काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।
नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । एआईजीमा बढुवा भएका उनले शुक्रबार थोरै समय मात्र कार्यालय गई एआईजीको कुर्सीमा बस्न पाए । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई दुई दिन पनि कार्यालय जाने अवसर जुरेन ।
अवकाशमा जानु एक दिनअघि नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामाले शुक्रबार दिउँसो २ बजे नै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न लगाइसकेका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उनलाई दज्र्यानी दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
नवनियुक्त एआईजी लामा आईजीपी सिंहकै ब्याची हुन् । उनी १२ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । आईजीपी सिंहसँगै प्रहरी निरीक्षकमा नियुक्ति लिएका लामा एआईजीको ५६ वर्षे उमेर हदका कारण १० महिना पहिला नै अवकाशमा जाने भएका हुन् ।
प्रहरी ऐनमा उमेर हद, कार्याअवधि र सेवाअवधिका कारण अवकाश जाने व्यवस्था छ ।

वर्तमान प्रहरी महानिरीक्षक सिंह प्रहरी निरीक्षकमा भर्ना हुँदा एक नम्बरमा थिए । लामा भने चौथो नम्बरमा । त्यतिबेला उत्तमराज सुवेदी दोस्रो र दिवेश लोहनी तेस्रो नम्बरका प्रहरी निरीक्षक थिए । तर, उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले विशिष्ट श्रेणीको एआईजीको अन्य पद रिक्त हुँदाहुँदै उनको मात्र एकल बढुवा गरेको हो ।
त्यसो त वर्तमान प्रहरी महानिरीक्षक सिंहसहित तीन जनालाई चैत पहिलो साता एआईजीमा बढुवा गर्दा लामा पनि दाबेदार थिए । तर, त्यतिबेला उनी एआईजी बन्न सकेनन् । त्यसबेला सरकारले तत्कालीन आईजीपी शैलेश थापा क्षत्रीका ब्याची वसन्त पन्त र लामाकै ब्याचका सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको थियो ।
शनिबार मध्यरात लामाले अवकाश पाएपछि नेपाल प्रहरीमा पाँच जना एआईजी पद रिक्त हुनेछ । अहिले नेपाल प्रहरीमा विश्वराज पोखरेल र सहकुल थापा मात्र एआईजी छन् । तर, एआईजीमा आफूभन्दा कनिष्ठ सिंहलाई आईजीपी बनाएको असन्तुष्टि जनाउँदै पोखरेलले सर्वाेच्च अदालत गुहारेका छन् । उनको मुद्दा विचाराधीन अवस्थामा छ । सिंहलाई आईजीपी नियुक्त गरेकै दिन १८ वैशाखदेखि पोखरेल एक महिना लामो बिदामा छन् ।
तर, सशस्त्र प्रहरीमा एआईजीमा बढुवा भएका पौडेलले भने आफूलाई भावी महानिरीक्षक (आईजीपी)को दाबेदारका रूपमा उभ्याएका छन् । वर्तमान आईजीपी राजु अर्यालपछि उनी सशस्त्रको नेतृत्वमा पुग्नेछन् । सशस्त्र प्रहरीमा स्थापनादेखि नै वरीयतामा पहिलो नम्बरमा रहेका एआईजीलाई आईजीपी बनाउने परम्परा रहिआएको छ ।
सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि २१ वैशाखमा बसेको बढुवा समिति सचिवालयको बैठकले वरिष्ठताका आधारमा डीआईजी पौडेललाई मात्रै एआईजीमा सिफारिस गरेको थियो । पौडेलको बढुवासँगै अझै एआईजीको एक पद रिक्त छ ।
एआईजीका लागि त्यतिबेला पौडेलका अलावा चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल र किशोर प्रधानले पनि आवश्यक कागजात बुझाएका थिए । तर, बढुवा समिति सचिवालयले पौडेलको मात्र नाम सिफारिस गरेको थियो । रिक्त एक पदमा सरकारले फेरि सूचना निकाल्नुपर्नेछ । गौतम, दाहाल र प्रधानमध्ये एक जना अब एआईजी बन्नेछन् । यी तीनमध्ये एक जना एआईजी बन्दा आगामी दिनमा दरबन्दी थप नहुँदा अन्य दुई जना भने डीआईजीबाटै घर जानेछन् ।
एआईजीमा बढुवा भएका पौडेल सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगै १८ चैत २०५४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । दाहाल पनि अर्याल र पौडेलसँगै प्रहरी सेवामा प्रवेश गरेका थिए । गौतम भने नेपाली सेनामा सेवा प्रवेश गरेर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् । प्रधान भने अन्यभन्दा जुनियर हुन् । उनी ८ मंसिर २०५५ मा प्राविधिक प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए ।
एआईजीमा बढुवा भएका पौडेल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाका स्थायी बासिन्द हुन् । बाबु रेश्मीलाल पौडेल र आमा नन्दकुमारी पौडेलको कोखबाट ९ मंसिर २०३० मा जन्मिएका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् ।
उनले एसपी हुँदा सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण हे.क्वा (विशेष कार्यदल) बगलामुखी, सीमा सुरक्षा कार्यालय बर्दिया र नीलबाराही गणको गणपतिका रूपमा काम गरेका थिए । त्यस्तै, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीको समादेशक, नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा, कपिलवस्तु र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको बाहिनीपतिका रूपमा जिम्मेवारी वहन गरिसकेका छन् ।
संयुक्त राष्ट्रसंघीय झन्डाको मातहत रहेर लाइबेरिया र कोशोभोमा पनि उनले काम गरेका छन् । कर्तव्यनिष्ठता, व्यावसायिकता, चुनौतीपूर्ण जिम्मेवारी निर्वाहको पहिचान गर्दै उनलाई विभिन्न पदक तथा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ । गोरखा दक्षिणबाहु चौथो, प्रदेश सेवापदक, प्रवल जनसेवाश्री चौथो, सुप्रबल जनसेवाश्री तृतीय र संयुक्त राष्ट्रसंघीय पदकद्वारा उनी विभूषित भएका छन् ।
उनले व्यक्तिगत अनि पेसागत जीवनमा संयुक्त राज्य अमेरिका, श्रीलंका, डेनमार्क, चीन, भारत, इटाली तथा विभिन्न अफ्रिकी मुलुकमा औपचारिक तथा अनौपचारिक भ्रमण गरेका छन् ।
उनले संगठनको आभारभूत र अनिवार्य तालिमका साथसाथै विभिन्न पेसागत तथा व्यावसायिक तालिम गरेका छन् । यस्तै, उनले वैदेशिक प्रायोजन तथा समन्वयमा सञ्चालित विभिन्न पेसागत तालिम गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा उनले श्रीलंकाबाट काउन्टर टेरोरिज्म स्ट्राटेजिक म्यानेजमेन्ट, इटलीबाट एफपीयू कमान्डर्स कोर्स, अमेरिकाबाट एड्भान्स्ड सेक्युरिटी कोपरेसन कोर्स गरेका छन् ।






