काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई समानुपातिक प्रणालीतर्फबाट प्राप्त गरेको सिट संख्या तोकेर पत्र पठाएको छ । निर्वाचन आयोगले बुधबार गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फबाट प्राप्त सिट संख्या तोकेर जानकारीसहितको पत्र पठाएको हो ।
पत्रको जवाफ तीन दिनभित्र पठाउन दलहरूलाई भनिएको छ । समानुपातिकतर्फ प्राप्त मतभारका आधारमा स्थान (सिट) निर्धारण गरिदिएको हो ।
आयोग सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको जानकारी दिए । दलहरूलाई पठाएको पत्रमा ‘प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि सो प्रणालीअन्तर्गत राजनीतिक दलले प्राप्त मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व हुनेगरी सिफारिस गर्न’ भनिएको छ ।
समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येका नामबाटै निर्वाचित संख्याअनुसारको नाम सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ ।
जवाफ फर्काएपछि आयोगले दलहरूले बुझाएको समानुपातिकका उम्मेदवार बन्दसूचीका आधारमा पाउने सिट संख्यासहित ‘समावेशी समूह’ मिलाएर नामसमेत सिफारिस गर्न फेरी पत्र पठाउनेछ ।
सो प्रक्रियाका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । दलबाट नामावली सिफारिस भइसकेपछि आयोगले २६ मंसिरभित्र निर्वाचन परिणाम प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फको मतपरिणामअनुसार सात राजनीतिक दलले ‘राष्ट्रिय दल’को हैसियत पाएका छन् ।
मंगलबार राति सकिएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनाअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता हैसियत बनाएका हुन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । अन्तिम मत परिणामअनुसार ती सात दलले कुल सदर मतको ३ प्रतिशत अर्थात् ३ लाख १६ हजार ८ सय २ मत कटाएर राष्ट्रिय दलको हैसियत बनाएका हुन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । एमालेले समानुपातकतर्फबाट ३४ सांसद पाएको छ । प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको थियो । समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको हो ।
यसैगरी, प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेस भने समानुपातिकतर्फ ३२ सिट जित्दै दोस्रो बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ ।
त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुवै जोड्दा उसको ३२ सिट पुग्छ । सो दल संसदमा तेस्रो दलको हैसियता रहनेछ ।
चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । समानुपातिकतर्फ उसले १३ सिट पाउने छ । प्रत्यक्षमा सो दलले ७ सिट जितेको छ । संसदमा उसको हैसियत चौथो हुनेछ ।
राप्रपाले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । समानुपातिकमा राप्रपाले ७ सिट नै पाउनेछ । प्रत्यक्षमा पनि सो दलले ७ सिट जितेको छ । संसदमा राप्रपा पाँचौ हैसियतमा हुनेछ ।
जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ भने उसले ७ सिट पाउनेछ । जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । उसले ५ सिट पाउनेछ ।






