हेटौंडा । हेटौंडाबाट सञ्चालित तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा राजधानी डेलीडटकमका सम्पादक ध्रुव लम्साल सहित ५ जना पत्रकार र एक जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । स्टेट भिजन प्रा.लिको आयोजनामा शनिवार हेटौंडामा सम्पन्न समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित पत्रकारहरुलाई पुरस्कृत गरेका हुन् ।
कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको हो ।
सम्पादक भण्डारीलाई नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८’, सम्पादक लम्साललाई नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८’, संवाददाता पराजुलीलाई नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’, समाचार प्रमुख दाहाल र सम्पादक शिलवाललाई क्रमश नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको हो । त्यस्तै विष्टलाई नगद ५ हजार रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।
कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देललगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्षहरु, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






