काठमाडौं । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।
सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । साह समूहबाटै विजय सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत एकैठाउँ उभिएपछि प्रचण्ड उनीहरूसँग ‘अब गठन हुने सरकारलाई समर्थन गर्न’ आग्रह गरिरहेका छन् ।
ललितपुर खुमलटारस्थित निवासमा बिहीबार प्रचण्ड, साहका साथै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच छलफल भएको छ ।
‘समसामयिक राजनीतिकका साथै अब गठन हुने सरकार’bout छलफल भयो । आउने दिन मिलेर अगाड बढ्न अध्यक्षज्यूले आग्रह गर्नुभयो,’ प्रचण्ड सचिवालयले भन्यो, ‘उहाँहरू यसमा सकारात्मक देखिनुभएको छ ।’ संघीय सरकार गठनका लागि सत्तारूढ र प्रतिपक्षी दुवै गठबन्धनलाई बहुमत पुगिरहेको छैन । सोही कारण स्वतन्त्र सांसदसमेतको सरकार गठनका लागि महत्वपूर्ण भूमिका देखिन्छ ।
प्रचण्डले यसअघि जनमत पार्टी अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग भेटिसकेका छन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रचण्डका साथै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पनि जेलमै पुगेर ‘सरकार गठनमा सहयोग गर्न’ आग्रह गरिसकेका छन् । चौधरीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले समेत भेटघाट गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल, नेसपा अध्यक्ष डा. भट्टराईबीच निरन्तर छलफल जारी छ । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल अघि बढाएका छन् ।
कांग्रेस र माओवादीबीच आलोपालो सरकार गठनको आन्तरिक सहमति भए पनि ‘पहिलो चरणमा प्रधानमन्त्री कुन दलले लिने ?’ भन्नेमा टक्कर छ । सोही कारण दबाब बढाउने उद्देश्यले प्रचण्डले नियमित शीर्ष नेतालाई भेटघाट गर्दै सरकार गठन’bout ‘लबिङ’मा व्यस्त छन् ।
भागबन्डा टुंग्याउन आन्तरिक छलफल
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चासहितका दलले प्रमुख पदमा भागबन्डा गर्न आन्तरिक छलफलमा जुटेका छन् ।
आलोपालो सहमतिअनुसार ‘प्रधानमन्त्री कुन दलले पहिले लिने ?’ भन्ने विषय टुंगो लाग्न नसक्दा अन्य महत्वपूर्ण पद भागबन्डामा ढिलाइ भएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा शीर्षनेता सहमत भए पनि ‘मोडालिटी’ टुंगो लाग्न सकेको छैन ।
कांग्रेसले पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने र राष्ट्रपतिमा समेत दाबी गरेको छ ।
उता, माओवादीले पहिलो चरणमा प्रधानमन्त्री हुनुपर्ने नभए ‘राष्ट्रपति आफ्नो भागमा आउनुपर्ने’ रणनीति बनाएको छ ।
प्रमुख दल अहिले निर्वाचन समीक्षासहित समसामयिक राजनीतिक विषयमा आन्तरिक छलफलमा रहेकाले सरकार गठनका लागि भागबन्डा टुंग्याउनमा ढिलाइ भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाएपछि त्यसअनुसार सरकार गठन प्रक्रिया सुरु गर्ने तयारीमा राजनीतिक दल छन् ।






