उपेन्द्र यादवलाई एमालेको आश, सिके राउतलाई असन्तुष्ट मतदाताको भर


जनकपुरधाम । दुई अध्यक्ष एउटै क्षेत्रमा चुनाब लडेपछि सप्तारी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल गर्माएको छ । सो क्षेत्रवाट जसपा–एमाले गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर छन् । २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा उपेन्द्र यादवले निर्वाचित भएका थिए । यादवले तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेससमेतको साथ पाएका थिए ।

यसपटक उपेन्द्रले एमालेसँग गठबन्धन गरेका छन् । अर्का प्रभावशाली नेता डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ । यादव र राउत दुवै सप्तरीको महादेवा गाउँपालिका–२ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बनेको हो । लोसपाका ठाकुर पनि सो क्षेत्रका प्रभावशाली नेता रहेकाले त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय एक जानकारका अनुसार यादवलाई हराउन ठाकुर र राउतलाई मिलाउने काम पनि भइरहेको छ ।

स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा. राउतको व्यक्तिगत छवि र क्रेजले जित्न सक्ने सम्भावना बढी रहेको केही मतदाताको कथन रहेको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरले चुनाव जित्ने सम्भावना प्रवल रहेको गठबन्धनको दावी छ ।

यस क्षेत्रमा राजविराज नगरपालिकाका, महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १–१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् । संसदीय चुनावमा जित दोहोर्याउने दबावमा रहेका उपेन्द्रले आफूले गरेको विकास निर्माण कार्यलाई प्रमुख एजेन्डा बनाएका छन् ।

जसपाको समेत अध्यक्ष रहेको उपेन्द्र यादवले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएका छन् । पाँच वर्षमा विकास निर्माणका धेरै आधारहरु सुरू गरिसकेको जनताले पुनः आफूलाई नै मत दिने दावी गर्छन् । तर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले यादवको अवस्था कमजोर रहेको बताइरहेका छन् । यादव आफनै क्षेत्रमा केन्द्रित भएपछि जसपाको मधेशको अरु जिल्लामा प्रचार कार्य प्रभावित भएको छ । पछिल्लो समयमा उपेन्द्र यादवविरुद्ध यस क्षेत्रमा असन्तुष्टि देखिएको छ । जितेर गएपछि फर्केर नआएको, विकासका काम नगरेको भन्दै असन्तुष्टि जनाउनेहरु बढेका छन् । सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र रहेकोमा ९५ हजार ३ सय ४४ मतदाता रहेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा आशावादी भएको बताए । जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको ठाकुरले वताए ।

पहिलोपटक निर्वाचनमा होमिएका डा. राउतले ठाकुर र यादवको मत काटेर आफूले चुनाव जित्ने बताए । नेताको आश्वासनबाट दिक्क भएका जनताले आफूलाई अवसर दिने र जित्नेमा उनी ढुक्क छन् । गत चुनावमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले निर्वाचित भएका थिए ।

२१ हजार ६२० मत ल्याएर यादव निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५८ मत पाए ।

हुन त पछिल्लो समयमा यो क्षेत्रमा कसैले पनि दोहो-याएर जितेका छैनन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा महेशले जम्मा ४६ मत प्राप्त गरे । त्यतिबेला नेकपा माओवादी केन्द्रका उमेश यादव निर्वाचित भएका थिए । तर उनी २०७४ को निर्वाचनमा उपेन्द्र यादवसँग हारेका थिए ।

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले समेत यो क्षेत्रबाट जितलाई निरन्तरता दिन सकेनन् । २०४८ को आम निर्वाचनमा जितेका उनी २०५६ को निर्वाचनमा भने पराजित भए । त्यस बेला नेपाली कांग्रेसका रामकुमार चौधरी निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध