वाचनको प्रसंगमा मिल्दोजुल्दो देखिन्छ । जनताका लागि २०७४ सालमा स्थानीय तहको निर्वाचन दसंै आए जस्तै उत्सवको वेला थियो । जनप्रतिनिधिलाई राजनीतिलाई खाउँला पिउँलाको आधार बन्यो । आमजनतालाई स्थानीय तहको निर्वाचन पछाडि गाउँमा विकासको लहर आउनेछ भन्न उमंग थियो । तर, ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ भयो । राज्यको पुनर्संरचना पछाडिको दोस्रो निर्वाचनसम्म आइपुग्दा स्थानीय तहमा हुनेगरेको भ्रष्टाचार र जनप्रतिनिधिका कार्यशैलीका कारण मतदाताहरूमा धत् † पापी छुट्टै बसौंलाको मनोविज्ञान सिर्जना भएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनका बेला आमनागरिकमा खुसीको लहर यस कारणले छाएको थियो कि गाउँगाउँमा सिंहदरबार भनिएको थियो । जनताको घरदैलोमा प्रशासनिक सेवासुविधा उपलब्ध हुने व्यापक प्रचारप्रसार गरिएको थियो । भाषणहरू भट्याइएको थियो । गाउँमा विकासको लहर आउँछ भनिएको थियो । त्यसैले जनतामा खुसीयाली थियो । निर्वाचन भयो । समय बित्दै गयो । केही विकासका काम नभएका पनि होइनन् । परन्तु स्थानीय सरकारले जनतालाई हरेक क्षेत्रमा करका भारी बोकाउने काम ग¥यो । स्थानीय तहमा भ्रष्टाचार व्याप्त भयो । स्थानीय निर्वाचनलाई दसैं पर्वका रूपमा मनाएका गाउँलेहरू ‘हिस्स बूढी, किच्च दाँत’को अवस्थामा पुगे । राजनीतिलाई खाउँला पिउँलाको क्षेत्र बनाइयो । स्थानीय सरकार वा जनप्रतिनिधि जनअपेक्षाअनुरूपको काम गर्न सकेनन् । कतिपय जनप्रतिनिधिलाई जनताले समातेर बाँध्नेसम्म काम भएको समाचार आए । स्थानीय सरकार आयो विकास र सुशासन होला भन्ने जनताको आशा निराशामा परिणत भयो । अब गणतन्त्रात्मक व्यवस्थाको दोस्रो स्थानीय तहको निर्वाचन आउँदै छ । केही अपवाद छाडेर २०७४ साल पछाडि निर्वाचित जनप्रतिनिधिप्रति जनताको चेतनामा परिवर्तन भएको छ त ? यस निर्वाचनमा विगतमा स्थानीय तहमा उत्पन्न भएका अनियमिता, भ्रष्टाचार, नातावाद, डोजर राजनीति र मनपरितन्त्रका आधारमा राज गर्ने राजनीति दल र यिनका जनप्रतिनिधिलाई बहिष्कार गर्लान् त ? जनप्रतिनिधिका विगत पाँच वर्षका क्रियाकलाप नै आममतदाताका लागि गतिलो शिक्षा होला त ?

स्थानीय तहमा भिजन र स्वच्छ छवि भएको नेतृत्व चयन गरी आफ्नो गाउँको विकास गर्ने जिम्मेवारी मतदाताको काँधमा आएको छ

मत भन्नाले सोचविचार गरिकन प्रकट गरिएको विचार हो । नेपालको संविधानले १८ वर्ष पूरा भएका हरेक नागरिकलाई आपूmले चाहेको राजनीतिक दल वा व्यक्तिलाई निर्वाचनमा स्वतन्त्रतापूर्वक मत दिन पाउने अधिकारलाई सुनिश्चित गरेको छ । यो अधिकारलाई उचित तरिकाले सदुपयोग गर्न मतदाताले सकेनन् भने स्थानीय तहमा भिजन, मिसन र एक्सन गर्न सक्ने सक्षम एवं इमानदार मानिस ओझेलमा पर्ने र पैसा खर्च गर्न सक्नेहरूले निर्वाचनलाई फेरि पनि ‘दसैं आयो खाउँला पिउँला’को अवसरमा परिणत गर्नेछन् । भ्रष्टहरूले मासु, च्युरा, रुरोट, रक्सी, पैसाको बलमा निर्वाचनमा मतहरू कुम्ल्याउनेछन् । राज्यको विकास बजेटलाई आफ्नो आयआर्जनको बाटो बनाउने भ्रष्टको हातमा नेतृत्व जानेछ । खराब प्रवृत्तिका जनप्रतिनिधिले विकास र सुशासनलाई बेवास्ता गर्नेछन् । तसर्थ, स्थानीय तहको निर्वाचनमा मतदाता सचेत हुन आवश्यक छ । नातावाद, कृपावाद, लोभ, लालच र स्वार्थमा नलागी असल चरित्र भएका स्थानीय जनप्रतिनिधिलाई निर्वाचित गर्न भूमिका खेल्नुपर्छ । यसो हुन सकेन भने पाँच वर्ष पछाडि फेरि ‘धत् ! पापी छुट्टै बसौंला’को अवस्था आउनेछ । त्यो बेला समाज धेरै पछाडि परिसकेको हुनेछ । राजनीति सीमित व्यक्ति वा समूहको ‘खाउँला पिउँला’को स्रोत हुनेछ । तसर्थ, मतदाता सचेत हुनु जरुरी छ ।

नेपाली समाजमा निर्वाचनमा अत्यन्तै जनउत्साहको विषय हुँदाहुँदै पनि समाजमा शैक्षिक चेतनाको कमीले मतदाताले सक्षम व्यक्तिको चयन गर्न नसकेको विगतका निर्वाचनमा देखिएको छ । नेपालको संविधानले राज्यको पुनर्संरचनाअन्र्तगत सिंहदरबारमा रहेको जनताका अधिकारलाई स्थानीय तहमा हस्तान्तरण भएको भनिएको छ । जनताको अपेक्षा नेपाल सरकारले प्रदान गरेका सेवा, सुविधा र अधिकारलाई स्थानीय सरकारमार्फत् अनुभव गर्न, देख्न र उपभोग गर्न पाउनुपर्छ भन्ने हो । स्थानीय सरकारमार्फत जनताको घरदैलोमा सरकारी सेवासुविधाको अवसर आउने भएकाले सक्षम जनप्रतिनिधिको आवश्यकता हुन्छ । आफ्नो गाउँठाउँलाई विकास गर्न सक्ने सक्षम व्यक्तिलाई निर्वाचित गरी असल नागरिकको कर्तव्य निर्वाह गर्नुपर्ने गहन जिम्मेवारी मतदातामा आएको छ । तसर्थ, विवेकपूर्वक सक्षम नेतृत्वलाई चयन गरांै । भ्रष्टलाई पाखा लगाऔं । दलगत आस्था र दुस्मनीका आधारमा कमजोर एवं भ्रष्टलाई निर्वाचित गर्नु भनेको स्थानीय तहको विकास र सुशासनमा बाधा उत्पन्न गर्नु हो । यसो नगरांै ।

निर्वाचनमा साम, दाम, मासु, रक्सी, चुरोट र झूठा नाराले सर्वसाधारणलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारेको देखिन्छ

हाम्रो देशको सन्दर्भमा असल व्यक्ति, विकास योजना र समाजको आवश्यकताभन्दा पनि राजनीतिक दल र आस्थाका आधारमा जोसकै भए पनि मत दिने चलन छ । मतदाताको यो चेतना देश विकास र सुशासनको बाधक हो । राजनीतिक दलका कार्यकर्ता दलतान्त्रिक शिक्षाबाट प्रशिक्षित छन् । साँचो अर्थमा मतदाता स्वतन्त्र भएर योग्य व्यक्तिलाई मत दान गरेको पाइँदैन । निर्वाचनमा साम, दाम, मासु, माम, रक्सी, चुरोट र झूठा नाराले सर्वसाधारणलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारेको देखिन्छ । निर्वाचनमा धन खर्च गर्नेहरूको मन निर्वाचनपश्चात् सङ्कलन गर्ने धेयमा लाग्ने गर्दछ । त्यसैले, जनप्रतिनिधिले गर्ने खर्चको आधार भ्रष्टाचार हो भन्ने कुरा मतदाताले बुझ्न जरुरी छ ।

राजनीतिक समाजशास्त्रले जबसम्म समाजमा शैक्षिक चेतना प्रवल हुँदैन, तबसम्म मतदाताले राजनीति दल र यिनीहरूको सैद्घान्तिक आधार, घोषणा पत्र, आर्थिक नीति र विकास योजनाका आधारमा दल र व्यक्ति छनोट गर्न सक्षम हुँदैनन् भन्ने छ । हाम्रो देशमा यस्तै भइरहेको छ । मतदाताहरू सचेत नभएसम्म राजनीतिक दलले उनीहरूलाई आप्m्नो पोल्टामा पार्ने, लोभलालच देखाउने, आर्थिक प्रलोभनमा पार्ने सम्भावना रहन्छ । जनताहरू भोट बंैक बनिरहन्छन् । असक्षम एवं भ्रष्टले शासन गरिरहन्छन् । राजनीतिक ज्ञानको अभावमा जनताले प्रतिनिधिको छनोट गर्दा राम्राभन्दा पनि हाम्रा उम्मेदवारले निर्वाचित हुने अवसर पाउँछन् । राम्रा उम्मेदवार छायामा पर्छन् । त्यसैले मतदाता सचेत हुन आवश्यक छ ।

मतदाताले लोकतन्त्रको मर्म र देशको आवश्यकतालाई बुझ्न सकेनन् भने चुनावी प्रक्रियाद्वारा गाउँसरकारदेखि केन्द्रीय सरकारसम्म देश र जनताका लागि काम गर्ने भन्दा पनि छल, कपट, बेइमान, भ्रष्ट एवं अक्षमले विजयको टीका लगाउने सम्भावना रहन्छ । मुलुक अहिले समावेसी र समानुपातिक राजनीतिक प्रणालीले निर्दिष्ट गरेको चुनावी प्रक्रियामा छ । महिला र दलितलाई आरक्षण गरिएका सिटहरूमा त्यसभित्रबाट योग्य व्यक्तिको छनोट गर्न पनि त्यत्तिकै चुनौती छ । पढेलेखेका सक्षम युवा पुस्ता विदेश पलाइन भएको अवस्था छ । कतिपय स्थानीय तहमा ‘लाटा देशका गाडा तन्नेरी’ले मौकाको फाइदा उठाउने सम्भावना पनि त्यत्तिकै छ । तसर्थ मतदाताले सुझबुझका साथ योग्य नेतृत्व छनोट गरी असल नागरिकको जिम्मेवारी पूरा गरौं ।

मतदाताहरू लोकतन्त्रका जग हुन् । जबसम्म मतदातामा ठीक र बेठीकको आधारमा सक्षम व्यक्तिलाई चुनावमा भोटदिने चेतनाको विकास हुन सक्दैन, तबसम्म लोकतन्त्रको अभ्यास परिपक्क हुन सक्दैन । भ्रष्टहरू रमाइरहन्छन् । सक्षमले अवसर पाउँदैनन् । अहिले स्थानीय तहमा भिजन र स्वच्छ छवि भएको नेतृत्व चयन गरी आफ्नो गाउँको विकास गर्ने जिम्मेवारी मतदाताको काँधमा आएको छ । यो जिम्मेवारीलाई सोचबुझका साथ निर्वाह गर्न चुक्नुहुँदैन । स्थानीय तहको निर्वाचनमा असल र सक्षम उम्मेदवार छनोट गरी ‘आफ्नो गाउँ आफंै बनाउने’ कार्यमा विवेक पु¥याआंै । भ्रष्टहरूलाई पाखा लगाऔं । सक्षमहरूलाई जिताआंै ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग