प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको मतपरिणाम धमाधम आउने क्रममा त्यसलाई सहर्ष स्वीकार गर्न आनाकानी गरिरहेको छ । लोकतान्त्रिक शासन प्रणालीमा हुने निर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाए पनि निर्वाचनपछि आउने परिणामलाई स्वीकार गर्नु असल लोकतान्त्रिक संस्कार हो । तर, एमालेले निर्वाचन भएको तीन दिनपछि योजनाबद्ध धाँधली भएको भन्दै निर्वाचनको विश्वसनीयतामाथि प्रश्न चिह्न खडा गर्नुलाई उचित मान्न सकिँदैन ।
एमालेजस्तो जनताले विश्वास गरेको पार्टीले यस्तो भन्न सुहाउँदैन । एमालेको यो आरोपलाई कतिपय विश्लेषकले पराजित मानसिकताको पराकाष्ठाका रूपमा समेत विश्लेषण गरेका छन् । पक्कै पनि निर्वाचनमा केही ठाउँमा धाँधली भएको होला, त्यहाँ सत्तापक्षको प्रहरी प्रशासनको कमजोरी पनि रह्यो होला तर यसैलाई आधार मानेर योजनाबद्ध धाँधली भयो भनेर चित्रण गर्न मिल्दैन । एमालेले समग्र निर्वाचनको परिणामलाई स्वाभाविक रूपमा लिएर बढी विवाद भएका र धाँधली भएका ठाउँको विषयमा मात्रै विरोध गर्दा जायज हुन्थ्यो तर निर्वाचन प्रक्रियामा नै धाँधली भयो भन्ने आरोप लगाउनु चाहिँ एमालेजस्तो लोकतान्त्रिक पार्टीका लागि शोभनीय विषय होइन ।
हिजोका दिनमा सत्तापक्षले विभिन्न बहाना गरेर स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोज्दा त्यसविरुद्ध खबरदारी गर्दै निर्वाचनलाई समयमा नै गराउन एमालेले पहलकदमी लिएको थियो । सोहीअनुसार निर्वाचन घोषणा भएर निर्धारित समयमा नै निर्वाचन सम्पन्न भइसकेको छ । यो निर्वाचनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमा महŒवपूर्ण भूमिका पनि खेल्नेछ । केही छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा नै भएको छ । त्यसैले एमालेजस्तो लोकतान्त्रिक पार्टीले निर्वाचन र यसको परिणामलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुको विकल्प छैन ।
स्थानीय तहको निर्वाचन अघिसम्म मुलुकको पहिलो पार्टीका रूपमा रहेको एमाले निर्वाचनपछि दोस्रो पार्टीका रूपमा स्थापित हुने करिबकरिब निश्चित भएको छ । त्यसैले पनि एमालेलाई यो परिणाम स्वीकार गर्न असहज भएको हुन सक्छ । तर, लोकतन्त्रमा आवधिक रूपमा निर्वाचन हुन्छ भन्ने मान्यता एमालेले बिर्सिएको जस्तो छ । एकपटक दोस्रो शक्ति हँुदैमा आत्तिनुपर्ने अवस्था छैन, अर्को चुनावमा फेरि पहिलो शक्ति बनाउनेगरी सोही रफ्तारमा पार्टीका योजना र कार्यक्रमलाई जनतासमक्ष लैजाने हिम्मत एमालेले गर्नुपर्छ । यसपटकको निर्वाचनमा पनि एमालेले कैयांै ठाउँमा जनताको मन जितेका व्यक्तिलाई पाखा लगाएर आफ्नै आसेपासे र हनुमानगिरि गर्नेहरूलाई टिकट दिएकाले बढी ठाउँमा क्षति भोग्नुपरेको हो । यसमा कसैलाई दोष दिन जरुरी छैन । नेताहरूले विगतका आफ्नै चरित्र र आचरणमा सुधार गरेर त्रृटि सच्याउँदै अगाडि बढ्नुको साटो विभिन्न बहाना बनाई आपूm पानीमाथिको ओभानो बन्न खोज्दा सिंगो पार्टीमा नै क्षयीकरण हुन सक्छ । आज एमालेजस्तो शक्तिशाली र जनप्रिय पार्टीले भोग्नुपरेको वास्तविकता पनि यही हो । पार्टीलाई किन एकजुट राख्न सकिएन र पार्टीलाई जनताको मनमनमा किन राख्न सकिएन भन्ने बिषयमा मात्रै एमाले पार्टी पंक्तिले ठण्डा दिमागले सोचिदिने हो भने धेरै हदसम्म पार्टी सशक्त भएर जान सक्छ । अन्यथा पार्टी अझै क्षयीकरण भएर जानेछ ।






