मदिरा हिरोइनभन्दा हानिकारक

मदिरा अर्थात् रक्सी प्राचीन कालदेखि नै कुनै न कुनै रूपमा प्रयोग हुँदै आएको छ । पेन किलरको उत्पादन हुनुभन्दा पहिला मदिरालाई दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गरिन्थ्यो । तर, हिजोआज मदिरा नशाका लागि सेवन गरिन्छ । मदिरा(अल्कोहल) यस्तो लागु पदार्थ हो, जसले मानिसलाई यसरी मोहनी लगाउँछ कि यसको लतको खाल्टोमा परेपछि त्यहाँबाट निस्कन निकै गाह्रो हुन्छ । मदिराकै कारण मानिसको जीवन निकै कष्टकर हुन्छ, मदिराप्रतिको निर्भरता नहटेको खण्डमा अल्पायुमै जीवन समाप्त हुन्छ । त्यसैले, मदिरा सेवन नगर्नुु नै बुद्धिमानी हुन्छ भने मदिरा सेवन गर्नेले मदिरा छाड्ने हो भने जीवन फेरि स्वस्थ र सुन्दर हुन जान्छ । हो, मदिरा छोड्न गाह्रो छ, तर असम्भवचाहिँ पक्कै छैन । मनोवैज्ञानिक विधिद्वारा मदिराको ढक्कन सदाका लागि बन्द गर्न सकिन्छ ।

मदिरा (रक्सी) के हो ?
रक्सी एक किसिमको नशालु पेय पदार्थ हो, जसमा इथिनोल हुन्छ । सामान्यतया रक्सीलाई अल्कोहलको प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ ः बियर, वाइन तथा स्प्रिट । बियरलाई पनि अल्कोहल प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ ः साधारण बियर(३ प्रतिशत अल्कोहल), कडा बियर (५.५ प्रतिशत अल्कोहल) तथा अत्यधिक कडा बियर (७ प्रतिशत अल्कोहल) । त्यसैगरी, वाइन पनि दुई प्रकारको हुन्छ ः टेबुल वाइन (८ देखि १० प्रतिशत अल्कोहल), फोर्टिफाइड वाइन (१३ देखि १६ प्रतिशत अल्कोहल) । स्प्रिट, यसअन्तर्गत रम, ह्विस्की, जिन, भोड्का तथा ब्रान्डी आदि पर्छन् । यसमा अल्कोहलको मात्र ४० देखि ४५ प्रतिशत हुन्छ ।

मदिरा र नेपाली समाज
नेपालमा अध्यधिक प्रयोग हुने लागु पदार्थ रक्सी हो । महिलाहरूले बढी प्रयोग गर्ने लागु पदार्थ पनि रक्सी नै हो । एक अध्ययनअनुसार नेपालमा मदिरा सेवन गर्ने मानिस १८ देखि ३० वर्ष उमेर समूहमा ८० प्रतिशत छन् भने १५ देखि ६० वर्ष उमेर समूहमा झन्डै ६७ प्रतिशत छन् । नेपालमा सामाजिक परम्परागत र नियमित सेवन प्रवत्तिका साथै चाडपर्व, रीतिरिवाज तथा उत्सवमा मद्यपान गर्ने फेसन निकै बढेको छ । दशैंतिहार, होली, विवाहभोज तथा नयाँ वर्षमा व्यापक रूपमा मदिरा सेवन हुने गरेको देखिन्छ । कतिपय मानिस दुःख, पिर, तनाव तथा पारिवारिक झमेला भुलाउन रक्सी पिउने गर्छन् । कोहीचाहिँ समाजमा भिझ्न तथा साथीभाइसँग आफ्नो हैसियत बनाउन रक्सी खानुपर्छ भन्ने भ्रममा हुन्छन् । कतिपय समुदायमा त जन्ममृत्यु तथा विवाह आदिमा समेत मदिरा अपरिहार्य हुन्छ । ग्रामीण भेगका महिला छ्याङ, तोङ्बा तथा जाँडलाई दुःधमहीसरह पिउने गर्छन् । नेपाली समाजका कतिपय युवती ब्वाइफ्रेन्डका करकापले मदिराको मोहनीमा फसेका हुन्छन् । कतिपयलाई जातीय संस्कारले नै रक्सी पिउन छुट दिएको छ । जाँडरक्सीलाई सामान्य रूपमा लिएर बच्चैदेखि सेवन गराउने समुदाय पनि नेपालमा छन् । अधिकांश देशमाझैं नेपालमा पनि जाँडरक्सीको बिक्रीवितरणमा छुट छ ।

नेपालका अधिकांश मदिरा सेवनकर्ता मदिराको सेवनले गर्ने असर’bout अनभिज्ञ छन् । तर, स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधका अनुसार स्वास्थ्यका लागि रक्सी हिरोइनभन्दा पनि हानिकारक हुन्छ । मद्यपान मृत्युका प्रमुख आठ कारणमध्ये एक हो । शोधमा संलग्न शोधकर्ता प्रो डेभिट नट भन्छन्, ‘रक्सी सबैभन्दा हानिकारक नशा हो ’cause समाजमा यसको प्रयोग व्यापक रूपमा हुने गर्छ ।’ शोधमा मादक पदार्थ सेवनवाट हुने शारीरिक तथा मानसिक हानि, लत, अपराध, हिंसा, अर्थव्यवस्था र समाजमा पर्न सक्ने असरका आधार हरेक किसिमका लागु पदार्थलाई अंकभार दिएर सूचीबद्ध गरिएको छ, जसमा मदिरापछि हिरोइन र त्यसपछि कोकिनलाई खतरनाक नशालु पदार्थ मानिएको छ ।

शरीरमा प्रभाव
गिलास वा बोतलको रक्सी मुखमा लगाएपछि सोझै पेटमा पुग्छ । पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र शरीरका सबै अंगप्रत्यंगमा पुग्छ । रगतमा अल्कोहलको मात्रा जति बढ्दै जान्छ, त्यति नै यसले दिमाग र स्नायु प्रणालीलाई नकारात्मक प्रभाव पार्दैै जान्छ । रक्सीले सबैभन्दा पहिला असर पार्ने अंग दिमाग हो र त्यसपछि मुटु र कलेजा हुन् । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने हुन्छ । लगातार काम गरिरहनु पर्नाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि लिभर सिरोसिस तथा लिभर फेलिएर पुनः पुग्छ ।

स्वास्थ्य समस्या
रक्सी सेवन गर्नाले अनेक प्रकारका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखा पर्न सक्छन् । जस्तैः इन्टक्सिकेसनको समस्या । यदि रगतमा ४ सय मिलिग्राम प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा छ भने मानिसको मृत्यु हुन सक्छ । पेटका रोग गैसट्राइटिस, पेप्टिक अल्सर तथा पैंक्रियाटाइटिस । उच्च रक्त चाप । कार्डियक मायापैथी तथा मस्तिष्कघात । फोक्सो तथा मुटुका रोग । नभएको वस्तु देख्ने । कानमा आवाज आउने । चिन्ता रोग तथा डिप्रेसन । ८० प्रतिशत रक्सी दुव्र्यसनीमा डिप्रेसन देखा पर्छ । लिंग उत्तेजनामा कमी तथा शीघ्रपतनजस्ता यौन समस्या । रक्सी सेवन गर्ने महिलाको बच्चामा शारीरिक तथा मानसिक समस्या देखिन्छ । रक्सीका कारण शरीरमा भिटामिन बी, ए, डी, ई तथा फोलेट आदिको कमी हुन जान्छ र यस्ता भिटामिनको कमीले गर्दा फेरिफेरता न्युरोपैथी, कोर्साकोफ्स साइकोसिस, अल्कोहोलिक इन्फालोपैथी, अल्कोहलिक हेपाटाइटिस, लिभर सिरोसिस तथा क्यान्सर आदि जस्ता समस्या देखिन्छन् ।

मदिरा र कलेजो
लगातार लामो समयसम्म अनियन्त्रित रूपमा रक्सी सेवन गर्नाले अनेक स्वास्थ्य समस्या निम्तिने भए तापनि रक्सीले बढी प्रभाव पार्ने अंग भनेको मस्तिष्क, पेट र कलेजो हो । नेपाललगायत विश्वका धेरै देशमा कलेजोको रोग, लिभर सिरोसिस हुनुको प्रमुख कारण पनि अनियन्त्रित रक्सी सेवन नै हो । नियमित रक्सी पिउनाले कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा बोसो जमेसँगै कलेजो सुन्निँदै जान्छ । यस अवस्थामा जन्डिस देखा पर्न सक्दछ । यसलाई अल्कोहलिक हेपाटाइटिस भनिन्छ । अल्कोहलिक हेपाटाइटिस भई बिरामी बाँचेको खण्डमा र रक्सी सेवन गरिरहेको खण्डमा लिभर सिरोसिस हुन्छ ।

मदिरा सेवन नर्गनु नै बुद्धिमानी हुन्छ, साथै मदिरा सेवन गर्नेले मदिरा छाडेको दिनबाट जीवन फेरि स्वस्थ र सुन्दर हुँदै जान्छ

लिभर सिरोसिस हुने अर्को कारण भाइरल हेपाटाइटिस पनि हो । यसको अलवा अटोइम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस तथा विल्सन डिजिज आदिले पनि लिभर सिरोसिस बनाउँछ । रक्सी सेवन नगर्ने तर बढी बोसोजन्य पदार्थ सेवन गर्ने तथा व्यायाम आदि शारीरिक कार्य नगर्नाले पनि कलेजोमा बोसो जम्न सक्दछ । कलेजोमा यसरी बोसो जम्ने समस्यालाई फ्याटी लिभर भनिन्छ । साधारणतया लिभरमा बोसो हुँदैन । जब बोसो जम्न थाल्छ, कलेजो सुन्निँदै जान्छ र कलेजोका कोष मर्दै जान्छन् । अनि लिभर मास्टियाटो हेपाटाइटिस रोग पैदा हुन्छ । यसको उचित उपचार नगर्ने हो भने लिभर सिरोसिस तथा लिभर क्यान्सरसमेत हुन सक्दछ ।

मदिरा र मुटु रोग
ठिक मात्रामा रक्सी सेवन गर्नाले मुटुलाई केही फाइदा पनि गर्न सक्दछ । जस्तो कि, रगतमा राम्रो कोलोस्ट्राललाई बढाउँछ, जसले गर्दा हृदयाघात हुने सम्भावना कम हुन्छ । रगत जम्ने प्रवृत्ति कम गर्छ । जसका कारण हृदयाघात, एन्जाइना आदिलाई घटाउँछ । ठिक मात्रा भन्नाले दैनिक एक बोतल बियर अथवा २५० एमएल वाइन अथवा ६० एमएल हार्डड्रिङ्साई जनाउँछ, यो मात्रा ३० देखि ६५ वर्षसम्मका पुरूषका लागि हो । महिला तथा ६५ वर्ष नाघेका पुरूषका हकमा भने यसको आधा ठिक मात्रा हो ।

तर, अनियन्त्रित रूपमा अध्यधिक रक्सी सेवन गर्नाले तथा रक्सी सेवन नगर्नेले सेवन गर्नाले रक्सीबाट मुटुलाई निकै बेफाइदा पुग्न सक्दछ । रक्तचाप बढ्ने, मस्तिष्कघात, मुटु सुन्निने, मुटुको धड्कनमा गडबडी उत्पन्न हुने र मुटुले राम्रोसँग पम्प गर्न नसक्ने अवस्था पैदा हुन सक्दछ । यदि, गर्भवती महिलाले रक्सी सेवन गरेको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्दछ ।

अतः गर्भवती महिलाले, कलेजोको रोग, मधुमेह, उच्च रक्तचाप, ट्राइग्लाइसेराइड, बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धड्कन गडबडी, युरिक एसिड, अल्सर तथा मिर्गौलाका रोगीले रक्सी पिउनु अत्यन्तै हानिकारक हुन्छ । त्यसैले, रक्सी नपिउनु नै राम्रो हुन्छ ।

मदिरा र मानसिक रोग
मदिराले मानिसको मस्तिष्कमा चौतर्फी प्रभाव पादर्छ । मस्तिष्कलाई असर गर्न थालेपछि मस्तिष्कको कुनै भाग सुक्छ, कुनै भाग फुक्छ र मस्तिष्कको बनावट नै बदलिन्छ । यस्तो समस्यालाई अल्कोहलिक इन्फालोपैथी भनिन्छ । यस्तो अवस्थामा मानिसको स्मरणशक्ति नष्ट हुने, सोच्न नसक्ने, पागलपनजस्तै हुने गर्छ । मदिराको सेवनबाट पैदा हुने यस्तो गम्भीर रोगलाई कोर्साकोफ्स साइकोसिस भनिन्छ । यस्तो अवस्थामा छारे रोगको लक्षण पनि देखा पर्न सक्दछ ।

मदिराले मानिसलाई मोहनी लगाउँछ र यसको लतमा परेपछि त्यहाँबाट निस्कन गाह्रो मात्र होइन, जीवन निकै कष्टकर हुन्छ

मदिरा दुव्र्यसनमा मदिरा खान बन्द गर्दा अनेक विथड्रल लक्षण देखा पर्छन् । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने तथा चिडचिडापन हुन सक्दछ । गम्भीर अवस्थामा नभएको कुरा देख्ने, सुन्ने, उत्तेजित र आक्रामक हुने, बर्बराउने तथा छारे रोगका रोगीझैं मुर्छा पर्ने हुन्छ । यहाँ उल्लेखनीय कुरा के भने मदिराप्रति निर्भरता हुनु नै एक मानसिक रोग हो । यसको अलवा अनियन्त्रित मदिरा सेवनले अनेक किसिमका मानसिक समस्या उत्पन्न गर्न सक्दछ । जस्तै ः दुश्चिन्ता, डिप्रेसन तथा साइकोसिस । व्यक्ति मानसिक रोगबाट पीडित भएको खण्डमा पनि मदिराको शरणमा पुग्न सक्दछ । विशेष गरी न्युरोसिस र डिप्रेसनका बिरामी मदिराको कुलतमा फस्ने सम्भावना हुन्छ । यसरी, मानसिक रोगमाथि मदिराको लत थपिएपछि मानसिक रोग जटिल बन्दछ, मदिराको दुव्र्यसन अटुट हुन्छ ।

सामाजिक समस्या
रक्सी सेवन गर्नाले अनेक सामाजिक समस्या निम्त्याउँछ । रक्सीका कारण घरपरिवार तथा छरछिमेकमा झैंझगडा, घरेलु हिंसा तथा पतिपत्नीका बीचमा पारपाचुकेसमेत हुन सक्दछ । मदिराको मोहनीमा फसेको व्यक्ति समाजमा जँड्याहाको उपनामले अपहेलित हुन्छ र घर नर्कजस्तै बन्छ । बाबु जँड्याहा भएको खण्डमा छोराछोरीको पढाइलेखाइ तथा घरगृहस्थीमा समेत नकारात्मक असर पर्छ । यस्तो घरमा छोरी लिन र दिनसमेत मानिस हिच्किचाउँछन् ।

मदिराका कारण समाजमा बेरोजगारी, आपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्छन् । नेपालमा सवारी दुर्घटनाको एक प्रमुख कारण मद्यपान पनि हो ।

आर्थिक समस्या
रक्सीले निम्त्याउने अर्को समस्या भनेको आर्थिक समस्या हो । यदि परिवारमा घरमुली नै मदिराको मोहनीमा फसेको छ भने त्यो घर आर्थिक रूपमा जर्जर हुन्छ । एकातिर रक्सी खरिद गर्नाका लागि पैसा आवश्यक हुन्छ भने रक्सीका कारण देखापर्ने स्वास्थ्य समस्याको उपचारका लागि पनि पैसा चाहिन्छ । घरमुलीको दैनिकी नै मदिरा पिउनुमा नै बितेपछि अरू कुरा परै छाडांै, हातमुख जोड्न पनि परिवारलाई धौधौ हुन्छ ।

उपचार
मदिरा निर्भरता एक मानसिक रोग भएकाले यसको उपचार आवश्यक छ । मानिसलाई मदिराको मोहनीबाट मुक्त गर्न गाह्रो भए पनि असम्भवचाहिँ छैन । मदिराबाट मुक्तिका लागि सन् १९३५ मा अमेरिकामा स्थापित एए(अल्कोहोलिक एनोनिमस)को १२ सूत्रीय कार्यक्रमको निकै प्रभावकारी मानिन्छ । तर, यो कार्यक्रम सबैका लागि उपयुक्त नहुन सक्दछ । औषधिका साथै मनोवैज्ञानिक उपचारद्वारा नै यस रोगबाट मुक्त हुन सकिन्छ । पुनर्वास कार्यक्रममा व्यावसायिक प्रशिक्षणको पनि महŒवपूर्ण भूमिका रहन्छ ।

हिजोआज मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि विभिन्न उपचार पद्धति अपनाइएको पाइन्छ । प्रमुख उपचार पद्धति यस प्रकार छन् । जस्तै : औषधिद्वारा उपचार, मनोवैज्ञानिक उपचार । जस्तैः व्यावहारिक चिकित्सा: यसमा बातचित, परामर्श, रिलेक्सेसन, एक्सरसाइज, डिऐन्जिटाइजेसन, ऐवर्जन थेरापी, ग्रुप थेरापी आदि । कग्निटिभ बिहाभियर थेरापी । वैकल्पिक उपचार: मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि औषधिभन्दा पनि कग्निटिभ बिहाभियर थेरापीजस्ता मनोशैक्षिक उपचार बढी प्रभावकारी हुन्छ ।

अन्तमा, मदिरा एक खतरनाक लागु पदार्थ हो र यसको सेवनले कुनै फाइदा हुँदैन, हानि नै हानि हुन्छ । मदिराले घरपरिवारको सत्यनाश बनाउँछ । समाजमा अपहेलित बनाउँछ । त्यसैले, यो या त्यो कारणले मदिरा सेवन नगर्नु नै बेस हुन्छ । यदि कुनै कारणवश मदिराको मोहनीमा फसिएको छ भने यसले गर्ने चौतर्फी असरलाई मध्यनजर गर्दै तुरुन्तै यसको उपचारमा लाग्नु बेस हुन्छ । मदिराले मक्किएको शरीर मदिराको मोहनीबाट मुक्त भएपछि पुनः सामान्य हुन सक्दछ ।

केही समय यता नेपालका प्रमुख सहरमा मात्र होइन कि टोलटोलमा समेत थुप्रै लागु औषध दुव्र्यसन पुनर्वास केन्द्र (सुधार केन्द्र) खुलेका छन् । तर, यस्ता अधिकांश केन्द्र अदक्ष मानिसद्वारा सञ्चालित छन् । अधिकांश यस्ता केन्द्रको उद्देश्य जसरी हुन्छ पैसा धुत्ने हो । त्यसैले, यस्ता तथाकथित केन्द्रप्रति उपभोक्ता सचेत हुन अत्यावश्यक छ । नत्र ‘पैसा जति धामीलाई, बेथा जति हामीलाई’ उखान चरितार्थ हुन सक्छ । यस कुरामा राम्रो जानकारी प्राप्त गरेर मात्र मदिराको मोहनीमा फसेका आफन्तलाई उपचार र पुनर्वास प्रोग्रामका लागि पठाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 605 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग