काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दल तथा विभिन्न उम्मेदवारलाई आफ्ना एजेन्डासहित मतदाताका घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । चुनावी घोषणापत्र जारी गरेर उनीहरू घरदैलो कार्यक्रम गरिरहेका छन् । घोषणापत्रमा भने पानीजहाजदेखि विमानस्थलमुनि सुरुङमार्गसम्मको विषय समेटिएका छन् ।
नेकपा एमालेले पानीजहाज विषयलाई आफ्नो घोषणापत्रमा समेटेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलले विकास समृद्धि र सुशासन विषयलाई महत्व दिएका छन् । दलका घोषणापत्र मात्र नभएर उम्मेदवारले पनि आफ्नो क्षेत्रको विकासको खाकासहितको प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
काठमाडौं–२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले आफ्नो घोषणापत्रमा कोटेश्वरमा अन्डरपास बनाउने र त्रिभुवन विमानस्थलमुनि सुरुङमार्ग बनाउने पनि घोषणा गरेकी छन् ।
जडीबुटीदेखि तीनकुनेसम्म अन्डरपास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने र अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावत व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।
साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने, साँखु–बज्रयोगिनी–घुमारचोक चौही भन्ज्याङ–धारापानी–पटाप–कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने घोषणासमेत गरेकी छन् ।
आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण, फोहोर र ढल व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।
ऊर्जा तथा सिँचाइमन्त्रीसमेत रहेकी ललितपुर क्षेत्र ३ की उम्मेदवार पम्फा भुसालले भने गुणस्तरीय जीवन र पर्यटकीय ललितपुरको नारा अघि सारेकी छन् ।
उम्मेदवारले अहिले आआफ्ना घोषणापत्र जारी गरेर घरदैलो गरिरहेका छन् । मतदातालाई विश्वासमा दिलाउन उम्मेदवारलाई भ्याइनभ्याई छ । पुराना दलहरूले आफ्ना पुरानै प्रतिबद्धता दोहो-याएको पाइएको छ ।
नयाँ तथा स्वतन्त्र उम्मेदवारले भने पुराना दल तथा नेताले विकास निर्माणलगायतको काम गर्न नसकेको भन्दै मतदातालाई आफूतिर तान्ने प्रयास गरिरहेको पाइएको छ ।






