इलाम । इलामको माई नगरपालिका स्थित सोक्तिमका मानबहादुर कार्की यहाँ बस्न थालेको ५७ वर्ष भयो । २०२२ सालमा खोटाङको दिक्तेलबाट इलाम आएर बसेको ५७ वर्ष बित्दा पनि अहिले सम्म धनी पुर्जा पाउन सकेका छैनन् । उनी हाल बसोबास गर्दै गरेको ओईलेनी जग्गा हो । हरेक निर्वाचनमा भोट माग्न आउँदा धनी पुर्जा दिलाइदिने आश्वासन पाएका यहाँका बासिन्दाको धनी पुर्जा पाउने आस अझै हराएको छैन । कार्की भन्छन ‘अहिले सम्म बाउ बाजेका नाममा पनि जग्गा नभएको र आफ्नो नाममा पनि नभएकाले ओईलेनी जग्गामै कोट्याएर खाइरहेको छौं ।’
माई नगरपालिका स्थित सोक्तिमकै भुवन सन्त क्षेत्री पनि यहाँ बसोबास गर्दे आएको ५८ वर्ष बित्यो । २०२१ सालबाट बसोबास गर्दे आएका उनको पनि धनी पुर्जा छैन । नजिकैको चिया बगानमा मजदुरीबाट घर चलाइरहेका उनको पनि धनी पुर्जा पाईन्छकी भन्ने आसमा वर्षौ बित्यो । हरेक निर्वाचनमा आश्वासन दिँदै आए पनि यहाँका बासिन्दाका आशा पुरा हुन सकेको छैन । उनी भन्छन् ‘२०५१ सालको मध्यावधि निर्वाचन देखि नै धनी पुर्जा दिलाउने कुरा त चलिरहेकै हो, गत निर्वाचन सम्म आइपुग्दा पनि यही कुरा चलिनै रह्यो अहिले पनि दिलाउँछौ भन्नचाहिँ भनिरहेका छन् ।’

त्यसो छ फुलमाया तामाङको परिवार यहाँ बस्न थालेको पनि ५७ वर्ष भयो । उनी चिया कमान्डमा मजदुरी घर चलाउँदै आएकी छिन् । उनी बसोबास गरेको जग्गा पनि नम्बरी होइन । यस अघिका हरेक निर्वाचनमा पहिले देखि बसोबास गरेका बासिन्दालाई धन पुर्जा दिलाउने आश्वासन पाए पनि अहिले सम्म धन पुर्जा नपाउँदा नेताको आश्वासन पुरा नभए पनि आस भने हराएको छैन ।
कार्की, क्षेत्री र तामाङ मात्र होइन शोक्तिममा बसोबास गर्ने एक सय ७२ घरपरिवार रहेका छन् । जस मध्ये दश पन्ध्र घरको मात्र धन पुर्जा रहेको छ । यहाँका सबै मानिस ओईलेनी जग्गामा बसोबास गरिरहेका छ । हरेक निर्वाचनमा भोट माग्न जाँदा धन पुर्जा दिलाई दिने आश्वासन दिए पनि चुनाव जितेपछि फर्केर नआउने मतदाताको गुनासो छ । वर्षौ सम्मको प्रतिबद्धता पुरा नगरेका नेतालाई अबको निर्वाचनमा भोट दिन सोच्नुपर्ने अवस्थामा रहेका यहाँका मतदातालाई अहिले पनि आश्वासन पाइरहेका छन् ।
इलाम १ प्रदेश सभा सदस्य उम्मेदवार दीपक थेबेको भनाई अनुसार बस्ती भन्दा अलि मास्तिर मात्रै नाप्न बाँकी रहेको र करको दायरामा पु¥याएर यहाँ बसोबास गर्ने बासिन्दालाई स्थायी बसोबासको ग्यारेन्टी गर्ने बताउँछन् । इलाम १ प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले इलामका सात ओटा चिया बगान निजीकरण गरेपछि दुर्दशा सुरु भएको बताए ।
उनले यहाँ काम गर्ने धेरैजसो मजदुरले न्यूनतम ज्याला समेत नपाइरहेको भन्दै राज्यले तोकेको न्यूनतम तलब उपलब्ध गराउन पहल गर्ने बताए । यहाँका मतदाताले भोट हालेका उम्मेदवार पटक पटक निर्वाचन जितेर गए । निर्वाचन मात्र जितेनन् देशको प्रमुख कार्यकारी पदमा पुग्दा पनि समस्या समाधान हुन सकेन । निर्वाचनको समयमा आश्वासन त दिए तर अहिले सम्म आश्वासन पुरा हुन नसक्दा अझै पनि पुरानै समस्या उम्मेदवार माझ राख्न बाध्य छन् ।






