मन्त्री अनि फेरि सांसद


मकवानपुर । संघीयता अभ्यास चरणअन्तर्गत बाग्मती प्रदेश सरकारमा मन्त्री बनेर अनुभव लिइसकेका व्यक्ति फेरि मन्त्री बन्ने अभिलाषासाथ प्रदेशसभा सदस्य निर्वाचनमा होमिँदै छन् ।

आगामी पाँच वर्षको कार्यकालमा प्रदेश सरकार रहने अभिलाषा राख्नेमा अघिल्लो कार्याकालका प्रदेश सदस्य मात्रै हैन, मन्त्री भएका समेत छन् ।

बाग्मती प्रदेश सरकारमा गत कार्यकालमा मन्त्री बनेका १८ जनामध्ये ५० प्रतिशतले फेरि उम्मेदवारी दिएका छन् । १८ मन्त्रीमध्ये ९ जना आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । बाँकी ९ मन्त्रीमध्ये केहीले अवसर पाएनन् भने केहीले स्वेच्छाले नै सक्रिय राजनीतिबाट पछि हट्ने निर्णय गरेका छन् ।

बाग्मती प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट संघीय संसद्का लागि धादिङ क्षेत्र १ बाट प्रतिनिधि उम्मेदवार बनेका हुन् ।

बहालवाला मुख्यमन्त्री पाण्डले प्रदेश सरकार छाडेर संघीय सरकारमा जाने मनोकांक्षा बनाउँदा प्रदेश सरकारमै दोहो¥याउने मन्त्री धेरै छन् ।

बाहालवालामध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अधिकांशले फेरि उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका पा“चमध्ये चार जना यसपटक पनि उम्मेदवार बनेका छन् ।

त्यस्तै, एकीकृत समाजवादीबाट पनि प्रदेश सरकारमा मन्त्री बनेका पाँचमध्ये चार जना फेरि उम्मेदवार बनेका छन् । प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले भने सबैभन्दा कम उम्मेदवार बनाएको छ । कांग्रेसका ८ मन्त्रीमध्ये एक जनाले मात्रै पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

कुन मन्त्री कहाँबाट ?

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि चितवन–१ (ख)बाट उम्मेदवार बनेका छन् । उनी एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका हुन् ।

एकीकृत समाजवादीबाट सत्तारूढ गठबन्धनको सहयोगमै काठमाडौं–७ (ख)बाट वसन्तप्रसाद मानन्धरले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीसमेत हुन् ।

प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले गठबन्धनबाट अलग भएर प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट काभ्रे–२ (ख)मा उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट प्रदेशमन्त्री बनेका उनले सत्ता गठबन्धनबाट अलग भएर ‘बागी’ उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, माओवादी केन्द्रका नेता तथा बाग्मती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल धादिङ–१ (ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि मओवादी केन्द्रबाट मकवानपुर–२ (क)मा उम्मेदवार बनेकी छन् ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क)मा उम्मेदवार बनेका छन् ।
श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल माओवादी केन्द्रबाट प्रदेशसभाका लागि चितवन–२ (क) मा उम्मेदवार बनेका छन् । उनीहरू सबै सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ आगामी निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)मा उम्मेदवार बनेका छन् । उनी प्रदेशमन्त्रीमध्ये कांग्रेसबाट टिकट पाउने एक मात्र व्यक्ति हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा सो क्षेत्रमा चुनाव लड्दै छन् ।

जसले दोहो-याउने अवसर पाएनन्

बहालवाला केही मन्त्रीको भने आसन्न निर्वाचनमा प्रदेश सरकारमा जाने बाटो टुंगिएको छ । माओवादी केन्द्रबाट वन तथा वातावरणमन्त्री विशाल खड्काले भने आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् ।

२०७४ को निर्वाचनमा दोलखाबाट निर्वाचित खड्काले सत्तारूढ गठबन्धनमा भागबन्डाका लागि सो क्षेत्र गुमाउनुपरेको हो ।
एकीकृत समाजवादीबाट प्रदेश कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी इन्द्रमाया गुरुङले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाइनन् । यसअघिको निर्वाचनमा उनी एमाले समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र २ (ख)बाट निर्वाचित उनी आसन्न निर्वाचनमा पार्टीले सो क्षेत्रमा अर्को व्यक्तिलाई अवसर दिँदा उनी वञ्चित भएका छन् ।

यसैगरी, कांग्रेसबाटै प्रतिनिधित्व गरेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले पनि आगामी चुनावमा उम्मेदवार बन्ने अवसर पाएनन् । उनी यसअघिको उपनिर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका थिए ।

कांग्रेस कोटाबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । उनी २०७४ को निर्वाचनमा कांग्रेस समानुपातिक सूचीबाट सांसद भएका थिए ।

त्यस्तै, कांग्रेस समानुपातिक सूचीबाट सांसद बनेका प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले पनि उम्मेदवार बन्ने अवसर गुमाएका छन् ।

कांग्रेस कोटाबाटै प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाका साथै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । यसअघिको निर्वाचनमा उनीहरू समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेका थिए ।

राजनीतिमा निष्ठाको खडेरी

पछिल्लो समय राजनीतिलाई सेवामूलकभन्दा आर्थिक उपार्जनकै रूपमा लिन थालिएकाले मन्त्री वा सांसद बनेपछि अर्कोलाई मौका दिनुभन्दा आपूm नै आउने आकांक्षा राख्ने गलत प्रवृत्ति बढेको छ ।

प्रदेशमा पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेल, पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलगायत केहीले आपूmहरू सक्रिय राजनीतिमा नआउने भन्दै स्वेच्छाले सांसद हुनबाट बाहिरिए । यस्तो प्रवृत्ति राजनीतिमा आवश्यक हुने विश्लेषक बताउँछन् ।
एक कार्यकाल सेवा अनुभव लिएपछि अर्को नयाँ नेतृत्व तयार पार्ने, अर्कोलाई अवसर दिने संस्कार विकास हुन जरुरी रहेको बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका युवा नेता तथा मकवानपुर जिल्ला थाहा नगरपालिकाका निवर्तमान प्रमुख लवशेर विष्ट ‘राजनीति कमाउने स्थान हैन, पा“च वर्ष सेवा गरेपछि, एउटा जीवनका लागि त्यो पर्याप्त हो । र, अरूलाई सेवाको मौका दिनुपर्छ,’ भन्छन्, ‘दोहो¥याएर त्यही व्यक्ति त्यही जाँदा राजनीतिकमा निष्ठाको खडेरी लाग्छ ।’

नेताले पद छाड्नै नखोज्नु, उत्तराधिकारी बनाउनै नखोज्नु गलत संस्कार भएको मकवानपुरका अग्रजहरूको बुझाइ छ ।
‘चुनाव जित्नका लागि आर्थिक चलखेलदेखि सबै प्रकारको कदम चाल्न थालियो । यस्तो प्रवृत्तिले विकासभन्दा विनाश ल्याउँछ,’ अग्रज पत्रकारहरू भन्छन्, ‘अबको पाँच वर्षमा राजनीतिक वातावरणले नयाँ मोड लिने सम्भावना उच्च छ ।’

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु