अझै भत्किएन मनको छाउ

दीपेन्द्र कार्की बस्ताकोटी

‘विगतका दिन दुःख थियो, टाढा बस्नुपथ्र्यो, अहिले गोठमै पराल ओछ्याएर सुत्छौं तर दूध, दही, मोही खान दिँदैनन्, खाना भने मागेर जति पनि खान पाएका छौं,’ दैलेख ठाँटीकाँध–६ की ५५ वर्षीया धनी रोकाया भन्छिन् ।

महिनावारी भएको बेला पीडा पहिलेभन्दा अलि कम महसुस भए पनि ‘अझै दुःख छ’ भन्छिन्, धनी । उनकी बुहारी गोठमै सुत्छिन् । ‘घरमा जे छ, त्यही खाने हो अनि काममा जाने हो, पहिलेभन्दा निकै परिवर्तन छ तर दुःख छ,’ धनी भन्छिन्, ‘हाम्री बुहारी भने गोठकै कोठामा बस्छन्, अब कसले भनेर के हुने हो र जस्तो छ, उस्तै छ ।’

पश्चिम नेपालको कुरीति र कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथा अझै धेरै ठाउँमा जरो गाडेर बसेको छ । महिनावारीका समय घरबाहिर गोठमा बस्ने घर, कोठा र भान्छामा गए ‘देवीदेउता रिसाउँछन्’ भन्ने मान्यता अझै जस्ताको तस्तै छ ।

छाउपडी उन्मूलनका लागि दैलेखका पश्चिम क्षेत्रमा रहेका आठबिस, ठाँटीकाँध, चामुण्डा बिन्द्रासैनी, भैरवी, दुल्लुलगायत स्थानीय तहका गाउँगाउँ र घरघरमा रहेका छाउपडी गोठ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विभिन्न संघसंस्थाले भत्काए पनि पीडा उस्तै छ ।

छाउपडी गोठ भत्काउने क्रममा कतिपय ठाउँमा स्थानीयसँग विवादसमेत भयो । प्रहरी प्रशासनको रोहबरमा भत्काइए पनि ‘मनभित्रको छाउगोठ’ भने भत्किन सकेका छैनन् । त्यतिबेला अभियानकर्ताका रूपमा अग्रपंतिमा लागेका व्यक्तिका घर नै पूर्ण रूपमा छाउमुक्त हुन सकेका छैनन् ।

शिक्षकशिक्षिका हुन् वा स्वास्थ्यकर्मी, अझ भन्नुपर्दा स्थानीय तह प्रमुख एवं उपप्रमुखका घरमै समेत छाउप्रथा कायमै छ । उनीहरूसमेत महिनावारीका समय बाहिरै बसेको सहजै देख्न सकिन्छ ।

घरबाहिर रहेका धेरै छाउगोठ भत्किए पनि हालगाई बाख्राको गोठमा पराल ओछ्याएर होस् वा चिसो भुइँमा छाउ मान्नेको मनबाट छाउ हट्न सकेको छैन ।

पश्चिम क्षेत्रका ग्रामीण स्थानमा महिनावारीका समय बाहिरै बस्ने अनि दूध, दही, मोही, घिउलगायत खानेकुरा खान नहुने मान्यता जस्ताको तस्तै छ । यति मात्र होइन, चिसो समयमा पनि शरीर शुद्ध हुनका लागि मात्रै नुहाउनुपर्छ । प्रयोग गरेका कपडा ‘पानीले भिजाएर शुद्ध बनाउनुपर्छ’ भन्ने मान्यताका कारण धेरै विभिन्न रोगका सिकार भइरहेका छन् ।

विगतमा छाउका कारण गोठमा सुत्नुपर्ने बाध्यताले धेरै जना बलात्कारको सिकार हुनुका साथै चोरीको सामना मात्रै गर्नुपरेन सर्पको डसाइकै कारण दैलेखमा ५÷६ जनाले ज्यानै गुमाउनुपरेको तीतो यथार्थ ताजै छ ।

‘विगतमा धेरै टाढा बस्नुपर्ने थियो, अहिले गोठमा बस्न पाइएको छ, मात्र दूध, दही, मोही खान पाइँदैन,’ दैलेख ठाँटीकाँध–६ की धनसरा बडुवाल भन्छिन् ।

त्यसो त, छाउपडी र विद्यमान छाउप्रथाका कारण विद्यालयसमेत प्रभावित छ । विद्यालयमा महिनावारीका समय छात्रालाई समस्या हुने गरेको छ ।

‘पहिले पहिले टाढा गोठ र ओडारमा बस्नुपरे पनि अहिले गोठमा बस्न पाइएको छ तर घरको आप्mनै कोठामा बस्न पाइएको छैन,’ ठाँटीकाँध–६ मालिका मावि कक्षा १० मा अध्ययनरत छात्रा हिमानी शाही भन्छिन्, ‘जसका कारण अध्ययनमा समेत समस्या भइरहेको छ, गोठमा बस्दा पढ्न पाइँदैन, सोलारको बत्तीसमेत हुँदैन, आगो बालेर बस्ने हो, कोही पाँच दिन त, कोही सात दिनसम्म बाहिरै बस्नुपर्छ ।’

पश्चिम नेपाल र दैलेख पश्चिममा विकराल रूपमा रहेको छाउप्रथा उन्मूलनका लागि विभिन्न संघसंस्थाले तालिम, सभा, सेमिनार र गोष्ठीलगायत जनचेतनामूलक क्रियाकलाप गरे पनि ‘बालुवामा पानी’सरह भएको छ ।

शिक्षित नै छाउप्रथाबाट टाढा हुन नसकिरहेको अवस्थामा अशिक्षित, रोगभोक र शोकको गरिब एवं दलित बस्तीका लागि छाउ कुनै नोलो होइन । छाउप्रथा केही न्यूनीकरण भए पनि उन्मुलन हुन भने धेरै दशक लाग्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारभन्दा 'भाइरल' हुने होड : मोबाइलको पर्दामा कैद छटपटी