एकल साँझमा भक्कानिए सुमन

पोखरा । चिरीच्याट्ट परेर स्टेज उक्लेपछि सुमन श्रापितले जब सुरुमै आफ्नो चर्चित गीत प्रस्तुत गरे । त्यति बेला दर्शकदीर्घाबाट निरन्तर ताली बजिरह्यो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा साँझ आयोजित ‘सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६’ को सुरुवाती दृष्य थियो, यो । सुमन भावुक बन्दा हलमा उपस्थित दर्शकमा समेत मौनता छायो । गीतकार, साहित्यकार तथा पत्रकार सुमनले सो सन्नाट्टा विस्तारै चिर्दै ‘अब कसैले गल्ती नगरौं…’ भन्दै सांगीतिक माहोलको दैलो उघारो । बीबी अनुरागी मुख्य प्रस्तोता थिए । अनुरागीसहित एकल साँझमा गायक गायिकाले सुमनका डेढ दर्जन गीत पस्के ।

‘जुनसुकै स्रष्टाको सपना एकल साँझ हुन्छ, मलाई अवसर जुटाउने सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपाललगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ यसो भन्दै आफ्ना अनन्य मित्र बीबी अनुरागीको नाम लिँदा उनी भक्कानिए ।
राष्ट्रभक्तिको सो गीतपछि ‘बादल फाटेको बेला, हिमाल खुलेको जस्तै…’ बोेलको गीत प्रस्तुत भयो । त्यसपछि क्रमशः मेरो धड्कन तिमी…’, ‘कहिले साँझ, कहिले रंगीन..’, ‘टलक–टलक टल्किने..’, ‘तिम्रो मधुर मुस्कान…’, ‘कहिले ओराली…’, ‘दिलराजा दिलरानी…,’ ‘मेरी पियारी..’, ‘तिमीलाई त जहाजमा…’, ‘आमाबाट सिकें मैले…’, ‘जसलाई मुटुको अंश ठानेकी थिएँ…’, ‘तिमीलाई देख्ने बित्तिकै..’, ‘काली–काली दिलवाली..’, अच्छा लेकिन क्या बात…’, ‘पूर्वबाट पश्चिममा आयौ..’ हुँदै ‘सिरीमा सिरी…’ गीतमा आएर टुंगिएको थियो ।

कार्यक्रममा अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसा क्षत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैह्रे, रुपेश भण्डारी, योगेश गौतम, सरिता शाहीले सुमनका गीत सुनाउँदा उपस्थित दर्शकको उस्तै थियो ।
लाइभ म्युजिकको साथमा भएको कार्यक्रममा संगीतमा प्रविन्दर सिंह, राजा मुखिया, रन्जन गायक, गुप्त गुरुङ, मइपाल लामा, उमेश थापा, सुदीप गायक, तेज केसी, सुमन तामाङ र अमित गुरुङले संगीतमा सघाए ।

यसका अलावा गीतकार सुमनले आफ्नो स्थायी ठेगाना बाग्लुङ तित्याङसम्बन्धी गीत समेत आफ्ना आवाजमा सुनाए ।
प्रमुख अतिथि अग्रज गीतकार कालीप्रसाद रिजालले मानिसको अस्तित्वसँगै गीत आएको बताए । उनले पोखरा गीतसंगीतको क्षेत्रमा अगाडि रहेको पनि बताए ।

कलाकार उपचार सहयोगार्थ आयोजित कार्यक्रममा सप्तरंगी सांस्कृतिक प्रतिष्ठान अध्यक्ष पदमराज ढकालले आफ्नो सहित हरिदेवी कोइराला, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङको एकल साँझ सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठान संस्थापक अध्यक्ष एवं मूल आयोजक समिति संयोजक नवराज बराल, प्रतिष्ठान महासचिव मनकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?