काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् ।
काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं मल, खिचापोखरी र न्युरोड क्षेत्रको आरबी कम्प्लेक्स, न्युरोडको रञ्जना गल्ली क्षेत्र, दरबारमार्ग क्षेत्रलगायत ठाउँमा पुगेर मापदण्डविपरीत बनाइएका संरचनामा डोजर चलाएका छन् ।
काठमाडौंमा बालेनको डोजर
अभियान चलाउनुभन्दा अघि प्रहरीले संचरना भत्काउनुपूर्व नै त्यहाँ रहेका मापदण्डविपरीतका पसल, टहरा खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले आफ्नो क्षेत्रभित्र रहेका भवन तथा घरको नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य किसिमले संरचना भत्काइरहेको छ ।
गत सोमबार मात्र महानगरले काठमाडौं नयाँ बानेश्वर क्षेत्रका अन्डर ग्राउन्ड पार्किङमा सञ्चालन भएका पसल भत्काएको थियो । बुधबार दिनभर नै उसले अनधिकृत रूपमा बनाइएका संरचना भत्काएको हो ।
बिहान सुन्धारास्थित काठमाडौं मलबाट डोजर चलाउन थालेको प्रमुख साह सहभागी टोलीले दिउँसो न्युरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।
घरधनी र व्यापारीको अवरोधबीच संरचना भत्काउनेक्रममा प्रमुख साहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरी टोली खटिएका थिए । महानगरपालिकाले नक्सा पासभन्दा बाहिर गएर घरधनीले बनाएका संरचना भत्काएको हो । यसअघि, महानगरले ३५ दिने सूचना दिँदासमेत अटेरी गरेपछि अहिले धमाधम भत्काउन थालेको छ ।
महानगरपालिकाले मापदण्डविपरीतका संरचना पुरै भत्काउने अभियान नै सुरु भएको जनाएको छ । अभियानस्वरूप महानगरपालिकाभित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर लगाइएको छ । यस्ता संरचना मात्र नभएर दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरि“दा बाक्लो जाम हुने गरेको महानगरको दाबी छ ।
महागरपालिकाले बुधबार दिनभर काठमाडौं मल अगाडिको संरचना, खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मल, दरबारमार्गस्थित लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएर मापदण्डविपरीत बनेका संरचनामाथि डोजर चलाइएको छ ।
प्रमुख साहले समयभित्र त्यस्ता संरचना हटाउन दिएको निर्देशन बेवास्ता गरी अटेर गर्नेविरुद्ध डोजर चलाउन बाध्य भएको बताए । अझै यस क्षेत्रमा मापदण्डविपरीत भएका संरचना भत्काउनुअघि उनले आज बिहीबारसम्म आफ्ना सामान हटाउन व्यापारीलाई आग्रह गरेका छन् । भत्काइएका संरचनाको क्षतिपूर्ति माग्ने व्यापारीलाई उनले भने, ‘घरधनी दोषी भएकाले घरधनीसँग माग्नु ।’
– ३५ दिने सूचना दिँदासमेत अटेरी गरेपछि भत्काउन थालेको दाबी
केही दिनबाट अभियानकै रूपमा भत्काइएका संरचनाको क्षतिपूर्ति माग्ने व्यापारीसँग महानगर प्रमुख साहले ‘गैरकानुनी संरचना बनाएर भाडामा लगाउने घरधनी तथा व्यक्ति नै दोषी हुने’ भन्दै ‘घरधनीसँगै क्षतिपूर्ति माग्न’ भनिरहेका छन् ।
घरधनीप्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ किनकि दोष उसको हो ।’ महानगरको अभियानले संरचना भत्किएका व्यापारी मारमा नपर्ने आश्वासनसमेत उनले दिए ।
प्रमुख साहसँग न्युरोडका स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसलसमेत हटाउन माग गरेका छन् । स्थानीय मागपछि जवाफमा उनले ‘त्यस’bout सूचना दिन’ आग्रह गरे । नक्सा पासबिना बनेका सबै संरचना हट्ने दाबीसमेत उनले गरे ।
‘अब सबै घरपेटीले अनिवार्य मापदण्डविपरीत बनाइएका संरचना हटाउनुपर्छ,’ प्रमुख साहले भने, ‘कानुन सबैलाई लाग्छ र बराबरी हुन्छ, काठमाडौं जिल्ला अदालतलाई पनि भत्काउन समय दिएको छु ।’
काठमाडौंका संरचना भत्काउने क्रममा स्थानीयसँग कुरा गर्दै प्रमुख साहले ‘काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा भत्काउने’ बताए । ‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो । हामीले जिल्ला अदालतलाई समय दिएका छौं,’ उनले भने, ‘जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि यस्तै काम हुन्छ ।’
यसअघि, कामनपा पूर्वप्रमुख केशव स्थापितले पनि यसैगरी चक्रपथ दायाँबायाँ रहेका संरचना भत्काएर ‘ग्रिनबेल्ट सफाइ अभियान’ नै चलाएका थिए । सो समय पूर्वप्रमुख स्थापितले थालनी गरेको सोही अभियानका कारण काठमाडांै उपत्यकाभित्रका धेरै सडक चौडा भएका छन् । नत्र, चक्रपथ विस्तार तथा चौडा गर्ने काममा निकै अवरोध हुने थियो ।






