काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ । आयोगमा चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । यसरी आयोगमा एक महिनामा परेको यो उजुरी आयोग इतिहासमा नै सबैभन्दा बढी हो । भ्रष्टाचार बढेसँगै अख्तियारको सक्रियता पनि बढेकाले आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगको सक्रियता बढेसँगै उजुरी आउने क्रम ह्वात्तै बढेको जानकारी दिए । ‘साउन महिनामा मात्रै २ हजार १ सय ९२ वटा उजुरी परेको छ । आयोगको ३२ वर्षे इतिहासमा एक महिनामा यति धेरै उजुरी परेको यो पहिलोपटक हो ।’ आयोगका प्रवक्ता भण्डारीले राजधानीसँग भने । भण्डारीले भ्रष्टाचार बढेकाले नै उजुरी पनि बढेको हुनसक्ने बताए ।
एक महिनामा हालसम्मकै बढी २१ सय उजुरी
–एक वर्षमा १७ हजार १ सय ६७ उजुरी फस्र्यौट
–सबैभन्दा बढी अनियमितता स्थानीय तहमा
–स्वास्थ्य, शिक्षा, गृह र ऊर्जामा पनि अनियमिता बढ्दो
–६ सय ३९ जना प्रतिवादी कायम गर्दा २ अर्ब ७९ करोड बिगो
प्रवक्ता भण्डारीका अनुसार आयोगले गत वर्ष सानादेखि ठूला सबै खालका मुद्दा दायर गर्ने क्रम अत्यधिक बढाएकाले आयोगप्रति विश्वास बढेर उजुरी आउने क्रम पनि ह्वात्तै वृद्धि भएको हो । आयोगले साउन महिनामा मात्रै १६ वटा मुद्दा दायर गरेको छ । साउन महिनामा आएका २१ सय बढी उजुरीमध्ये स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरी बढी छन् । त्यसैगरी, स्वास्थ्य, शिक्षा, गृह, ऊर्जा, वन तथा वातावरण मन्त्रालय र मातहतका निकायसम्बन्धी उजुरी पनि अत्यधिक रहेको अख्तियारले जनाएको छ । यसैगरी, भौतिक मन्त्रालय र मातहतका निकाय, खरिद ठेक्का तथा निर्माण सम्बन्धमा भएका अनियमितताविरुद्ध पनि ठूलो संख्यामा उजुरी परेको छ । स्थानीय तहमा उपभोक्ता समितिले गरेका कार्य, विद्यालयमा खाजा वितरण, स्रोतको उपयोगमा समेत अनियमितता भएको भन्दै उजुरी आउने क्रम बढेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार गत आर्थिक वर्ष २०७८७९ मा २४ हजार ३ सय ३१ उजुरी रहेका थिए । तीमध्ये ८ हजार ९३ वटा उजुरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका थिए भने आर्थिक वर्ष २०७८÷७९ मा मात्रै १६ हजार २ सय ३८ वटा उजुरी परेका थिए । गत आर्थिक वर्ष आयोगमा परेका उजुरीमध्ये फस्र्यौट हुने दर पनि अत्यधिक बढेको छ । आयोगका अनुसार सो वर्ष १७ हजार १ सय ६७ उजुरीको फस्र्यौट भएको थियो । जुन ७० दशमलव ५६ प्रतिशत हो । आयोग प्रवक्ता भण्डारीले गत वर्ष हालसम्मकै सबैभन्दा बढी उजुरी फस्र्यौट भएको बताए । यद्यपि, आयोगलाई मुद्दामा सफलता प्राप्तको दर भने घटेको थियो ।
आयोगले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ सय १३ वटा मुद्दा दायर गरेको थियो भने गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ३१ वटा मुद्दा दायर गरेको थियो । अघिल्लो वर्ष ४ सय ४३ प्रतिवादी कायम गर्दा बिगो १ अर्ब ८९ करोड कायम गरिएको थियो भने गत वर्ष ६ सय ३९ जना प्रतिवादी कायम गर्दा २ अर्ब ७९ करोड बिगो कायम गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए ।
आयोग प्रवक्ता भण्डारीले पछिल्लो समयमा आयोगले भ्रष्टाचार नियन्त्रणका सवालमा प्रवद्र्धनात्मक, उपचारात्मक र दण्डात्मक कारबाहीलाई एकैपटक अघि बढाउँदै आइरहेको छ । त्यसैले पनि अख्तियारमा उजुरी आउने क्रम बढेको उनको भनाइ छ । आयोगले केही दिनअघि मात्रै सबै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई आयोगमा नै बोलाएर आफु र मातहतका निकायमा सुशासन काम गर्न र गराउन निर्देशन दिएको थियो । आयोगले गत वर्ष ठूला व्यक्तिहरूका विरुद्धमा पनि मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले बताए ।
आयोगको सक्रियता बढे पनि आयोगले भ्रष्टाचारमा संलग्न हुने उच्च तहको राजनीतिक र प्रशासनिक नेतृत्वलाई भने केही गर्न नसकेको आरोप लाग्दै आइरहेको छ ।
नीतिगत तहमा हुने भ्रष्टाचार रोक्न पनि अख्तियारले खासै पहल नगरेको आरोप लाग्ने गरेको छ । आयोग प्रवक्ता भण्डारीले भने गत वर्ष अख्तियारले दायर गरेको मुद्दाको विश्लेषण गर्दा ठूलाठूला मुद्दा दायर गर्न नसकेको भन्न नमिल्ने बताए । अख्तियारले पछिल्लो समयमा उच्च तहका व्यक्तिलाई समेत भ्रष्टाचार मुद्दा दायर गर्दै आइरहेको छ । त्यसैले, उच्च तहलाई केही गर्न नसकेको भन्ने आरोपमा खासै सत्यता छैन् ।’ आयोग प्रवक्ता भण्डारीले राजधानीसँग भने ।






